coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

नेता हेलीमा सरर, जनता सडकमा आजित

दोलख - राजधानी काठमाडौंबाट एक सय ३२ किलोमिटरको दूरीमा रहेको सुन्दर पर्यटकीय जिल्ला दोलखामा केही वर्षअघिसम्म दैनिक सयौंले आउजाउ गर्थे। नेपाली पर्यटकको प्रमुख गन्तव्य बन्दै गइरहेको यो जिल्लामा आउने पर्यटकहरू पछिल्ला दिनमा घटेका छन्।

यसको प्रमुख कारण हो, जिल्ला भित्रिने मुख्य मार्ग खाडीचौर–चरिकोट सडकको दुर्दशा। ठेकेदारको ढिलासुस्ती र लापरबाहीले अस्तव्यस्त बनेको सिन्धुपाल्चोकको खाडीचौर बजारदेखि दोलखाको सदरमुकाम चरिकोटसम्म ५५ किलोमिटरको यो सडक पार गर्न पाँच घण्टासम्म लाग्ने गरेको छ। कुनै बेला साढे तीनदेखि चार घण्टामै पुगिने राजधानी आउजाउ गर्न जिल्लावासीलाई आठदेखि नौ घण्टासम्म लाग्ने गरेको छ।

खाल्डाखुल्डी र अस्तव्यस्त बनेको सडकका कारण जनता आजित भइसके। दुई वर्षअघि नै सकिसक्नुपर्ने सडक ठेकेदार कम्पनीका कारण अलपत्र परेको छ। तर यो जिल्लामा आउने देशका प्रायः ठूला नेता र मन्त्रीहरू हेलिकोप्टर प्रयोग गर्ने गर्छन्। मंगलबार सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुल बाँस्कोटा हेलिकोप्टर प्रयोग गरेरै सदरमुकाम चरिकोट आए र स्थानीय सामुदायिक रेडियोको वार्षिकोत्सव उद्घाटन गरे। जिल्लाका सांसद र पार्टी नेताहरूसहित हेलिकोप्टरमा दोलखा आएका उनले माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको निरीक्षणसमेत गर्न भ्याए।

यसअघि पर्यटनमन्त्री योगेश भट्टराई पनि जिरीमा आयोजित सडक महोत्सवको उद्घाटन गर्न हेलिकोप्टरमै आएका थिए। त्यसअघि नेकपाका अध्यक्ष पुष्पकमल दाहालसमेत सामुदायिक एफएमको वार्षिक उत्सवमा सहभागी हुन हेलिकोप्टरबाट जिरी आएका थिए। त्यहाँ उनले एफएमको वार्षिकोत्सवसँगै जिरी नगरपालिकाको भवन उद्घाटन र प्रथम आरोहीहरूको सालिक अनावरण गरे। दुई महिनाको अवधिमा स्थलमार्गबाट जिल्ला आएका केही मन्त्रीहरूले समेत चरिकोट–खाडीचौर सडक प्रयोग गरेका छैनन्।

दुई महिनाअघि दोलखा आएका खानेपानीमन्त्री बिना मगर र श्रममन्त्री गोकर्ण विष्टले धुलिखेल, खुर्कोट मन्थली हुँदै चरिकोटसम्मको रुट प्रयोग गरे। आएका जति पनि मन्त्रीलाई जिल्लाका राजनीतिक दल र जनप्रतिनिधिले सडकको समस्या अवगत गराउने गरेका छन्। ‘हरेक मञ्चमा उहाँहरूलाई हाम्रा समस्या सुनाउँछौं,’ कांग्रेसका जिल्ला नेता केशवराज चौलागाईले भने, ‘जति सुनाउँदा पनि यो सडक बनेन, नेता र मन्त्री त उडेर आउँछन् तर दोलखाली जनताले अस्तव्यस्त सडकमा कष्ट कहिलेसम्म बेहोरिरहने ?’ यसबीचमा प्रदेश सरकारका मुख्यमन्त्री र तीनजना मन्त्रीले पनि दोलखाको भ्रमण गरेका थिए।

४० वर्षअघि स्विस सरकारले बनाइदिएको यो सडक एक्जिम बैंकको ऋण सहयोगमा दोहोरो लेनको बनाउने भन्दै चार वर्षअघि ठेक्कामा लगाइएको थियो। सिन्धुपाल्चोकको खाडीचौरदेखि मुडेसम्म र मुडेदेखि चरिकोटसम्म गरेर दुईवटा प्याकेजमा ठेक्का लगाइए पनि ठेकेदारले काम नगर्दा सडक अलपत्र परेको हो।

सडक विभागले काम नगर्ने ठेकेदारको ठेक्का तोड्न सूचना नै निकाले पनि राजनीतिक दबाबका कारण विभागले जरिवाना तिराउने काम गर्न सकेको छैन। सडकको अस्तव्यस्तताले पर्दा जिल्लाको आर्थिक चहलपहल घटेको छ। कालिञ्चोक, भीमेश्वरलगायतका तीर्थस्थल दर्शन गर्न र यहाँका सैलुङलगायत पर्यटकीय क्षेत्र घुम्न आउने पर्यटक ह्वात्तै घटेका छन्।

प्रकाशित: ७ कार्तिक २०७६ ०३:१३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App