८ वैशाख २०८१ शनिबार
खेल

रंगशालाको डिपिआर तयार

निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको डिजाइन फोटो।

चितवन – भरतपुर महानगरपालिका–१५ को शान्ति चोकमा बनाउन लागिएको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएको छ। धुर्मुस–सुन्तली फाउन्डेसनले निर्माण गर्न लागेको रंगशालाको डिपिआर तयार गरेर बुधबार सरोकारवालासँग छलफल गरिएको छ। क्रियटिभ डिजाइन आर्किटेक्ट्सले रंगशालाको  डिपिआर तयार गरेको हो।

कमलको फूल आकृति झल्किने गरी ३० हजार दर्शक अट्ने क्षमताको रंगशाला बन्ने क्रियटिभ डिजाइन आर्किटेक्ट्सकी प्रत्युषा फुँयालले बताइन्। कमलको फुल गौतम बुद्धसँग जोडिएकाले पनि प्राथमिकतामा कमलको फूललाई राखेर बाहिर र माथिबाट हेर्दा पनि कमलको फुल देखिने गरी डिजाइन गरिएको उननले बताइन्। डिजाइनअनुसार रंगशालामा २ वटा टावर र ४ वटा स्ट्यान्ड रहनेछ। खेलाडी, विशिष्ट व्यक्ति तथा सञ्चारकर्मी र अफिसियलका लागि दुईवटा टावरको व्यवस्था रहनेछ। ४ वटा स्ट्यान्ड दर्शकका लागि निर्माण गरिएको हो।

प्रत्येक टावर र स्ट्यान्डमा फरकफरक प्रवेश र निस्कने गेटको व्यवस्था गरिएको छ। स्टेडियममा पाँचवटा पिच रहनेछ। ‘रंगशाला देशलाई विश्वमा चिनाउने मौका भएकाले नेपाली कला शैलीलाई उपयोग गर्दै आकर्षक डिजाइनमा तयार गरेका छौं’ उनले भनिन्, ‘प्राविधिकहरूबीच पटकपटकको छलफल र विभिन्न विकल्पमाथि छलफल गर्दै यो डिजाइन फाइनल गरिएको हो।’ रंगशाला ३ अर्ब बजेटभित्र रहेर निर्माण गर्ने गरी डिपिआर तयार भएको क्रियटिभ डिजाइन आर्किटेक्ट्स निर्देशक शेरबहादुर केसीले बताए।

तीन अर्ब लागत अनुमान गरिएको रंगशालालाई ७ करोड रुपियाँको प्रतिबद्धता। अहिलेसम्म १ करोड मात्रै संकलन।

करिब २ अर्ब ६० करोड रकमभित्र तयार गर्ने बताइएको छ। डिपिआर तयार गर्न नेपालका अरू कम्पनीसँगै भारत र क्यालिफोर्नियाको निर्माण कम्पनीसँग समेत सल्लाह र सहकार्य गरिएको उनले बताए। गत माघ १६ गते भरतपुरमा रंगशाला निर्माण गर्ने घोषणा काठमाडौंमा गरिएको थियो। माघ २० गते रंगशाला निर्माण स्थलमा कार्यक्रम गरेर डिपिआर निर्माणको थालनी गरिएको हो। रंगशाला निर्माणका लागि आर्थिक स्रोत व्यवस्थापन भयो भने १८ देखि २२ महिनाभित्र पूर्वाधार तयार हुने फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेल बताउँछन्।

‘अब पनि चितवन तातिएन भने यो आयोजना ओझेलमा पर्दै जाने हुन्छ’ उनी भन्छन्, ‘रंगशालालाई स्रोत जुटाउन महायज्ञसमेत गर्दै छौं, सबैको सहयोग चाहिएको छ।’ रंगशाला निर्माणका लागि सहयोग गर्ने घोषणा भएको रकमको तुलनामा न्यून मात्र संकलन भएको उनले बताए। अहिलेसम्म ७ करोड रुपैयाँ बराबरको सहयोग हुने घोषणा भएको छ। त्यसमध्ये करिब १ करोड रुपैयाँ मात्र उठेको उनले जानकारी दिए। रंगशाला निर्माणका लागि अहिलेसम्म करिब ४ करोड रुपैयाँ खर्च भएको छ।

२ करोड रुपैयाँ डिपिआरका लागि र अरू रंगशाला निर्माण स्थलमा पूर्वाधार निर्माणका लागि खर्च भएको कट्टेल बताउँछन्। फाउन्डेसनको खातामा पहिलेदेखि नै भएको रकम समेत यसमा प्रयोग भएको उनले बताए। रंगशाला निर्माणका लागि आवश्यक रकम जुटाउन गठन भएको  सहयोग समितिलाई क्रियाशील भएर लाग्न उनले आग्रह गरे। भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले रंगशाला निर्माण घोषणा सभामा भदौ महिनाभित्र डिपिआर तयार गर्ने भनिए पनि केही ढिलाइ बताइन्।

केही ढिलाइ भए पनि डिपिआर तयार भइसकेकाले अब निर्माणको चरणमा जाने उनको भनाइ थियो। ठूलो परियोजना भएकाले निर्माणमा कुनै दुविधा र निराश हुनुपर्ने अवस्था नरहेको उनले बताइन्। फाउन्डेसनलाई महानगरपालिकाको तर्फबाट पूर्ण सहयोग रहने मेयर दाहालको भनाइ छ। कृषि तथा वन विज्ञान विश्वविद्यालय परिसरभित्रको २० बिघा ६ कट्ठा जग्गामा रंगशाला निर्माण गरिँदै छ।

प्रकाशित: ७ कार्तिक २०७६ ०३:४१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App