लन्डन (एजेन्सी)– बेलायतको राजधानी लन्डन नजिकैको औद्योगिक पार्कमा रहेको एउटा ट्रकभित्र ३९ व्यक्ति मृत अवस्थामा फेला परेको प्रहरीले बुधबार जानकारी गराएको छ।
वाटरग्लेड औद्योगिक क्षेत्रको पूर्वी सडक ग्रेजमा स्थानीय समयअनुसार राति एक बजेर ४० मिनेटतिर शवसहितको ट्रक रहेको सूचना पाएपछि एम्बुलेन्स सेवाले प्रहरीलाई खबर गरेको थियो। खबर पाएलगत्तै प्रहरी सो क्षेत्रमा पुगेको बताइएको छ। प्रारम्भिक अनुसन्धानपछि उक्त ट्रक बुल्गेरियाबाट बेलायत आएको प्रहरीले बताएको छ।
बेलायतको एसिक्स प्रहरीका अनुसार राजधानी लन्डनबाट पूर्वमा रहेको ग्रेजको पार्कमा भेटिएका सबै व्यक्तिलाई सोहीस्थलमा मृत घोषित गरिएको थियो। मृतकमा ३८ जना बयस्क र एक किशोर रहेको प्रहरीको प्रारम्भिक जानकारीमा उल्लेख छ।
घटनामा संलग्नता रहेको आरोपमा २५ वर्षीय उत्तरी आयरल्यान्डका युवक तथा ट्रक चालकलाई प्रहरीले पक्राउ गरेको छ। ‘यो निकै दुःखद् घटना हो जसमा एकै स्थलबाट ३९ व्यक्तिको मृत शरीर फेला परेको छ,’ एसिक्स प्रहरीका प्रमुख सुपरिक्षक एन्डु मारिनरले एक विज्ञप्ति जारी गरी घटनाबारे भनेका छन्। घटनाबारे वास्तविकता खोज्न अनुसन्धान सुरु भइसकेको प्रहरी स्रोतले जनाएको छ।
‘हामीले मृतकको परिचय खुल्नेगरी अनुसन्धान प्रक्रियालाई अघि बढाएका छौ तर यो प्रक्रिया केही लामो हुनसक्नेछ,’ प्रहरी प्रमुख मारिनरले भने, ‘प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा गाडी बुल्गेरियाबाट आएको विश्वास गरिएको छ।’
उत्तरपश्चिमी राज्य वेल्स जानका लागि ट्रक शनिबार बेलायती भूमिमा प्रवेश गरेको अनुमान गरिएको छ। ‘प्रहरीले उत्तरी आयरल्यान्डका ट्रक (लरी) चालकलाई सुरक्षा नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ,’ मारिनरले बताए।
बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले यो दुःखद् घटनाबाट आफू स्तब्ध भएको बताएका छन्। ‘मैले घटनाबारे निरन्तर जानकारी लिइरहेको छु र गृह मन्त्रालयले सत्यतथ्य पत्ता लगाउन एसिक्स प्रहरीसँग मिलेर काम गर्नेछ,’ जोनसनले बताए।
एकै पटक यति धेरै मानिस मृत भेटिएपछि वाटरग्लेड औद्योगिक क्षेत्र बन्द गरिएको छ र त्यहाँ प्रहरीले घेराबन्दी गरेको छ।
सन् २००० को जुन महिनामा ५८ चिनियाँ आप्रवासीका शव बेलायतको डोभरमा एउटा लरीको पछाडि फेला पारिएको थियो। त्यहाँ दुई जना जीवितै थिए। हत्या गरेको अभियोगमा उक्त लरीका डच चालकलाई जेल सजाय भएको थियो।
प्रकाशित: ७ कार्तिक २०७६ ०२:५२ बिहीबार