प्रभावशाली अमेरिकी शिक्षाविद् जोन हल्टको आजभन्दा करिब पाँच दशक अगाडि (सन् १९६९) प्रकाशित एउटा विचारोत्तेजक पुस्तक छ, ‘द अन्डरअचिभिङ स्कुल’ । यो पुस्तकको हालसालै नेपाली अनुवाद पनि सार्वजनिक गरिएको छ । हल्टले आफ्नो पुस्तकमा तत्कालीन अमेरिकी स्कुलहरूले शिक्षाका नाममा गरिरहेको गल्तीको गतिलो चिरफार गरेका छन् । स्कुलभित्र हुने अनेकौं क्रियाकलापमाथि कडा प्रश्न उठाएका छन् । पुस्तकबाट कैयौं अमेरिकी स्कुलले आफूलाई सच्याउने प्रेरणा पनि प्राप्त गरे । पुस्तक आज नेपाली परिवेशमा पनि उत्तिकै सान्दर्भिक छ ।
तत्कालीन अमेरिकी समाजमा स्कुलको हालत जस्तो थियो सायद आजको दिनमा नेपाली स्कुलको हालत त्यो भन्दा राम्रो छैन । हाम्रा स्कुल शिक्षाको मूल मर्मबाट विचलित भएका छन् । स्कुलले बाटो बिराएका छन् । योे लेखमा हाम्रा नेपाली स्कुलले शिक्षाका नाममा गरिरहेका गलत अभ्यास मध्येका केहीको संक्षिप्त विवेचना गरिनेछ ।
सैद्धान्तिक सूचनाको हस्तान्तरण
कक्षाकोठाभित्र शिक्षक आवश्यकताभन्दा बढी बोल्ने गर्छ । कक्षामा शिक्षकले विषयवस्तु यसरी खन्याइदिने गर्छ कि मानौं, विद्यार्थी ज्ञानको कुनै थोपो नभएका रित्ता भाँडा हुन् । कक्षालाई चुपचाप बनाएर विद्यार्थीका सम्भाव्य आवाजमाथि प्रतिबन्ध लगाइन्छ । शिक्षक एक कठोर निर्देशक र विद्यार्थी इमान्दार आज्ञापालक बन्छ । शिक्षक र विद्यार्थीको बीचमा खास अन्तरक्रिया हुँदैन । जहाँ दोहोरो सम्वादको सबै विकल्प प्रतिबन्धित हुन्छन् त्यहाँ प्रश्न, जिज्ञासा र उत्सुकताका सबै सम्भावनाका ढोका पनि बन्द हुन पुग्छन् ।
कक्षाकोठा शान्त हुँदैमा त्यहाँ गतिलो सिक्ने–सिकाउने प्रक्रिया चलिरहेको हुन्छ भन्ने भ्रमबाट मुक्त हुनु आवश्यक छ । हाम्रो सन्दर्भमा शिक्षकको काम विषयवस्तुका सूचना हस्तान्तरण गरिदिने मात्र भएको छ । कक्षामा शिक्षकले ख्यातिप्राप्त समाजसेवीको बारेमा पढाउँछ । समाजसेवा नै ठूलो धर्म हो भन्ने व्याख्या पनि गर्छ । तर, विद्यार्थीलाई सामाजिक भावना जगाउने कुनै पनि बाह्य क्रियाकलापमा संलग्न गराउँदैन ।
शिक्षकले कक्षामा विभिन्न वैज्ञानिकले आविष्कार गरेका सिद्धान्त र मेसिनको बारेमा सूचना दिन्छ तर विद्यार्थीलाई आविष्कार गर्न उत्प्रेरित गर्ने कुनै गतिविधि गराउँदैन । अधिकांश स्कुलमा प्रयोगात्मक विषयका प्रयोगशाला पनि हुँदैनन् । खेलकुदका लागि पर्याप्त खेलमैदान हुँदैनन् । स्कुल क्षेत्रमा पर्यावरणको ख्याल गरिँदैन । सहरी क्षेत्रमा एउटा साँघुरो घर भाडामा लिएर स्कुल सञ्चालन गरिएका छन् । यो सबै भाषण दिन सकेपछि शिक्षाका लागि खास केही गर्नु पर्दैन भन्ने गलत नियतको परिणाम हो । हाम्रा स्कुल ‘बोलेर सिकाउन खोज्ने’ अभ्यासबाट निस्केर ‘गर्न लगाएर सिकाउने’ अभ्यासमा प्रवेश गर्नु आवश्यक छ ।
