coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

वीरमा मेमोग्राम अनियमित हुँदा बिरामी मर्कामा

काठमाडौं – देशकै केन्द्रीय सरकारी अस्पतालमा सबै सेवा संचालनमा छन्। सहरका विपन्न उपत्यका बाहिरबाट रेफरल बिरामी यो अस्पतालमा उपचारका लागि पुग्छन्। दैनिक बिरामी पुग्ने यो अस्पतालमा मेमोग्राम (स्तन क्यान्सरको जाँच गर्ने एक्सरे) सेवा भने दैनिक सचालनमा छैन। सातामा दुई दिन मात्र मेमोग्राम संचालन हुँदा उपचारमा पुगेका बिरामी कि पर्खेर उपचारमा पुग्छन् कि त छिटो सेवाको लागि निजी अस्पतालतिर पुग्न बाध्य छन्।

अस्पतालको अन्कोलोजी विभागका अनुसार सातामा दुई दिन मात्रै मेमोग्राम संचालन हुँदा छिटो उपचार खोजेका बिरामी प्रभावित हुने गरेका छन्। ‘साताको दुई दिन मात्र मेमोग्राम हुन्छ, स्तन क्यान्सरको जाँच गर्न आएका बिरामी अप्ठेरोमा पर्छन्,’ अन्कोलोजी विभागकी क्यान्सर रोग विशेषज्ञ डा. आरती शाहले भनिन्। विभागमा औसत मासिक एक सय जना बिरामी पुग्ने गरेको डा. शाहको भनाइ छ।

वीरकै अन्कोलोजी विभागमा उपचार गर्न पुगेकी बाग्लुङकी शान्ति घमालले ६ दिन ढिला गरी पालो पाउने भइन्। मेमोग्रामको लागि करिब एक साता पालो पर्खिनु पर्ने भएपछि उनी निजीमा अस्पतालमा मेमोग्राम गर्न बाध्य भइन्। ‘पालो आउँदा धेरै दिन पर्खिनु पर्ने भयो, अब निजीमा जान्छु,’ गत साता वीर अस्पतालमा ममोग्रामको पालो लिने क्रममा उनले भनिन्।

वीर अस्पताल रेडियोलोजी विभागकी रेडियोलोजिस्ट सुशीला थापाले भने सातामा तीन पटक मेमोग्राम चल्ने गरेको दाबी गरिन्। थापाका अनुसार मेमोग्राम गरेपछि भिडियो एक्सरे गर्ने चिकित्सक व्यस्त भएकाले दैनिक गर्न नसकेको बताइन्। ‘छातिको अल्ट्रासाउण्ड गर्ने डाक्टर व्यस्त नभएमा दिन–दिनै गर्न सकिन्छ,’ उनले भनिन्।

वीर अस्पताल रेडियोलोजी विभागका प्रमुख डा. सरोज शर्माले भने चाडपर्वको बेला परेको, रेडियोलोजी विभागका कर्मचारी व्यस्त भएको तथा बिरामी पनि कम भएकाले दैनिक मेमोग्राम गर्न नसकेको दाबी गरे। ‘दिनदिनै सुचारु गर्नु भनेको थिएँ, केही त्रुटि भएको होला,’ उनले भने।

अस्पतालका निर्देशक डा. केदार सेन्चुरीले नियमित संचालन भए÷नभएको यकिन जानकारी नभएको र विभागसित बुझेर नियमित सेवा संचालनको लागि पहल गर्ने बताए। ‘म बुझेर नियमित सेवाको लागि पहल गर्छु,’ उनले भने।

प्रकाशित: ७ कार्तिक २०७६ ०२:५१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App