८ वैशाख २०८१ शनिबार
खेल

काठमाडौंलाई बदला लिने अवसर

काठमाडौं – वुमन्स च्याम्पियन्स लिग (डब्लुसिएल) क्रिकेटको फाइनलमा भिड्दा प्रतियोगिताको एक मात्र अपराजित टोली चितवन राइनोज सोही लयलाई निरन्तरता दिँदै पहिलो संस्करणको उपाधि भित्र्याउन चाहन्छ।

क्विन्स इभेन्ट म्यानेजमेन्टले पहिलो पटक आयोजना गरेको महिला क्रिकेट लिगको पहिलो खेलमा विजयी यात्रा सुरु गर्दा चितवनले क्याट क्विन्स काठमाडाैंलाई नै पराजित गरको थियो।

त्यसयता लगातार तीन खेलमा  सुखद नतिजा ल्याएर चितवनले शीर्ष स्थानमा रहँदै फाइनलको टिकट काटेको थियो।

चितवनकी कप्तान इन्दु बर्माले टोली उत्कृष्ट लयमा रहेकाले सोही लयलाई निरन्तरता दिँदै च्याम्पियन बन्ने बताइन्। ‘हामीले सुरुआती खेलबाटै स्वाभाविक लय समात्यौं, जुन समूह विजेता बन्दै फाइनल प्रवेश गर्दासम्म कायम रह्यो। हाम्रो लक्ष्य च्याम्पियन बन्नु हो र सोही लयलाई निरन्तरत मात्र दिन सके हामी विजेता बन्नेछौं,’ इन्दुले भनिन्, ‘म फाइनल खेलका लागि निकै उत्साही छु।टोलीले समूह चरणका ४ वटै खेल जितेकाले आत्मविश्वास थप बढेको छ।’

इलिमिनेटरमा विराटनगर टाइटन्समाथि सहज जितका साथ फाइनलमा स्थान पक्का गरेको क्याट क्विन्ससामु बदला लिने सुनौलो अवसर हुनेछ।

इन्दुले प्रतियोगिताको पहिलो खेलमा क्याट क्विन्समाथि जित हात पारे पनि उनीहरूलाई फाइनलमा कमजोर प्रतिद्वन्द्वीका रूपमा नलिने बताइन्। ‘पहिलो खेल गुमाए पनि क्याट क्विन्सले त्यसपछिका खेलमा भने जितको लयलाई निरन्तरता दिएको छ,’ इन्दुले भनिन्, ‘अनुभवी खेलाडीको बाहुल्य रहेको क्याट क्विन्ससँग सतर्क भएर खेल्नेछाैं।’ ‘नेपालमा वुमेन्स क्रिकेट लिगको सुरुआत सकारात्मक कदम हो। यसले हाम्रो मनोबल बढाउनुका साथै नेपाली क्रिकेटमा युवा महिला क्रिकेटरलाई उचित स्थान दिएको छ,’ इन्दुले थपिनन्, ‘लुकेका प्रतिभाहरू देखिन थालेका छन्।’

यता चितवनविरुद्धको हारका साथ प्रतियोगिताको सुरुआत गरे पनि त्यसपछि समूह चरणका बाँकी ३ र इलिमिनेटरमा विराटनगर टाइटन्समाथि सहज जितका साथ फाइनलमा स्थान पक्का गरेको क्याट क्विन्ससामु बदला लिने सुनौलो अवसर हुनेछ।

क्याट क्विन्सले कप्तान रुबिना क्षेत्रीको प्रेरणादायी प्रदर्शनमा फाइनलसम्मको स्थान बनाएको हो। मंगलबार इलिमिनेटरमा विराटनगर एक समय ४४–० को अवस्थामा खेलिरहेको थियो। तर रुबिना जब बलिङमा आइन् र ज्योति खड्कालाई विकेटकिपरबाट स्पम्पिङ गर्दै पवेलियनको बाटो देखाइन्।यसपछि  खेल पूर्ण रूपमा क्याट क्विन्सको पक्षमा ढल्किएको थियो। विराटनगरले त्यसपछि थप २४ रन जोड्दा बाँकी ९ विकेटसमेत गुमाएको थियो। यस क्रममा उनले ४ ओभरमा एक मेडन ओभरसहित ४ रन खर्चंदै २ विकेट लिएकी थिइन्।