सिर्जनशिलताको हत्या
शिक्षा प्रणालीले ज्ञात वा अज्ञातबस व्यक्तिभित्रका सम्भावना र प्रतिभालाई हुर्काउन होइन हत्या नै गर्न सहयोग गरेको देखिन्छ । प्राथमिक तहमा पढ्दै गरेको बच्चा नौ÷दस वटा किताबको भारले थिचिन्छ । स्कुले शिक्षामा तिनै किताब रटाउनेभन्दा माथिको कुरा खास केही हुँदैन । जहाँ रटाइ र सूचनाको भण्डारण आरम्भ हुन्छ, त्यहाँ सिर्जना र आविष्कार गर्ने दिमागको भागले काम गर्न छाड्छ ।
माध्यामिक तहमा हुने परीक्षाको तयारीका लागि भन्दै विद्यार्थीलाई बिहान झिसमिसेदेखि साँझसम्म स्कुलको कक्षाकोठाभित्र थुनिएको हुन्छ । हरेक दिन एकै विषय दुई÷तीन पिरियडसम्म रटाइन्छ । यो उकुसमुकुसमा गुज्रिसकेपछि व्यक्ति सिर्जनात्मक रुपमा करिब–करिब अपांग बन्न पुग्छ । यसकारण विद्यार्थीको सिर्जनात्मक शक्तिलाई निचोरेर फ्याँकिसकेपछि जे बाँकी रहन्छ, त्यो भनेको एसएलसीमा ‘ए प्लस’ ग्रेड हो ।
अतिरिक्त क्रियाकलापले केही हदसम्म व्यक्तिलाई सिर्जनात्मक बनाउने उद्देश्य बोक्छन् । स्कुलले वर्षको एक पटक यस्ता कार्यक्रम गर्ने कार्ययोजना बनाएका हुन्छन् । मात्र वर्षको एकपटक वक्तृत्व कलाको आयोजना गर्दैमा विद्यार्थीमा बोल्ने र तर्क गर्ने शक्तिको विकास हुँदैन । वर्षको एक पटक ‘खेलकुद हप्ता’ घोषणा गर्दैमा विद्यार्थीमा राम्रो खेलाडी बन्न सक्ने प्रतिभा विकसित हुँदैन । यस्ता कार्यक्रम हरेक हप्ता सञ्चालन गर्ने कष्ट गर्न सकिएमा गर्दा–गर्दै व्यक्ति केही बनेर निस्कन्छ ।
परीक्षाको त्रास
शिक्षण संस्थाभित्र नियमित रुपमा परीक्षा लिइरहनुको एउटा प्रमुख उद्देश्य हो– विद्यार्थी पढाइबाट दायाँबायाँ लाग्न नपाऊन् भनेर सावधान गराइराख्नु । कक्षा चढाउनु, दण्ड र पुरस्कारको व्यवस्था गर्नु अनि शिक्षण सिकाई क्रियाकलापको मूल्यांकन गर्नु परीक्षाका सहायक उद्देश्य मात्र हुन् । हाम्रो परीक्षा प्रणालीले केवल स्मृतिको मापन गर्छ अर्थात् कक्षाकोठाभित्र रटाइएका तथ्य कुन हदसम्म विद्यार्थीले स्मरण गर्न सकेछन् भन्ने विषयको मात्र मापन गर्छ । यसले व्यक्तिको क्षमता र प्रतिभाको मूल्यांकन गर्न सकेको छैन ।
