coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

राजकुमार उपाधि नजिक

काठमाडौं–राजकुमार श्रेष्ठ मुस्ताङ म्याडनेस क्रसकन्ट्री साइकल रेसको छैटौं दिन बुधबारसम्म अग्रता कायम राख्न सफल भएका छन् ।
छैटौं दिन मार्फा पुगेको रेसले १ सय ७६.१ किलोमिटरको दुरी पार गर्दा राजकुमार दोस्रो स्थानका बुद्धिबहादुर तामाङमाथि डेढ घन्टाभन्दा बढी समयको अग्रता बनाएका हुन् ।
सात दिनमा सकिने रेसको अन्तिम दिन बिहीबार प्रतिस्पर्धीले मार्फादेखि तातोपानीको ४३.९ किलोमिटर दुरी तय गर्नेछन् । छैटौं दिन टाँगेबाट मार्फासम्म ४८.३ किलोमिटरको दुरी ४ घन्टा ३३ सेकेन्डमा पूरा गरेका राजकुमारको समग्र टाइमिङ १३ घन्टा ६ मिनेट ४७ सेकेन्डको छ ।

दोस्रो स्थानमा रहेका बुद्धिबहादुर (१४ घन्टा ३८ मिनेट ७ सेकेन्ड) ले बुधबार छैटौं चरणको रेस ४ घन्टा ४७ मिनेट ५८ सेकेन्डमा पूरा गरेका थिए । यसैगरी छैटौं दिनको दुरी ४ घन्टा ५७ मिनेट २५ सेकेन्डमा पार गरेका नेपाली सेनाका मानबहादुर थामामगर समग्रमा १५ घन्टा ३८ मिनेट ४६ सेकेन्डको टाइमिङसाथ तेस्रो स्थानमा छन् ।
रेसमा आरामदायी अग्रता लिएर उपाधिको नजिक पुगेका राजकुमारले प्रदर्शनमा सन्तुष्टि जनाए ।

‘आज र हिजोको रुट निकै कठिन थियो । तथापि मैले राम्रो अग्रता कायम राख्न सकेको छु,’ छैटौं दिनको रेस सकिएपछि राजकुमारलाई उद्धृत गर्दै आयोजकद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘भोलिको एक दिन यसलाई जोगाउन सके उपाधि जित्नेछु । म उपाधि जितसँगै अग्रता अझै फराकिलो पार्ने उद्देश्यका साथ भोलिको रेसमा सहभागी हुनेछु । उपल्लो मुस्ताङमा आएर यस्तो जोखिमपूर्ण रेसमा उपाधि जित्न सकेँ भने त्यो मेरो साइक्लिङ करिअरका लागि विशेष हुनेछ ।’

आयोजक शिखर पाण्डेले जानकारी गराएअनुसार कागबेनीबाट शुक्रबार सुरु भएको क्रसकन्ट्री साइकल रेसको पहिलो दिन १३.२ किलोमिटरको दुरी पार गर्दै प्रतिस्पर्धी मुक्तिनाथ पुगेका थिए । दोस्रो दिन मुक्तिनाथबाट समुद्री सतहदेखि ४ हजार ७० मिटर उचाईंको ग्याला पास हुँदै २२ किलोमिटरको दुरी पार गर्दै चेलेमा पुगेर सम्पन्न रेसको तेस्रो दिन चेलेबाट घमीसम्म ३६ किलोमिटरमा प्रतिस्पर्धा भएको थियो ।

पाँच विदेशी र ७ नेपाली सहभागी प्रतिस्पर्धामा चौथो दिन घमीबाट उपल्लो मुस्ताङको राजधानी लोमाङथाङ पुग्दा २६ किलोमिटरको दुरी तय गरेका सहभागी पाँचौं दिन टाँगे पुगेका थिए । लोमाङथाङदेखि टाँगेसम्मको दुरी ३२.३ किलोमिटर छ ।

उपल्लो मुस्ताङमा पहिलोपल्ट भएको रेस सात चरणमा सात दिनसम्म चलेर बिहीबार सम्पन्न हुँदा प्रतिस्पर्धीले २ सय २० किलोमिटरको दुरी तय गर्ने आयोजक पाण्डेले जानकारी गराएका छन् । समुद्री सतहबाट २ हजार ८ सय मिटरमा रहेको कागबेनीबाट सुरु भएको प्रतियोगिताअन्तर्गत सात दिनमा मुस्ताङका विभिन्न क्षेत्र पार गर्दा प्रतिस्पर्धीले ४ हजार २ सय मिटरसम्मको उचाईंमा अनुभव बटुल्ने छन् । विजेताले १ लाख २५ हजार, उपविजेताले ७५ हजार तथा तेस्रो हुनेले ५० हजार रुपैयाँ पुरस्कार जित्ने छन् ।   
 

प्रकाशित: १६ मंसिर २०७३ ०४:५९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App