८ वैशाख २०८१ शनिबार
खेल

म्याराथनमा इटालियन धावक प्रथम

म्याराथनमा सहभागीहरू सामूहिक तस्बिर खिचाउँदै। तस्बिरः नागरिक

सोलुखुम्बु – पर्यटन प्रर्वद्धनका लागि सोलुखुम्बुमा म्याराथन प्रतियोगिताको आयोजना गरिएको छ। मोन्भिसो नेपाल फाउन्डेसनको आर्थिक सहयोग तथा मोन्भिसो ट्रेकिङ एन्ड एक्सपिटिसन काठमाडाैंको आयोजनामा सोलु दूधकुण्ड नगरपालिका ४ फाप्लुदेखि वडा नं १ टाक्सिन्दुको नुनथलासम्म ३० किलोमिटर म्याराथनको आयोजना गरिएको छ।

३६ नेपाली र १० इटालियन धावकको सहभागिता रहेको प्रतियोगितामा पुरुषतर्फ इटालियन नागरिक क्वाग्लिया जियोेभानी प्रथम भएका छन्। उनले निर्धारित दूरी २ घण्टा २९ मिनेटमा पार गरेका हुन्। त्यस्तै, रविन बस्नेत निर्धारित दूरी २ घण्टा ३२ मिनेटमा पार गर्दै द्वितीय भए भने २ घण्टा ३३ मिनेटमा  दूरी पार गर्दै वसन्त राई तृतीय भएका छन्।

महिलातर्फ इटालियन नागरिक डेमाटिस इन्रिका प्रथम भएकी छिन्। उनले निर्धारित दूरी ३ घण्टा २० मिनेटमा पार गरेकी हुन्। ३ घण्टा २१ मिनेटमा निर्धारित दूरी पार गर्दै इटालियन नागरिक डेमाटिस लुइसा द्वितीय भएकी छिन् भने ३ घण्टा ३५ मिनेटमा दूरी पार गर्दै मुना राई तृतीय भएकी छिन्।

पुरुष तथा महिलातर्फका विजेताले नगद ३० हजार, २० हजार र १० हजार प्राप्त गरेका छन्। पर्यटन वर्ष सन् २०२० लाई लक्षित गर्दै स्वदेशी तथा विदेशी धावक सम्मिलित म्याराथनको आयोजना गरिएको मोन्भिसो नेपाल फाउन्डेसनका अध्यक्ष छोङ्बा लामा शेर्पाले बताए। म्याराथन प्रतियोगिताले तल्लो क्षेत्रमा पर्यटन आवागमन बढ्ने आशा राखिएको छ।

प्रकाशित: ७ कार्तिक २०७६ ०३:४७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App