यथार्थमा स्कुलभित्रको सिंगो शिक्षा प्रक्रिया परीक्षा केन्द्रित भएको सर्वविदितै छ । लाग्छ, शिक्षा परीक्षाका लागि हो । परीक्षापश्चात् विद्यार्थीले मार्कसिट पाउँछ । त्यो मार्कसिटले दुई वटा काम गर्छ । पहिलो, माथिल्लो कक्षामा भर्ना हुने अनुमति दिन्छ र दोस्रो, जागीर खाने समयमा अफिसमा देखाउन काम लाग्छ । यदि मार्कसिटमा धेरै प्रतिशत प्राप्त गरेको देखिएको छ भने सो व्यक्ति ‘ट्यालेन्ट’ कहलिन्छ र कम प्राप्त गरेको छ भने कमजोर ।
शिक्षामा यस्तो हावादारी र अवैज्ञानिक मापन प्रणाली अवलम्बन हुँदै आएको छ । जब परीक्षाले स्मृतिको मात्रै मापन गर्न सक्छ भने स्मृतिको सबालमा कमजोर तर अन्य सिर्जनात्मक क्षेत्रमा प्रतिभावान विद्यार्थीलाई पनि परीक्षाको प्रमाणपत्रले कमजोर देखाइदिन्छ । किनकि परीक्षाले गायन, नृत्य, वक्तृत्व, साहित्य, कला तथा आविष्कारको क्षेत्रमा ‘ट्यालेन्ट’ व्यक्तिलाई सम्बोधन गर्न सक्दैन । उल्टो उनीहरुलाई कमजोर देखाइदिएर उनीहरुको आत्मविश्वासलाई कमजोर पारिदिन्छ ।
त्यसैले परीक्षाको महत्व त्यति बढी नभए पनि यसैको डरले हरेक विद्यार्थी मार्कसिटमा राम्रो प्रतिशत देखाउन चिट चोर्ने धन्दामा फँस्छ । राम्रा भनिएका विद्यार्थीले पनि अझ राम्रो प्रतिशत ल्याउने लोभमा कुनै न कुनै प्रकारको चिट चोर्ने कला सिक्छन् । यसरी परीक्षा यति बढी त्रासको विषय बनेको छ जसमा चोर बनेरै भए पनि राम्रो प्रतिशत ल्याउन सकिएन भने जीवन बर्बाद हुन्छ ।
स्कुल एउटा जेल
हाम्रा स्कुलमा विद्यार्थीलाई आकर्षित गर्ने कुनै त्यस्तो ‘वासना’ छैन जसले उनीहरूलार्ई स्कुल जाउँ–जाउँ बनाइराखोस् । स्कुल एउटा जेल जस्तो बनेको छ । शिक्षक, यातना दिने प्रहरी जस्तो । पढाई, दण्ड दिने हतियार । त्यसैकारण जुन दिन बिदाको दिन पर्छ विद्यार्थी सबैभन्दा आनन्दको महसुस गर्छन् र अर्को आनन्द दिने दिनको प्रतीक्षा गरेर बस्छन् ।
एक जना कामदारले आठ घण्टा काम गरेपछि आराम गर्न पाउँछ तर स्कुल पढ्दै गरेको एक जना बच्चाले दिनभर छ देखि आठ घण्टा मानसिक परिश्रम गरिसकेपछि पनि घरमा गर्नुपर्ने कैयौं घण्टाको काम बाँकी रहन्छ ‘होमवर्क’को रुपमा । यस्तो अवस्था सिर्जना गरिदिएपछि कुन चाहिँ विद्यार्थी स्कुल र पढाइप्रति आकर्षित हुन्छ !
स्कुलमा विद्यार्थीका इच्छा, चाहना, प्रतिभा र स्वतन्त्रतामाथि अंकुश लगाइएको हुन्छ । विद्यार्थीलाई शारीरिक र मानसिक यातनाले आक्रान्त पारिन्छ । अनुशासनको घेरामा बस्न नरुचाउने बच्चामाथि दमन गरिन्छ । स्मरण रहोस्, पछि संसार हल्लाउने व्यक्ति सानैदेखि विद्रोही स्वभावको त भइ नै हाल्छ ।
प्रकाशित: १६ मंसिर २०७३ ०५:०६ बिहीबार