‘हामीले पहिलो खेलमा चितवनसँग हारेका थियाैं र हामीलाई सो खेलमा केकस्ता गल्तीहरू भएर त्यसलाई कसरी सुधार्न सकिन्छ भन्ने थाहा छ,’ रुविनाले भनिन् , ‘पछिल्लो ४ खेलमा टोली जितको लयमा फर्किएको छ। जुन सकारात्मक पक्ष हो। टोली उत्कृष्ट छ र उनीहरुले शतप्रतिशत प्रदर्शन गर्नेमा म विश्वस्त छु। हामीले उत्कउृष्ट पुनरागमनमा फाइनलमा स्थान बनाएका हौं।टोलीले फाइटिङ स्पिरिट देखाएको छ।’

‘दुई उत्कृष्ट टोलीको भिडन्त भएका कारण फाइनल खेल निकै प्रतिस्पर्धात्मक हुनेछ,’ रुबिनाले थपिन्, ‘हामी उत्कृष्टभन्दा उत्कृष्ट खेल खेल्नेछाैं। म टोलीको कप्तान भएकाले मेरो जिम्मेवारी धेरै छ। तर टोली अन्य क्षमतावान् खेलाडी पनि छन्, जो जिम्मेवारी लिँदै उत्कृष्ट खेल्न सक्छन्।  मैले मात्र होइन समग्र टोलीले उत्कृष्ट प्रदर्शन गरोस् भन्ने चाहन्छु।’

‘यो प्रतियोगिता नेपाली महिला क्रिकेटमा सुखद र सकारात्मम सुरुआत हो। हामीले धेरैभन्दा धेरै समर्थन पाइरहेका छौं,’ रुबिनाले भनिन्, ‘महिला क्रिकेटको प्रोत्साहनका लागि आयोजकले नयाँ कन्सेप्ट ल्याएको छ। त्यसका लागि उनीहरूप्रति आभारी छु। हामी विगत लामो समयदेखि महिला क्रिकेटमा यस्तै माहोल चाहन्थ्याेंै र अहिले त्यो पूरा भएको छ। दक्षिण एसियाली खेलकुद (साग) घरेलु मैदानमा हुँदै छ र त्यसअघि आयोजना गरिएको यो प्रतियोगिताले हाम्रो मनोबल बढाएको छ। (डब्लुसिएल) ले नेपाली महिला क्रिकेटमा आशा झल्काएको छ।’

प्रतियोगिताको विजेता टोलीले नगद ७ लाख हात पार्दा उपविजेताले ३ लाख प्राप्त गर्नेछ। त्यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले स्कुटर र नगद ५० हजारका साथै भारतीय क्रिकेट खेल सामग्री कम्पनी रेडरकको एक वर्षे सम्झौता प्राप्त गर्नेछन्। त्यस्तै उत्कृष्ट बलर र ब्याट्सवुमनले पनि समान २५ हजार र रेड रकसँग एक वर्षे सम्झौताको अवसर पाउनेछन्।

चितवनको फाइनल यात्रा
विरुद्ध क्याट क्विन्स काठमाडौ ५ विकेटले विजयी
विरुद्ध ललितपुर फाल्कोन्स ८९ रनले विजयी
विरुद्ध पोखरा पल्टन ७ विकेटले विजयी
विरुद्ध विराटनगर टाइटन्स ५३ रनले विजयी

क्याट क्विन्स काठमाडौको फाइनल यात्रा
विरुद्ध चितवन राइनोज ५ विकेटले पराजित
विरुद्ध पोखरा पल्टन ८२ रनले विजयी
विरुद्ध विराटनगर टाइटन्स ५२ रनले विजयी
विरुद्ध ललितपुर फाल्कोन्स ८ विकेटले विजयी
विरुद्ध इलिमिनेटर विराटनगर ९ विकेटले विजयी

प्रकाशित: ७ कार्तिक २०७६ ०३:३२ बिहीबार

क्रिकेट वुमन्स_च्याम्पियन्स_लिग