coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

मृतकसहित ३३ बढीकाे नाममा पनि भत्ता लिएर झ्वाम

खोटाङ- खोटाङको बराहपोखरी गाउँपालिकामा मृत्यु भइसकेका र बसाई सरिसकेका व्यक्तिको नाममा पनि सामाजिक सुरक्षाभत्ता निकासा भइरहेको खुलेपछि छानविन समिति गठन गरिएको छ। बराहपोखरी गाउँपालिका–१ बराहपोखरीमा पहिल्यै मृत्यु भइसकेका वृद्धावृद्ध एवं बसाई सरेर अन्यत्र गइसकेका वृद्धवृद्धाको लगत कट्टा नगरी सामाजिक सुरक्षाभत्ता निकासा गर्ने काम भइरहेको भन्दै उजुरी परेपछि गाउँ कार्यपालिकाको बैठकले गाउँपालिकाकी उपाध्यक्ष गोमादेबी मगरको संयोजकत्वमा ६ सदस्यीय छानविन समिति गठन गरेको हो।

छानविन समितिको सदस्यमा कांग्रेसका तर्फबाट महेन्द्र विष्ट, समाजवादीका तर्फबाट किसन राई, कार्यपालिका सदस्य गणेश परियारलगायत छन्। नेकपाका तर्फबाट भने प्रतिनिधिको नाम आउन बाँकी रहेको बराहपोखरी गाउँपालिका अध्यक्ष शालिकराम बञ्जराले बताए। छानविन समितिलाई गाउँपालिकाका ६ वटै वडाभित्रको सामाजिक सुरक्षाभत्ता दुरुपयोगका विषयमा अध्ययन गरेर ३५ दिनभित्र प्रतिवेदन पेश गर्ने जिम्मेवारी दिइएको छ। मृत्यु दर्ता, बसाई सराईलगायत सम्वन्धी तथ्यांकको काम चुस्तदुरुस्त नराखी वडा कार्यालयले ३३ जनाको नाममा निरन्तर सामाजिक सुरक्षा भत्ता निकासा गरिरहेको भन्दै छानविनका लागि कात्तिक १ गते गाउँपालिकामा उजुरी परेको थियो।

५० जनाभन्दा बढिको हस्ताक्षर भएको उजुरीमा वडाका मृत्यु भइसकेका १९ वृद्धवृद्धा, मृत्यु भइसकेका ६ विधुवा र बसाई सरिसकेका ३ जनाको नाममा सामाजिक सुरक्षाभत्ता निकासा भइरहेको उल्लेख छ। यस्तै, ४ जनाको नाममा दोहोरो सुविधा देखिएको र एक जना हुँदै नभएको अपांगको नाममा पनि सामाजिक सुरक्षाभत्ता निकासा भइरहेको पाइएको स्थानीय बिदुर श्रेष्ठले बताए।

मृत्यु भइसकेका विधुवा खड्गमाया थापा मगर, गर्भीमाया तामाङ, दान्जीमाया तामाङ, निरमाया मगर, विष्णुलक्ष्मी श्रेष्ठ र मदनकुमारी राईको नाममा रकम निकासा गरेर हिनामिना भइरहेको उजुरीमा दावी गरिएको छ।

यस्तै, मृत्यु भइसकेका ज्येष्ठ नागरिक हर्कबहादुर मगर, सनमान थापा मगर, लालबहादुर राई, मनमाया राई, भक्तबहादुर कार्की, फूलमायाँ तामाङ, बदनमाया मगर, बमबहादुर खत्री, देवीप्रसाद श्रेष्ठ, दलमाया मगर, तिलकबहादु राई, डम्बरकुमारी श्रेष्ठ, ज्ञानलक्ष्मी श्रेष्ठ, चन्द्रमाया खड्का, कौशिलादेवी आचार्य, कपिलबहादुर थापा, भलमाया कामी, ध्वजबिर दमाई र मनमाया कामीको नामको भपाई पेश गरेर सामाजिक सुरक्षा भत्ता बुझेको कागजात फेला परेको श्रेष्ठले बताए।

सुचीमा मृत्यु भइसकेका विधुवा विष्णुकुमारी श्रेष्ठ र वृद्ध सुन्दरमान तामाङको नाम दोहोरिएको जनाइएको छ। यस्तै, बसाईसराईका क्रममा विराटनगर, उदयपुरलगायतका ठाउँमा पुगेका तीन वृद्धाको नाममा पनि सामाजिक सुरक्षा भत्ता निकासा भइ नै रहेको पाइएको उजुरीमा उल्लेख छ। लगत कट्टा नहुँदा बसाई सरिसकेका व्यक्तिले हाल बसोबास गरिरहेका ठाउँबाट पनि सामाजिक सुरक्षाभत्ता बुझ्ने गरेका छन्।

यस्तै, हुँदै नभएका अपांग सुर्य थापाको नाममा पनि रकम निकासा हुँदै आएको पाइएको श्रोतले जनाएको छ। ‘गत फागुनसम्मको तथ्यांक हेर्दा ३३ जनाको नाममा निरन्तर सामाजिक सुरक्षाभत्ता निकासा भइरहेको पायौं,’ श्रेष्ठले भने, ‘त्यसपछि छानविनका लागि गाउँपालिकालाई उजुरी दिएका हौँ।’ सरकारी निकायको लेखा परिक्षणका लागि २०७५ साल माघमा आएको महालेखा परिक्षकको कार्यालयले पनि बराहपोखरी गाउँपालिकालगायतका स्थानीय तहमा मृत्यु भइसकेका व्यक्तिको नाममा र कतिपय एउटै व्यक्तिको नाममा दोहोरो भत्ता वितरण भइरहेको औंल्याएको थियो।

केही समयअघि वडा सचिवका रुपमा बराहपोखरी पुगेका पुष्पराज राईले फागुन यता मृत र बसाई सरिसकेका नागरिकको लगत कट्टाको काम गरिरहेको जनाइएको छ। आफन्तका अनुसार कपिलबहादुर थापाको २०७४ साल फागुन २३ गते वडा कार्यालयमा मृत्यु दर्ता गरिएको थियो।

तर, हालसम्म पनि सामाजिक सरक्षा भत्ता निकासाको काम नरोकिएको पाइएको नाति राजन थापाले बताए। यस्तै, २०७५ साल बैशाख १२ गते मृत्यु भएका गर्भीमाया तामाङको नाममा पनि रकम निकासा भइरहेको पाइएको बुहारी रिता तामाङले गुनासो गरिन्। ‘हामीले असार १२ गतेसम्मको भत्ता लियौं। त्यसपछि वडा कार्यालयले सासुको पट्टा राखेर अब मरेकाको नाममा पैसा आउँदैन भन्दै फर्कायो त्यसपछि हामीले वास्ता गरेनौँ,’ तामाङले भनिन्, ‘मृत सासुको नाममा भत्ता निकासा भइरहेको थाहा भयो। त्यो भत्ता कसले लिइरहेको छ भन्ने हामीलाई थाहा छैन्।’ 

प्रकाशित: ७ कार्तिक २०७६ १२:४९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App