८ वैशाख २०८१ शनिबार
ब्लग

एनआरएनको निर्वाचनलाई फर्केर हेर्दा

गैर आवासीय नेपाली संघको भर्खरै सम्पन्न नवौं विश्वसम्मेलनमा नीति नियम र पद्धति सम्बन्धी भएका शून्य बहस देखियो। निर्वाचनको समयमा नेतृत्वको हल्ला खल्ला र खेल बढी देखिनुले चुनाव ताका देखिएका बिकृति र अराजक गतिविधिले संस्थाको साख इतिहासमा नै सबैभन्दा धेरै गिरेको महशुस हुन्छ।

संस्थाका संस्थापक अध्यक्ष उपेन्द्र महतोले त सम्मेलन नै बहिस्कार गरेर संस्थामा चरम राजनीति घुसाइएको प्रष्ट सन्देश दिए।  प्रधानमन्त्री केपी ओलीसम्म ले सारा नेपालीले गैर आवासीय नेपालीसंग सिक्ने गरेको भन्दै गतिलो संस्कार  प्रदर्शन गर्न भनेको कोटलाई ट्वीट गर्दै संस्थाका पूर्व अध्यक्ष तथा एक संरक्षक जीवा लामिछानेले पनि राजनीतक हस्तक्षेपको घुमाउरो शैलीमा बिरोध गरेको देखियो।

रुपमा नव निर्वाचित अध्यक्ष कुमार पन्तले पनि राजनीतिक पार्टीका नेता हायात होटेलका कोठा-कोठा चाहारेको आरोप लगाए भने उपबिजेता कुल आचार्यले पनि राजनीतिक पार्टीको नभएर गैर आवासीयहरुको चुनाव भएको बताईरहे।  सारमा भने महतो बाहेक सबै गैर आवासीय नेपाली संघका नेताहरूको भूमिकाबाट नै राजनीतिक हस्तक्षेप निम्तिएको जानकारहरु बताउने गर्छन्। 
सरकार र नेकपासंग साथ माग्दै कुमार पन्तले आफ्ना नजिकका र आफु स्वयम् नै गएर  निरन्तर अनुनय बिनय गरेका बिबिध  खबर तथा जानकारीहरु निरन्तर आईरहे। कुल आचार्यले कांग्रेसको फ्याक्टरलाई जोड दिदै शेर बहादुरदेखि सम्पूर्ण नेतागण तिर लाइन मिलाउन छोडेनन। मतदाता , नीति र कार्यक्रमका बहस गरेर गैर आवासीय नेपालीहरुलाई आकर्सित गर्ने भन्दा शक्ति केन्द्रलाई रिझाएर , भूपू अध्यक्षहरुको आशिर्वाद पाएर अनि पैसा खर्च गरेर जित्ने मनस्थितिमा दुवै पक्ष रहेको पाइयो।  

गत चुनाव ताका एअरपोर्टमा भएको तोडफोड , हायात होटलमा भएको तोडफोड र नाराबाजी, दलका नेता ल्याएर देखाईएको नाङ्गो नाच नेपालमा रहेका नेपालीले स्वयंले रुचाएका छैनन् भने प्रवासका नेपालीहरुले त रुचाउने कुरै भएन।  यी तमाम विकृति विसंगतिलाई बेलैमा सम्बोधन गर्न नसकेको खण्डमा संघले सदस्य बढाउने भन्दा  भएका सदस्य पनि जोगाउन नसक्ने देखिन्छ।  
बिश्वभर छरिएर रहेका गैर आवासीय नेपालीहरु नेपालमा यो भएन त्यो भएन भनेर सामाजिक संजालमा आलोचना गर्नेहरुको लिस्टमा १ नम्बरमा नै रहने गरेका  छन्। आफु विदेशमा बसेर सुसंस्कृत राजनीति हेरेको र सिकेको दावी गर्ने त्यो तप्काले संघको चुनावमा गरेको लज्जास्पद प्रदर्शन, हुलहुज्जत  र तल्लो स्तरको गैर राजनीतिक चरित्रले आफै आलोचित हुन पुगेका छन्।

