coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

दैनिक ३ सय टन चिनियाँ स्याउको आयात

सिन्धुपाल्चोक– फलफूल उच्च खपत हुने पर्व तिहारलाई लक्षित गरेर उत्तरको मुख्य तातोपानी नाकाबाट दुई सातादेखि दैनिक तीन सय टनको दरले चिनियाँ स्याउ नेपाल आयात भइरहेको छ। 

दसैं बिदा सकिएर नाका  खुलेसँगै चिनियाँ स्याउको आयात ह्वात्तै बढेको हो। भारतीय र नेपालीको तुलनामा चिनियाँ स्याउ अधिक सस्तो भएकाले माग उच्च हुँदा आयात बढेको नेपाली व्यवसायी बताउँछन्। उनीहरुका अनुसार भारतीय र नेपालीभन्दा चिनियाँ स्याउ आधा (५० प्रतिशत) सस्तो छ। 

तातोपानी सुख्खा बन्दरगाह भन्सार कार्यालयका अधिकृत केशवराज ओली दसैँ बिदापछि यो नाका भएर चिनियाँ स्याउको आयात ह्वात्तै बढेको बताउँछन्। उनका अनुसार दैनिक औसतमा ३० कन्टेनर स्याउ राजधानी काठमाडौं भित्रिरहेको छ। दसैं बिदा सकिएपछि असोज २३ गतेबाट नाका खुलेको थियो। ‘कहिले त स्याउ आयात ३५ कन्टेनर नाघ्छ,’ भन्सार अधिकृत ओलीले नागरिकसँग भने। 

२० प्रतिशत फुजी र ८० प्रतिशित चिनियाँ स्थानीय जातका स्याउ आयात भइरहेको उनले जानकारी दिए। भूकम्प गएको चार वर्षसम्म बन्द रहेको यो नाका गएको जेठ १५ गतेबाट पुनः सञ्चालनमा आएको थियो। आयात व्यापारमा क्रमिक सुधार आउँदै गर्दा दसैंँ अघिसम्म औसतमा ८–१० कन्टेनर चिनियाँ सामाग्रीको आयात हुन्थ्यो। त्यसको आधा हिस्सा स्याउले ओगटेको थियो। 

अहिले आयातको ९५ प्रतिशतभन्दा बढी हिस्सा ओगट्दै दैनिक ३५ कन्टेनरसम्म स्याउ आयात हुने गरेको भन्सारको तथ्यांक छ। एउटा कन्टेनरले १० टन स्याउ बोक्छ। ह्वात्तै बढेको स्याउ आयातले नाका व्यापार पुरानै लयमा फर्कँने संकेत देखिएको व्यवसायी बताउँछन्। भूकम्पअघि नाकाबाट दैनिक ६० कन्टेनर चिनियाँ सामाग्री नेपाल आयात हुन्थ्यो। 

भन्सार अधिकृत ओली तिहार नजिकिएकाले  चिनियाँ स्याउको आयात ह्वात्तै बढेको बताउँछन्। उनका अनुसार चाडबाड लक्षित सामाग्री भएकाले दैनिक आउने सबै स्याउ भन्सार प्रक्रिया पूरा गरेर राजधानी पठाउने गरिएको छ। भन्सारले फुजी जातको स्याउको प्रतिकेजी मूल्यांकन अमेरिकी ७० सेन्ट (८० रुपैयाँ) र सामान्य जातका स्याउको ५० सेन्ट (५७) रुपैयाँ निर्धारण गरेको छ। मूल्यांकनको १० प्रतिशत अग्रिम आय कर र कृषि सेवा शुल्क भन्सारले लिने गरेको छ। 

व्यापारीले प्रतिकन्टेनर स्याउ राजधानी पुर्याएको ६० हजार रुपैयाँ भाडा तिर्छन्। चिनियाँ व्यापारीलाई तिरेको शुल्क, कृषि सेवा शुल्क, डुवानी भाडामा नाफा राखेर राजधानीमा सामान्य जातका स्याउ प्रतिकेजी ९५ रुपैयाँमै झार्ने गरेको आयातकर्ता दीपक श्रेष्ठ बताउँछन्। उनका अनुसार यो मूल्यमा झर्ने स्याउ उपभोक्ताले एक सय २० देखि डेढ सय रुपैयाँ मूल्यमा खरिद गरिरहेका छन्। 

‘नेपाली र भारतीयको तुलनामा चिनियाँ स्याउ आधा सस्तो हो,’ सस्तोकै कारण मध्यम बर्गीय नेपाली उपभोक्ता माझ चिनियाँ स्याउको माग उच्च रहेको बताउँदै उनले भने। यतिबेला नेपाली र भारतीय स्याउ प्रतिकेजीको तीन सय रुपैयाँदेखि त्यो भन्दाबढी मूल्यमा किनबेच भइरहेको उनी सुनाउँछन्। 

चिनियाँ मुद्रा युआन (घोर्मु) को सटही दर बढ्दा यो वर्ष चिनियाँ स्याउ अझै महंगिएको आयातकर्ता श्रेष्ठले जानकारी दिए। युआनको सटही दर यतिबेला १६ रुपैयाँ नाघेको छ। अघिल्लो वर्ष यही सयमा यो सटही दर १५ रुपैयाँको हाराहारीमा थियो। ‘यो वर्ष चिनियाँ स्याउ प्रतिकेजी ५० रुपैयाँसम्म महंगिएको छ,’ उनी भन्छन्, ‘महंगिँदा पनि अन्यत्रका भन्दा चिनियाँ स्याउ नै सस्तो पर्ने हुँदा मागमा कुनै असर पुर्याएको छैन।’  

प्रकाशित: ७ कार्तिक २०७६ १५:०८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App