coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

गांगुली बिसिसिआई अध्यक्ष निर्वाचित

मुम्बई – भारतका पूर्वकप्तान सौरभ गांगुली बुधबार पछिल्लो समय निकै विवादमा तानिएको भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई)को अध्यक्षमा  निर्वाचित भएका छन्।

उक्त पदका लागि गांगुलीको मात्र मनोनयन भएपछि बुधबार मुम्बईमा सम्पन्न बैठकले पूर्वकप्तानलाई नै अध्यक्षमा निर्वाचित गरेको ट्विटरमार्फत बोर्डले सार्वजनिक गरेको हो। ४७ वर्षे गांगुलीले दुई वर्षभन्दा बढी समय बिसिसिआईमा बिताउनेछन्। भारतको सुप्रिम कोर्टले बोर्डको पूर्वनेतृत्वमाथि छानबिन गरिरहँदा गांगुलीले बिसिसिआईलाई अगाडि बढाउनेछन्।

सुप्रिम कोर्टले काम गर्न असफल भएपछि बिसिसिआईका पूर्वप्रमुख अनुराग ठाकुर र उपाध्यक्ष अजय सिर्केलाई गत सन् २०१७ को जनवरीमै बर्खास्त गरेको थियो। त्यससँगै क्रिकेटको विकास निकै राम्रो स्थितिमा रहेको भारतमा विवाद भने चलिरह्यो। यद्यपि, कप्तान हुँदा भारतलाई कयौं सफलता दिलाएसँगै ख्याति कमाएका गागुंलीले बिसिसिआईको नेतृत्व समालेपछि सुदृढ अवस्थामा पुग्ने अनुमान गरिएको छ।

भारतीय क्रिकेटभित्रको भ्रष्टाचार र म्याच फिक्सिङको शृंखला लामो समयदेखि चलेकाले त्यसलाई तोड्नु गांगुलीका लागि चुनौती हुन सक्छ।

भारतीय खेलकुदमै सबैभन्दा धनी खेल संघका रूपमा रहेको बिसिसिआईले प्रायोजक र टिभी सम्झौताबाटै करोडौं आम्दानी गर्ने गरेको छ। तर, एकपछि अर्को विवादमा परेपछि संस्थाको आम्दानीमा पनि कमी आउने देखिएको छ। क्रिकेटभित्र भ्रष्टाचार र म्याच फिक्सिङका साथै इन्डियन प्रिमियर लिग (आइपिएल) मा हुने गरेको विवादले संस्थाप्रतिको विश्वास घट्दै गएको छ। सोही कारणले न्यायाधीशले सन् २०१६ मै बिसिसिआईको बैंक खाता पनि रोक्का गरेको थियो।

सो समयदेखि कोर्टले एन्टी करप्सनको प्रमुखमा विनोद राईलाई नियुक्त गरेको थियो। राईले पनि पछिल्ला समयको रकमान्तर र निर्वाचनप्रति आफू सन्तुष्ट रहेको बताएका छन्। ‘बिसिसिआईका प्रशासकले पनि पछिल्ला समय आवश्यकभन्दा बढी रकम खर्च गरेका छैनन्,’ राईले भने, ‘प्रशासकले जतिसक्दो राम्रो निर्वाचन पनि सम्पन्न गरेका छन्। अब हामीसँग सबैभन्दा सफल कप्तान नै नेतृत्वका रूपमा आएका छन्।’

उनले अब बिसिसिआई निकै राम्रोसँग अगाडि बढ्ने पनि विश्वास गरेका छन्। तर, विवादमा परेको संस्थालाई माथि उठाउन गांगुलीलाई निकै चुनौतीपूर्ण बन्न सक्छ। भारतीय क्रिकेटभित्रको भ्रष्टाचार र म्याच फिक्सिङको शृंखला लामो समयदेखि चलेकाले त्यसलाई तोड्नु गांगुलीका लागि चुनौती हुन सक्छ।

सन् २०१३ मा छैटौं संस्करणको आइपिएलको फिक्सिङ र भ्रष्टाचार तथा सोही समयका बिसिसिआई अध्यक्ष नारायनणस्वामी श्रीनिवासनका ज्वाइँ नै म्याच बेटिङमा दोषी देखिएपछि भारतीय क्रिकेटको अधोगति सुरु भएको थियो। त्यसपछिका बिसिसिआई नेतृत्व ठाकुर र सिर्केले भारतीय क्रिकेटभित्र परिवर्तन ल्याउने आशा गरिए पनि उनीहरू नै विवादमा मुछिन पुगे।

उनीहरू पनि पनि रकम दुरुपयोग आरोपबाट बच्न सकेनन्। यद्यपि, भारतीय खेलकुदकै सफल व्यक्तित्व गांगुलीले क्रिकेटभित्रको भ्रष्टाचारलगायत सबै पक्षलाई पाखा लगाउने विश्वास गरिएको छ। गत हप्ता नै उक्त पदमा आउने पक्कापक्की भएपछि गांगुलीले पनि भारतीय क्रिकेटभित्रको आर्थिक गडबडीलाई सही सुधार गर्ने विश्वास व्यक्त गरिसकेका छन्।

भारतीय क्रिकेटका पूर्वओपनर तथा कप्तान रहेका गांगुलीले सन् २००८ मा टेस्ट क्रिकेटबाट संन्यास लिएका थिए। गांगुलीले परिवर्तनसँगै भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहलीको भनाइ पनि सुन्ने बताएका छन्। ‘विराट भारतीय क्रिकेटका महत्वपूर्ण व्यक्ति हुन्,’ गांगुलीले भने, ‘हामी सबैले उनको कुरा सुन्नु र सम्मान गर्नुपर्छ। छिट्टै उनीसँग कुराकानी गर्नेछु। उनका विचारलाई स्थान दिनेछु।’

प्रकाशित: ७ कार्तिक २०७६ ०३:५३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App