एक पटकको नेपली संधैको नेपाली भन्दै आलोचित बन्न पुगेका गैर आवासीय नेपालीहरु जतिसुकै देश र नेताको आलोचना गरेपनि आफु नेपाल पुगेर त्यो भन्दा गतिलो संस्कार प्रदर्शन गर्न नसकेको नैतिक क्षय भने यसपाली बेहोरेको छ। उसो त संघका केहि उछ्रिंखल पदाधिकारी र तिनको बिग्रिएको मतिलाई सामान्यीकरण गरेर प्रवासमा रहेका  १ करोड नेपालीमा (८० हज्जार चानचुन सदस्य रहेको संघमा जम्मा २५००जनाको मतबाट चुनिने नेतृत्व ) १ प्रतिशतको पनि प्रतिनिधित्व नगर्ने संस्थाको क्रियाकलाप हेरेर तमाम गैर आवासीय नेपाली तप्कालाई नै बदनामी गर्न नमिल्ने ठूलो संख्यामा रहेका संघ भन्दा बाहिरका  प्रवासी नेपालीहरुको भनाई छ।

जुनसुकै पार्टीहरुको लडाई या प्रतिस्पर्धा भनिए पनि सबै दलहरुले संघमा उठ्ने अध्यक्षहरुसंग मोटो रकम असुल्ने गरेका खबरहरु हरेक सम्मेलनसंगै मिडिया र भित्रि हल्लाखल्लामा सुनिने गरिएको छ।

गैर आवासीय नेपाली संघ कल्याणकारी संस्था भएको र जहिल्यै पनि सत्ता पक्षसंग मिलेर काम गर्ने भएको कारणले गर्दा जुन सुकै पार्टी वा विचार निकट हुने गरेपनि सदैव यसको कार्यसमिति सरकार पक्षको निकट नै रहने गर्दछ। 

सकारात्मक पक्ष

विश्वका ८१ देशमा  फैलिएको गैर आवासीय नेपालीहरुको  संजाल आफैमा पनि एउटा ठूलो स्रोत हो। यसमार्फत यसले गर्ने गरेका  लोक कल्याणकारी काम अत्यन्त सराहनीय छन्।  मुख्यरुपमा प्रवासमा दु:ख पाएका नेपाली, खाडी र अन्य मुलुकमा दु:खमा परेका नेपालीहरुलाई सहयोग गर्ने गरेको छ। देशमा भूकम्प जाँदा होस् या कुनै पनि बिपत्तिमा तुरुन्त सहयोगको हात बढाउने संघको सहयोगी चरित्रलाई नेपालीले सकारात्मक रुपमा हेरेका छन्। बिशेष गरेर पूर्वअध्यक्ष  शेष घलेले संघको कल्याणकारी छविलाई उचाइमा पुर्याएका थिए।  प्रवासमा छरिएर रहेका सिप , ज्ञान र पूँजीलाई नेपालसम्म लैजान यसले निरन्तर रुपमा गरेको पहललाई पनि सकारात्मक रुपमा नै लिनु पर्दछ। विश्व सम्मेलनमा विश्वभरबाट नेपाल पुग्ने करिब १० हजार नेपालीले देशको अर्थतन्त्र चलायमान गर्ने गर्छन्।

संघमा हुर्किएका डरलाग्दा विकृति

आफ्नो मूल उदेश्यबाट विमुख बन्दै धनिहरुको क्लबमा मात्र सिमित हुने क्रममा रहेको संघ यसपालीदेखि राजनीतिक दलहरुको खेलमैदान पनि बनेको छ। 
अब पैसा मात्र नभएर अन्य फ्याक्टरहरुले पनि यसका मूल उदेश्यलाई डोमिनेट गर्ने भएको छ। जस्तै कि अन्तराष्ट्रियरुपमा कालो धन भर्जिन आइलेण्डमा राख्ने , स्विजरलेण्डमा स्रोत बिनाको  सम्पति राख्ने  मुख्य व्यक्तिहरु संघको ८० देशमा रहेको संजाललाई सदुपयोग गरेर सम्पतीको शुद्धिकरण गर्ने चालमा हुने गरेको पक्ष होस या अन्तराष्ट्रिय तस्करहरु , सुन तथा मानव तस्करहरुदेखि बिबिध कालो धन्दा गर्नेहरुको खेल मैदानको रुपमा संस्थाको संजाल दुरुपयो गर्नलाई नेतृत्व हत्याउन शक्ति,  कालो धन र जुनसुकै हत्कण्डा गर्न प्रयोग गर्नेहरुको पनि प्रतिस्पर्धा बढ्ने गरेको संस्थाको भित्रि खेल बुझ्नेहरु बताउने गर्छन्।  

त्यस्तै गरेको संघको नेतृत्वले नेपाल सरकारबाट गैर आवासीय नेपालीको प्रतिनिधिको नाममा  राष्ट्रिय अन्तराष्ट्रिय ब्यापारिक सन्धि सम्झौताहरुमा पाउने सहज पहुँचबाट  व्यक्तिगत लाभ लिने परिपाटी बढेकोले ति ब्यापारिक सन्धि सम्झौता मार्फत लगानी सजिलै उठाउन सकिने कारणले पनि संघको नेतृत्व लिन पैसाको खोलो बगाउने गरिएको तर्क एकथरीले दिने गरेका छन्। 

