७ वैशाख २०८१ शुक्रबार
समाज

जिल्ला र उच्चले छाडेका गौतम सर्वोच्चबाट दोषी, २० वर्षपछि अमेरिकाबाट पक्राउ

काठमाडाैँ – जिल्ला र उच्च अदालतले छाडेका एक अभियुक्तलाई सर्वोच्च अदालतले दोषी रहेको फैसला गरेपछि पक्राउ परेका छन्। बलात्कारपछि हत्या गरी फरार रहेका लिलाराज गौतमलाई प्रहरीले झन्डै २० वर्षपछि पक्राउ गर्न सफल भएको हो। झापा चन्द्रगढी–३ का गौतमलाई अमेरिकन प्रहरीको सहयोगमा नेपाल प्रहरीले प्रकाउ गर्न सफल भएकाे हाे।

बुधबार बिहान टर्की एयरको विमान मार्फत गौतमलाई नेपाल ल्याइएको हो। काठमाडौं विमानस्थलमा ओर्लनासाथ नेपाल प्रहरीको टोलीले गौतमलाई पक्राउ गरेको हो। झापामा आजभन्दा २० वर्ष पहिले एक युवतीको बलात्कारपछि हत्या गरेको अभियोगमा यी युवकलाई अमेरिकामै पक्राउ गरेर नेपाल ल्याइएको नेपाल प्रहरीका प्रवक्ता विश्वराज पोखरेलले बताए।

उनका अनुसार वर्षौदेखि अमेरिकामा बसोबास गर्दै आएका झापा चन्द्रगढी ३ का ४२ वर्षीय गौतमलाई इन्टरपोल वाशिंटनको सक्रियतामा सन् २०१८ फेब्रुअरी १३ मा पक्राउ गरी अमेरिकाकै हिरासतमा राखिएको थियो ।

उनले भने,‘नेपाल प्रहरीले गरेको निरन्तर पत्राचारपछि अमेरिकी अध्यागमनका न्यायाधीशले सन् २०१८ सेप्टेम्बर ५ मा उनलाई नेपाल पठाउने आदेश दिएका थिए, सोही आदेश अनुसार उनलाई टर्की एयरबाट बुधबार काठमाडौं ल्याइएको हो।’

उनका अनुसार २०५७ असोज २९ गते राति गौतमले मनोज खड्का, सिताराम बस्नेतसमेत ३ जना मिली झापा चन्द्रगढी–३ बस्ने सन्ध्या राजवंशीलाई जबरजस्ती करणी गरेपछि घाँटी थिची हत्या गरेका थिए। उनले भने,‘ हत्या गरी नजिकै चारआली जंगलको छेउको रुखमा शव झुण्डाएका थिए।’

सन्ध्यालाई सामुहिक बलात्कार गरेर घाँटी थिची हत्या गरी रुखमा झुण्ड्याइएको अभियोगमा प्रहरीले गौतम, खड्का र बस्नेतलाई पक्राउ गरी मुद्दा चलाएकाे थियाे । घटनाको भोलिपल्ट असोज ३० गते मृतकका बुवा राजकुमार राजबंशीले जिल्ला प्रहरी कार्यालय झापामा दिएको जाहेरीका आधारमा  तीन जनाविरुद्ध मुद्दा अगाडि बढेको थियो ।

तर, झापा जिल्ला अदालतले ०५८ कात्तिक २१ गते गौतमलाई मुद्दाबाट सफाइ दियो । सोही साल चैत २८ गते पुनरावेदन अदालत इलामले पनि जिल्ला अदालतकै फैसलालाई सदर गर्दै गौतमलाई सफाइ दियाे।

पुनरावेदन अदालत इलाम हुँदै सर्वोच्च अदालतमा पुगेको मुद्दामा २०६६ भदौ २९ गते सर्वोच्चले गौतम समेतलाई जन्मकैदको फैसला गरेको थियो। प्रतिवादी गौतम ०५७ कात्तिक १ देखि ०५८ साउन ३२ सम्म १० महिना थुनामा परेका थिए । सो अवधि कट्टा गरेर उनलाई १९ वर्ष २ महिना जेलमा राख्न सर्वोच्च अदालतले ०६६ सालमै फैसला सुनाउँदा उनी अमेरिका पुगिसकेका थिए ।

प्रकाशित: ६ कार्तिक २०७६ ०८:०० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App