८ वैशाख २०८१ शनिबार
समाज

विरोधपछि दुईमाजु मन्दिरको सम्झौता खारेज गरिँदै

महानगरपालिकाका उपमेयर हरिप्रभा खड्गी श्रेष्ठले दुईमाजु मन्दिर परिसरमा अनुगमन गर्दै। तस्बिर: श्याम/नागरिक

काठमाडौं - खुलामञ्चसँगै जोडिएको दुईमाजु मन्दिरको निर्माण सम्झौता खारेज गरिने भएको छ। मन्दिर परिसरमा गैरकानुनीरूपमा पसल सञ्चालन गरिएको भन्दै विरोध भएपछि गुठी संस्थानले निर्माण सम्झौता खारेज गर्न लागेको हो। सम्पदाप्रेमी र स्थानीयको दबाबपछि संस्थानले सम्झौता खारेजीको प्रक्रिया अघि बढाएको हो।

मन्दिर सरसफाइको जिम्मा पाएकी अमृता भट्टराईले गत साता संस्थानमा सम्झौता खारेजको निवेदन दिएकी थिइन्।
त्यसपछि काठमाडौं महानगरपालिकाले समेत यसमा चासो देखाएको थियो। उपमेयर हरिप्रभा खड्गी श्रेष्ठले त्यसक्षेत्रको अनुगमन गरेकी थिइन्। उपमेयर श्रेष्ठले ऐतिहासिक मन्दिरभित्र पसल सञ्चालन गर्न नमिल्ने बताइन्। ‘मन्दिरभित्र पसल सञ्चालन गरिँदा यो क्षेत्र कुरूप भएको छ,’ उनले भनिन्, ‘त्यसैले यो जसरी पनि हटाइन्छ।’ पसल नहटाउँदा सम्पदा मासिने खतरा रहेको उनको भनाइ छ।

अनुगमनपछि उपमेयर श्रेष्ठ गुठी संस्थानमा पुगेकी थिइन्।गुठी संस्थानका प्रशासक नारायण चौधरीले ऐतिहासिक तथा आस्थाको केन्द्र मानिने ठाउँमा व्यापारीले ‘कब्जा’ गर्न थालेपछि निर्माण सम्झौता खारेज गर्न लागेको बताए। ‘हामीले मन्दिर हेरचाहका लागि भनेर दिएका थियौँ,’ उनले भने, ‘पसल सञ्चालन गरिएपछि धेरै विवाद आएको छ। यसबाट हामीलाई नाफा–घाटा पनि हुँदैन। त्यसैले सम्झौता खारेजको प्रक्रियामा छौं।’

संस्थानले भीमसेन गाउँपालिका–२, की भट्टराईलाई २०७५ मंसिर ९ गते मासिक १५ हजार रूपैयाँमा पाँच वर्षका लागि भाडामा दिएको सम्झौता पत्रमा उल्लेख छ। ‘दुईमाजु गुठी अन्तर्गतको मन्दिर परिसरमा आवश्यक पूजा सामग्री व्यवस्थापन, सरसफाइ, पूजाआजा तथा रेखदेखका लागि अस्थायी टहरा निर्माणका लागि त्यहाँ गुठीबाट स्वीकृत नक्साबमोजिम सहमति माग भएकोमा २०७५ फागुन १० गतेको सदर टिप्पणी अनुसार पेस गरिएको नक्सामा फरक नपर्ने गरी अस्थायी टहरा निर्माणका लागि सहमति प्रदान गरिएको छ,’ सम्झौता पत्रमा भनिएको छ।

सहमतिमा व्यापार व्यवसायी सञ्चालन गर्ने उल्लेख छैन। तर, अहिले सो स्थानमा १७ व्यवसायीले स्वीकृति लिएर पसल सञ्चालन गरिरहेका छन्। यसमा काठमाडौं महानगरपालिका वडा २८ कार्यालयकै संरलग्नता रहेको देखिएको छ।

वडाअध्यक्ष भाइराम खड्गीले भने वडाबाट स्वीकृति नदिएको दाबी गरेका छन्। ‘वडाले पसल सञ्चालनका लागि स्वीकृति दिएको छैन,’ उनले भने, ‘पसल थाप्न आएपछि दर्ता मात्रै गरिदिएका हौं।’ उनले स्वीकृति नदिएको दाबी गरे पनि लिखितरूपमै १७ व्यापारीलाई वडाले सिफारिस गरेको पत्र नागरिक दैनिकले प्राप्त गरेको छ।

सम्पदाप्रेमीको विरोध धर्ना

मन्दिर परिसरमा सञ्चालन भएका पसल हटाउन माग गर्दै सम्पदाप्रेमी र स्थानीयले बुधबार धर्ना दिएका छन्। उनीहरूले मन्दिर परिसरअगाडि धर्ना दिएका हुन्। सम्पदाप्रेमी गणपतिलाल श्रेष्ठले मन्दिर परिसर गुठीको अस्तित्वसँग जोडिएकाले तत्काल सम्झौता खारेजको माग गर्दै धर्ना दिएको बताए। उनले भने, ‘ऐतिहासिक अस्तित्व बोकेको मन्दिरमा गैरकानुनीरूपमा पसल सञ्चालन गरिएपछि शान्तिपूर्ण धर्ना राखेका हौँ।’

स्थानीय एवं खुलामञ्च बचाउ अभियानका संयोजक सुसन वैद्यले शक्ति दुरुपयोग गरी अतिक्रमण गरिएको खुलामञ्ज खुलै हुनुपर्ने बताए। उनले भने, ‘पसल व्यवसायको सम्झौता खारेज गरी पुरानै अवस्थामा मन्दिर फर्काउनुपर्छ। मन्दिर अतिक्रमण गरिएपछि पुजा गर्न समस्या आएको छ।’

गुठी संस्थानले असंवैधानिक तरिकारले स्वीकृति दिइपश्चात उक्त क्षेत्रमा अनाधिकृतरूपमा अहिले कब्जा गरिएको उनले बताए। उनका अनुसार यो दुईमाजु मन्दिर हनुमानढोकाको तलेजु भवानीसँग घनिष्ट सम्बन्ध भएको ऐतिसिक मन्दिर स्थल हो। तलेजुलाई शक्ति दिने सारथिको रुपमा दुईमाजुलाई लिइन्छ।

सम्पदा क्षेत्रमा अनाधिकृत ढंगले व्यापार गर्न नमिल्ने बताउँदै सांसद् जीवन डंगोलले सम्झौता खारेजका लागि सम्बन्धित निकायमा पहल गरिरकेको बताइन्।

प्रकाशित: ७ कार्तिक २०७६ ०२:५६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App