यस्तो खेल खेल्ने मैदान बने गैर आवासीय नेपालीहरुको शाख अन्तराष्ट्रिय रुपमा धुलिसात हुने प्रष्ट त छ नै यसले भविष्यमा देशको राष्ट्रिय राजनीतिलाई नै उथलपुथल पार्न साक्ने ताकत राख्न सक्ने देखिन्छ।  अझ दोहोरो नागरिकता र विदेशमा बस्ने नेपालीहरुले मतदान गर्न पाउने अधिकारको कार्यान्वयन भए पछि  यो नयाँ प्रवृतिको हावी बढ्ने देखिन्छ।

 
संघको अर्को ठूलो विकृति हो संस्थालाई धनिहरुको क्लबको रुपमा ब्रान्डिङ गरिनु। जस्तै कि संघको बार्षिक सम्मेलन ५ तारे हायात होटलमा गरिनु , उम्मेदवारी शुल्क नै १० लाखसम्म राखिनु,  पुराना संस्थाका अध्यक्ष र संरक्षकहरु संस्थामा आफ्नो पकड जमाई राख्न आफु निकट उम्मेदवारलाई समातेर सिन्डिकेट नै बनाएर  बस्नु  इत्यादी। 

सिप , ज्ञान र प्रविधिको प्रसारको पाटो भुलेको संघ  
संस्थाको स्थापना कालमा अत्यन्त महत्वपूर्ण भूमिका खेलेका अन्तराष्ट्रिय कानुनका ज्ञाता डा. सुर्य सुवेदी लगायत विभिन्न बौद्धिक व्यक्तिहरुले संघको नेतृत्व पैसामुखी भएको भन्दै सर्लक्क अलग भएर ग्लोबल पोलिसी फोरम भन्ने संस्था खोलेर अघि बढेका छन्।

संघका ३ प्रकारको चरित्रमा सन्तुलन
 

गैर आवासीय नेपाली संघलाई विशुद्ध कल्याणकारी संस्था भनिएता पनि पछिल्लो समयमा  यसको भूमिकामा बदलाव आएको छ। मुख्यत यसको काम  आन्तरिक प्रतिस्पर्धा तथा ब्यबस्थापन , कल्याणकारी चरित्र र अधिकारको लडाईलाई पनि साथ साथै लैजानु पर्ने देखिएको छ।  यसर्थ संघले यी तीन कामको लागि छुट्टाछुट्टै रणनीति अंगिकार गरेर उचित व्यक्ति र नेत्रित्वलाई कार्य विभाजन गर्दै  अघि बढ्नु पर्ने देखिन्छ। 

कुनैपनि राजनीतिक दलप्रति झुकाव रहनु स्वभाविक रहेता पनि प्रवासमा रहेका अधिकांस  नेपालीहरुको स्वार्थ देशको विकास र सभ्य लोकतान्त्रिक अभ्यासको राजनीति हो।  तसर्थ आफ्नो विचार निकट कुनै दलको समर्थन वा सकारात्मक भावना रहनु स्वभाविक भएता पनि सत प्रतिशत  नेपाली राजनीतिमा चुर्लुम्म डुब्नु गैर आवासीय नेपालीको हकमा उचित र ब्यबहारिक देखिन्न। आफुले निम्त्याएको राजनीतिक हस्तक्षेप चाँही शुद्ध  र अरुले गरेको अशुद्ध भन्ने दोहोरो चरित्र देखाउनु भन्दा सबैले आआफ्ना कमिकमजोरीलाई आत्मासाथ गर्दै भविष्यको लागि पाठ सिक्न जरुरी देखिन्छ। 

समग्रमा प्रवासमा बढ्दो नेपालीहरुको घनत्व संगै संघ प्रति आसा धेरै बढेको छ। तर त्यसलाई सम्बोधन गर्न र ज्यादा भन्दा ज्यादा समावेसी चरित्र निर्माण गर्न संघ चुकेको छ। चाहे त्यो १० लाख निर्वाचन शुल्क राखेर मध्यम वर्गका प्रवासी नेपालीलाई नेतृत्वमा आउन रोक्ने काम होस् चाहे पुराना खेलाडीहरुको अग्रिम सहमति र सिन्डिकेटको चक्करमा घुमेको नेतृत्व प्रणाली होस् यस्ता किसिमका अप्राकृतिक खेल बढ्नु र संघको प्रभावकारिता घट्नुले तमाम गैर आवासीय नेपाली तप्कामा निरासा छाएको छ। 

