८ वैशाख २०८१ शनिबार
अर्थ

नेपाल–बंगलादेश व्यापार वार्ता सम्पन्न

काठमाडौं – नेपाल र बंगलादेशबीचको व्यापार सहजीकरण वार्ता बुधबार सम्पन्न भएको छ। वार्तामा सडक, रेल, आन्तरिक जलमार्ग र हवाई मार्गमार्फत पारबहन तथा कनेक्टिभिटीको प्रवद्र्धन गर्न आपसमा सहकार्य गर्ने, अवरोध हटाएर व्यापार सहजीकरण गर्ने, पर्यटन प्रवद्र्धनमा द्विपक्षीय लगानी प्रवद्र्धन तथा संरक्षण गर्ने लगायत विषयमा छलफल भएको थियो।

छलफलमा कृषि, व्यापारको क्षेत्रमा बंगलादेशले सहमति जनाएपछि कृषि विभाग र बंगलादेशको कृषि प्रसार विभाग, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र त्यहाँको सम्बन्धित निकाय, साल्ट ट्रेडिङ कर्पोरेसन र ट्रेडिङ कर्पोरेसन अफ बंगलादेश, राष्ट्रिय खाद्य व्यवस्था तथा व्यापार कम्पनी र ट्रेडिङ कर्पोरेसन अफ बंगलादेशबीच एमओयू गर्न आवश्यक प्रक्रिया अघि बढाउने सहमति भएको छ।

यो नेपाल बंगलादेशबीचको प्राविधिक समितिको चौथो बैठक हो। छलफलमा नेपाली पक्षले नेपालको धागो निर्वाध रुपमा बंगलादेशमा सहज पहुँचको व्यवस्था मिलाउन आग्रह गरिएको थियो। त्यसैगरी अलैंची, अदुवा, अम्रिसोलगायत कृषिजन्य तथा औद्योगिक वस्तुलाई बंगलादेशको भन्सारमा अतिरिक्त शुल्क लाग्ने हुँदा भन्सार छुट दिन, नेपाली विद्यार्थीले बंगलादेशमा जाँदा बेहोर्नुपर्ने भिसा समस्या समाधान गर्न राखेको आग्रहलाई बंगलादेशका प्रतिनिधिले सकरात्मक रुपमा लिएको वार्ताको नेतृत्व गरेका मन्त्रालयका सह–सचिव नवराज ढकालले बताए। वार्तामा नेपाली टोलीको नेतृत्व ढकालले गरेका थिए। बंगलादेशी प्रतिनिधिमण्डलको नेतृत्व त्यहाँको वाणिज्य मन्त्रालयकी सहसचिव सरिफा खानले गरेकी थिइन्। बंगलादेशसँग नेपालको तीन अर्ब रुपैयाँ व्यापार घाटा छ।

प्रकाशित: ७ कार्तिक २०७६ ०१:३९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App