coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

'आयोजना गौरव गर्न लायक बनाउ'

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको एक्सन रुमबाट बुधबार राष्ट्रिय गौरवका आयोजना प्रमुखसँग साक्षात्कार गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीसहित मन्त्रीहरु। तस्बिर सौजन्य : प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

काठमाडौं – सरकारले उच्च प्राथमिकता राखेर निर्माण अघि बढाए पनि राष्ट्रिय गौरवका आयोजना निर्धारित समयमा सम्पन्न नभएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले ती आयोजनाहरुलाई गौरव गर्न लायक बनाउन निर्देशन दिएका छन्।

आयोजनाको भौतिक तथा वित्तीय प्रगति सन्तोषजनक नभएपछि ओलीले बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयको एक्सन रूमबाट आयोजनाबारे जानकारी लिँदै यस्तो निर्देशन दिएका हुन्।

वर्षौंअघि सुरु भएका राष्ट्रिय गौरवका आयोजनामा गौरव गर्नलायक ढंगले काम गर्न प्रधानमन्त्रीले निर्देशन दिएको ऊर्जा तथा सिँचाइमन्त्री वर्षमान पुनले बताए। ‘आयोजनालाई गौरव गर्नलायक बनाउनुपर्ने प्रधानमन्त्रीको चाहाना छ,’ पुनले भने, ‘निर्धारित समयअघि नै सम्पन्न गर्ने गरी काम अघि बढाउन निर्देशन दिनुभएको छ।’

ओलीले बुधबार भिडियो कन्फ्रेन्समार्फत सातवटा आयोजनाको भौतिक तथा वित्तीय प्रगतिबारे जानकारी लिएका थिए। उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवा विमानस्थल, माथिल्लो तामाकोसी जलविद्युत आयोजना, भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना, रानी जमरा कुलरिया सिँचाइ र सिक्टा सिँचाइ, हुलाकी राजमार्गको अनुगमन गरेका हुन्।

अर्थमन्त्री युवराज खतिवडा, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई, ऊर्जामन्त्री वर्षमान पुन, मुख्यसचिव लोकदर्शन रेग्मीलाई साक्षी राखेर समय मै काम सक्न निर्देशन दिएका हुन्। ‘कामले गति त लिएको छ तर समय सीमाभित्र सक्न गति दिनुपर्छ,’ ओलीले मन्त्रीलाई साक्षी राखेर भने, ‘कामलाई गति दिन एक मन्त्रालय र अर्को मन्त्रालयबीच समन्वय आवश्यक देखिन्छ।’

ओलीले परियोजना स्थलको नियमित स्थलगत अवलोकन गर्न, समस्या सुन्न र सुझाव दिन पनि निर्देशन दिए। ‘आयोजनामा सहज रुपले काम अघि बढाउन कानुनी जटिलता आए त्यसमा सजग हुनुपर्छ,’ प्रधानमन्त्री ओलीले भने, ‘परियोजनामा केही न केही सकारात्मक परिवर्तन हुनुपर्छ।’

मुलुकको समृद्धिमा सघाउन आर्थिक वर्ष ०६८/६९ देखि राष्ट्रिय गौरवका आयोजना घोषणा गरी कार्यान्वयन सुरु गरेको थियो। सरकारले २१ वटा राष्ट्रिय गौरवका आयोजना घोषणा गरे पनि भेरी बबई डाइभर्सनबाहेक अन्य कुनै पनि आयोजनाले लक्ष्य अनुसार काम गर्न सकेका छैनन्।

अन्य आयोजनाको तुलनामा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको प्रगति सन्तोषजनक रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव तिर्थ ढकालले बताए। ‘पोखरा विमानस्थलको ५० र गौतमबुद्धको ८३.२ प्रतिशत प्रगति देखिएको छ,’ प्रधानमन्त्रीलाई ब्रिफिङ गरेका ढकालले भने, ‘गौरवका आयोजनाको काम तीव्र रुपमा अघि बढाउन निर्देशन दिएका छौं।’

२०७१ मा सुरु भएको विमानस्थल चालु आर्थिक वर्ष ०७६/७७ मा निर्माण सम्पन्न गर्ने लक्ष्यसहित धमाधम काम भइरहेको छ। २०७० वैशाखबाट सुरु भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पछिल्लो समय काम तीव्र रुपमा भइरहेको छ। उक्त आयोजना २०७८ मा सम्पन्न गर्ने लक्ष्य रहेको आयोजना कार्यालयले जनाएको छ। अन्य आयोजना जस्तै उक्त विमानस्थलको पनि लागत करिब ६ अर्ब रुपैयाँ बढेको छ। सुरुमा २१ अर्ब सात करोड अनुमान गरिएको उक्त आयोजनाको लागत २७ अर्ब पुगेको छ।

आयोजना निर्धारित समयमा सम्पन्न भएपछि करिब दुई अर्ब रुपैयाँको व्यवभार थपिएको सरोकारवाला बताउँछन्। बुधबार प्रधानमन्त्री ओलीले हुलाकी लोकमार्गबारे पनि जानकारी लिएका थिए।

आर्थिक वर्ष ०६४/६५ मा सुरु भएको रानी जमरा कुलरिया सिँचाइ आयोजनाको अघिल्लो आर्थिक वर्षमा सम्पन्न गर्नुपर्ने भए पनि भौतिक प्रगति निराशाजनक छ। सरकारले आगामि ०८०/८१ सम्म निर्माण सक्ने योजना बनाएको छ। उक्त आयोजनाको लागत बढेर १२ अर्ब ६३ करोड रुपैयाँ पुगेको छ। माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको अवस्था उस्तै छ। चार सय ५६ मेगावाट क्षमताको जलविद्युत् आयोजनामा निर्धारित समयमा काम नभएपछि लागत बढेर करिब ७० अर्ब रुपैयाँ पुगेको छ। आर्थिक वर्ष ०६३/६४ मा सुरु भएको हुलाकी राजमार्गमा लक्ष्य अनुसार काम भएको छैन। झापाको केचनादेखि कञ्चनपुरको दोधारा–चाँदनी जोड्ने हुलाकी राजमार्ग आव ०७४/७५ मा निर्माण सम्पन्न गर्नुपर्ने भए पनि तीन वर्ष समय थप गरेर ०७७/७८ सम्मका लागि समय सीमा तोकिएको छ। समयमा निर्माण सम्पन्न भएपछि हुलाकीको लागत २० अर्बबाट बढेर २५ अर्ब पुगेको छ।

प्रकाशित: ७ कार्तिक २०७६ ०१:०४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App