पंग्तिकार सदस्य रहेको गैर आवासीय नेपाली संघ बेलायत संख्याको आधारमा  बिश्वको सबै भन्दा ठूलो राष्ट्रिय समन्वय समिति हो। एनआरएन युकेमा ११६ जनाको उम्मेदवारी संगै  १३ हजार मतादाता बाट  २ लाख ७ हजार पाउण्ड जम्मा रकम भएको थियो। यो सम्पूर्ण रकम नेपालका बिकट गाउँहरुमा हुने चुनाव जस्तै खर्चिलो र भड्किलो गरेर सबै रकम सकिएको बताइने गरिएको छ। तर यसको आधिकारिक जानकारी अहिलेसम्म आएको छैन। यसरि करिब नेपाली  ३ करोड रुपैयाँ अनावश्यक खर्च गरेर उडाईनु स्रोत र साधनको चरम दुरुपयोग हो।   यसै  परिपाटीलाई केन्द्रको निर्वाचनको खर्चसंग तुलना गर्दा झनै बिकराल देखिन्छ।    

गैर आवासीय नेपाली संघ केन्द्रको चुनावमा यसपाली झन्डै ५० करोडको आर्थिक चलखेल भएको अनुमान गरिएको छ। विभिन्न उम्मेदवारहरुले भोटको लागि गरेको खर्च र रजिष्टेशन शूल्क, टिकटमा गरिएको खर्च, ठूला पार्टीका नेतालाई दिइएको सहयोग, प्यानलमा दिइएको रकम जोड्दा ५० करोड खर्च भएको अनुमान गरिएको हो।  यो ब्यर्थको खर्चबाट हामीले यो संस्थाको के औचित्य प्रमाणित गर्दैछौ? यो भ्रष्ट परिपाटी बाट  कस्तो खालको मितब्ययी कर्म र मर्म स्थापना गर्न लागिएको छ संघका नेताले सोच्ने बेला आएको छ।  यसको उचित जवाफ नपाए अब कुनै पनि प्रवासी नेपालीले यत्रो धनरासी उडाएर मानव सेवा , समाजसेवाको डंका पिट्ने यो संस्थाको सदस्य किन बन्ने भन्ने प्रस्न टड्कारो रुपमा उठेको छ। 
गत चुनाव ताका एअरपोर्टमा भएको तोडफोड , हायात होटलमा भएको तोडफोड र नाराबाजी, दलका नेता ल्याएर देखाईएको नाङ्गो नाच नेपालमा रहेका नेपालीले स्वयंले रुचाएका छैनन् भने प्रवासका नेपालीहरुले त रुचाउने कुरै भएन।  यी तमाम विकृति विसंगतिलाई बेलैमा सम्बोधन गर्न नसकेको खण्डमा संघले सदस्य बढाउने भन्दा  भएका सदस्य पनि जोगाउन नसक्ने देखिन्छ।  
यी यावत परिदृश्यलाई मध्य नजर गर्दा संघ आफ्नो उदेश्य र कर्मबाट विमुख हुँदै गैर आवासीय नेपालीहरुको शाखलाई जोगाउन नसकेको प्रष्ट हुन्छ। कामको हिसाबमा पनि नेपालको संविधानले नै प्रत्याभूत गरेको नागरिकताको  सवालमा पनि गतिलोसंग आवाज उठाउन नसकेको आलोचकहरु बताउने गर्छन्। त्यस्तै गरेर  सानातिना रेमिट्यान्स आर्जनलाई राष्ट्र र सम्बन्धित व्यक्तिको हितमा ब्यबस्थित तरिकाले लगाउन , खाडी र अन्य मध्यम बर्गीय प्रवासीको हित र सेवामा भन्दा सिमित धनाड्यहरुको सम्पति, व्यापार ब्यबसाय प्रबर्धन गर्ने मध्यमको रुपमा मात्र संघ विकसित हुँदै जानु सकारात्मक संकेत पक्कै हैनन्।  
संघको यो गिरेको शाख र बिमुख काम ,  कर्तब्य र विद्यमान विकृतिको अन्त्य गर्न तमाम संरक्षक, अभियन्ता र  नयाँ नेत्रित्वले  बेलैमा नलागे संघको औचित्य नै समाप्त हुने गम्भीर परिस्थिति सृजना हुँदै गएको  देखिन्छ।

Twitter @JaganBimal

(कार्की पत्रकार महासंघ बेलायत शाखाका सचिव तथा ग़ैरआवासीय नेपाली संघ बेलायतका पूर्व सल्हलाहकार हुन्।)

 

प्रकाशित: ६ कार्तिक २०७६ ०८:१८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App