८ वैशाख २०८१ शनिबार
समाज

दिपावलीको चटारो, पाला बनाउन भ्याई नभ्याई (फोटो फिचर)

भैरहवा– तिहार नजिकिँदै घर रंङरोगन, सरसफाईमा अधिकांश व्यस्त भए भइरहेको बेला रुपन्देहीको रोहिणी गाउँपालिका ३ धकधईस्थित कोहार टोलका कुम्हाल परिवार माटोको पाला बनाउँदैमा व्यस्त छन्।

धकधई बजारदेखि १ किलोमिटर दक्षिणमा रहेको बस्तीमा अधिकांशको घरमा कोही चकिया घुमाउँदै थिए त कोही काँचो माटोको सामग्री पकाउनका लागि आगो लगाउने तयारीमा थिए। करिब ४० कुम्हाल घरधुरी भएको उक्त बस्तीमा ३० वढि परिवारले व्यसायिक रुपमा आफ्नो कलामार्फत माटोको पाला बनाउनमा व्यस्त थिए।

तिनै मध्येका एक हुन ६८ वर्षीय रामनरेश कोहार। उमेरले पाको रामनरेश माटोको पाला बनाएर नै ५० वर्ष बढि जिविकोपार्जन गरेको बताउँछन्। १५ वर्षको हुँदा आफ्नो परम्परागत व्यवसायमा लागेका उनी अहिले पनि उही जोशका साथ चकिया चलाउँछन्। बाह्रै महिना माटोको सामग्री बनाएर उनले १३ जनाको परिवार चलाउँदै आएका छन्।

दिपावली नजिकिँदै गर्दा उनको काममा जोश झन झन बढ्दै गएको छ। परिवारको सहयोगमा उनले दिपावली र छठका लागि माटोको दियो, प्याला, घण्टी, घैटो, हात्ती र अन्य सामाग्री निर्माण गरी माग अनुसारको बजारमा पुर्याउन यतिबेला भ्याइ नभ्याइ छ।

पहिला पोखरा, स्याङजा, वालिङसम्म बेच्न जाने गरेका रामनरेश अहिले उमेर बढी भएकाले अहिले घर बनाउने गरेको र सानो छोराले यही वरपर भैरहवा बुटवल बजारमा बेच्न जाने गरेको बताउँछन्। 

पुस्तौदेखि यहीँ पेशाबाट छोराछोरी र नातिनातिनीको पालन पोषण गरेका रामनरेश अहिले पेशा लोपहुन लागेकोमा उनी चिन्तित छन्। छोराहरु अरु काम गरेकोले बिडो बोक्ने कोही छैन, लगानी बढी, झन्झटिलो, मिहिनेत अनुसारको आम्दानी नभएकाले पेशाबाट बाहिरिएका छन्। 

पहिले पहिले माटो दाउरा, माटोहरू किन्न पर्दैनथ्यो। तर अहिले सबै थोक किन्नु पर्ने भएकाले पनि खासै फाइदा नभए पनि भएको कलालाई आँखा खुलेसम्म गरिरहेको छु’, रामनरेशले भने। 

त्यस्तै धकधईमा बाह्रै महिना माटोको भाडासहित विभिन्न सामान बनाउँदै आएका ३५ वर्षीय साधे कोहर पनि युवा अवस्था देखिनै कुम्हालको पेशामा छन्। बाजे र बुवाले गर्दै आएको पुर्ख्याैली पेशालाई सम्हाल्दै आएका साधेले यहीँ सीपबाट छोराछोरीलाई विद्यालय नि पठाएका छन् भने ५ जनाको परिवार पालेका छन्। उनले दैनिक रुपमा घरबाटै र बजार बजारमा बेच्दै आएका माटोको भाडा यस वर्ष दिपावलीमा मात्र ६० हजार बढीको बेच्ने लक्ष्य लिएका छन्। ‘भैरहवा, बुटवल, मणिग्राम र धकधई बजारबाट माटाका सामग्रीहरु बेच्न आएको छु, घरमा पनि परिवारले बेच्ने गरेका छन्। दैनिक ६–७ सय आम्दानी हुन्छ’, साधे भन्छन्। 

यस्तै धकधई कै रामनरेश माविमा अध्ययनरत १९ वर्षीय सोहन कोहार पनि विदाको सदुपयोग गर्दै माटोको पाला बनाउनमा व्यस्त छन्। गतवर्ष बुआ गुमाएका उनले पढाई र अन्य खर्चका लागि हरेक वर्ष दिपावलीका लागि दियो बनाउँदै आएका छन्। बुआले बनाउँदै आएको देखेर उनले ६ वर्षदेखि यो पेशा अगालेका छन , यो वर्ष  ५० हजार कमाउने लक्ष्यका साथ दियो बनाउनमा उनी व्यस्त छन्। 

यसरी तिहारका लागि विभिन्न थरीका पालाहरु बनाउदै कुम्हालले साइज अनुसार २ रुपैयाँदेखि १५ रुपैया प्रति थानका दरले बेच्ने गरेका छन्। त्यस्तै खुत्रुके, हाती, घण्टी घैटोहरु पनि गोटाको २० रुपैयाँदेखि १०० रुपैयाँ सम्म बेच्ने गरेको कुम्हालहरु बताउँछन्।

घरायसी उपयोगका भाडा बनाउने कुमाल जातिको पेशा बढ्दो आधुनिकिकरण र शहरीकरणको नाममा चाड पर्वमा मैनबत्ती, बिजुली, चाइनिज झिलीमिली हरुको बढदो प्रयोग र प्लास्टिक तथा कागजबाट निर्मित गिलासको बढी प्रायोग हुन थालेपछि पेशा संकटमा परेको र पेशाप्रति धेरैको रुची घटेको छ।

परम्परादेखि नै माटोबाट बनाइएका विभिन्न भाँडा घरघरमा हिजोआज प्रयोग गरिन छाडेपछि पेशा नै संकटमा परेको छ। 
यो पेसामा धेरै मेहनत र आम्दानी कम हुने भएकाले पछिल्लो पुस्ता माटोका भाडाहरु बनाउन मन नलगाए पनि स्थानीय सरकारले कोहारहरुको पेशाको संरक्षण र विकास गर्न सके यस पेशाको माध्यमबाट पनि धार्मिक र वातावरण दुबैको पवित्रता र शुद्धतालाई कायम राख्न ठूलो मद्दत र भूमिका खेल्न सकिन्छ। 

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App