coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

सहरी विकास मन्त्रालय सम्हाल्न दुई राज्यमन्त्री पुग्दा...

नवनियुक्त राज्यमन्त्री मिठु मल्ल

काठमाडौं— नवनियुक्त राज्यमन्त्री मिठु मल्ल बुधबार पद तथा गोपनीयताको शपथलगत्तै मन्त्रालय पुगिन्। उत्साह र उमंगसाथ पदबहालीका लागि सहरी विकास मन्त्रालय पुगेकी उनी सरासर राज्यमन्त्री बस्ने कोठामा छिरिन्।

‘शपथलगत्तै मलाई राज्यमन्त्रीबारे जानकारी दिइएको थियो । त्यहीअनुसार म उहाँसँगै मन्त्रालय आएँ तर पहिल्यै अर्की राज्यमन्त्री पनि आउनुभएको रहेछ।' 

राज्यमन्त्रीका लागि सजाइएको कार्यकक्षको मुख्य टेबुलमा नेमप्लेट हेर्दा उनी तीनछक परिन् । नाम त अर्कैको पो रहेछ। कुर्सीमा आफूसँगै १५ मिनेटअघि प्रधानमन्त्री कार्यालयमा राज्यमन्त्रीको शपथ लिएकी सुवर्ण ज्वारचन बसिरहेकी थिइन्।

मल्ल मात्र होइन, उनीसँगै एउटै गाडीमा आएका मन्त्रालयका निमित्त सचिव शम्भु केसी र अन्य कर्मचारीसमेत यो देखेर छक्कै परे।

कांग्रेसबाट १० जना राज्यमन्त्री थपिएसँगै प्रधानमन्त्री दाहाल नेतृत्व सरकार ४१ सदस्यीय भएको छ । प्रधानमन्त्री दाहालले बुधबार दिउँसो नवनियुक्त सबै राज्यमन्त्रीलाई प्रधानमन्त्री कार्यालयमा आयोजित विशेष समारोहमा पद तथा गोपनीयताको शपथ खुवाएका थिए ।

हैन, के भयो यस्तो ?

निमित्त सचिव केसीले तत्काल मुख्यसचिव सोमलाल सुवेदीलाई फोन गरेर सोधे। ‘सर, यहाँ त दुई जना राज्यमन्त्री पो हुनुभयो। हाम्रो मन्त्रालयमा राज्यमन्त्री बन्नुभएको माननीय मिठु मल्ल होइन र?’

मुख्यसचिव सुवेदीले पनि ‘हो, हो उहाँ नै हो’ भन्ने जवाफ दिए । निमित्त सचिवले अर्की राज्यमन्त्री ज्वारचन आइसकेको जानकारी गराउँदा मुख्यसचिव झस्किए, ‘उहाँ (ज्वारचन) ले त वाणिज्य मन्त्रालयको जिम्मेवारी पाउनुभएको हो।’

मुख्यसचिवले स्पष्ट पारेपछि निमित्त सचिवले ‘नेमप्लेट’ मा कागजमा प्रिन्ट गरेर ‘मा. मिठु मल्ल राज्यमन्त्री सहरी विकास मन्त्रालय’ टाँस्न लगाइहाले ।

नाम फेरिए पनि ज्वारचनले कुर्सी भने छाडेकी थिइनन् ।

उनी झुक्किएर अर्कै मन्त्रालयमा बहाल हुन आएको थाहा पाएपछि सुवेदीले तुरुन्तै वाणिज्य मन्त्रालयका सचिव प्रेमकुमार राईलाई जानकारी गराए । सचिव राई लिन नआउन्जेल ज्वारचन सहरी विकासमै बसिरहिन् ।

सहरी विकासमा मल्ल नै राज्यमन्त्री नियुक्त भएको निश्चित भएपछि मन्त्रालयको हलमा साँझ ५ बजेतिर परिचयात्मक कार्यक्रम सुरु भयो ।

अनि मात्र राज्यमन्त्री ज्वारचन उक्त मन्त्रालयबाट बाहिरिइन्।

भएछ के भने कांग्रेसले मंगलबार राज्यमन्त्रीमा नाम सिफारिस गर्दा मल्ललाई वाणिज्य, ज्वारचनलाई सहरी विकास नै भनिएको रहेछ । बुधबार शपथअघि मन्त्रालय साटफेर गरिएको विषय जानकारी गराइए पनि ज्वारचन पुरानै सूचना सम्झँदै सहरी विकास पुगिछन् ।

कांग्रेसबाट १० जना राज्यमन्त्री थपिएसँगै प्रधानमन्त्री दाहाल नेतृत्व सरकार ४१ सदस्यीय भएको छ।

शपथ ग्रहणमा मन्त्रालयका सचिव पनि जाने, शपथग्रहणपछि मन्त्री तथा राज्यमन्त्रीलाई सचिवसँग परिचय गराइने र मन्त्रीको गाडी, सहयोगी, सुरक्षागार्डबारे जानकारी दिइने चलन छ । सोहीअनुसार सचिवले मन्त्रीलाई मन्त्रालय बहाल गर्न सँगै लैजाने परम्परा पनि छ । वाणिज्य राज्यमन्त्री ज्वारचन भने हतारहतार एक्लै सहरी विकास मन्त्रालय पुगेकी थिइन् ।

‘शपथलगत्तै मलाई राज्यमन्त्रीबारे जानकारी दिइएको थियो । त्यहीअनुसार म उहाँसँगै मन्त्रालय आएँ तर पहिल्यै अर्की राज्यमन्त्री पनि आउनुभएको रहेछ । हामी आउँदा उहाँसँग वाणिज्य सचिव हुनुहुन्नथ्यो ।’ सहरी विकास मन्त्री अर्जुननरसिंह केसीले पनि राज्यमन्त्रीमा मल्ल नै आउने जानकारी दिएको उनले सुनाए ।

‘उहाँ झुक्किएर आउनुभएको थाहा पाएपछि मुख्यसचिवलाई जानकारी गराएको थिएँ । त्यसपछि हामी कार्यक्रम र पदबहालीमा व्यस्त भयौँ,’ उनले भने, ‘त्यही क्रममा वाणिज्य राज्यमन्त्रीज्यू आफ्नो मन्त्रालय जानुभएको थियो ।’

पदबहालीका लागि किन सहरी विकास गएको भन्ने जिज्ञासामा उनले ‘यहाँ हल्ला छ धन्यवाद !’ भन्दै फोन राखिन् । उनी निकटहरुले कांग्रेसले राज्यमन्त्रीको नाम अन्तिम समयमा फेरबदल गरेकाले झुक्किएको बताए ।

‘पार्टीले हिजो प्रधानमन्त्रीलाई नाम पठाउँदा उहाँ (ज्वारचन) लाई सहरी विकास मन्त्रालय भनेर पठाएको थियो,’ उनी निकट एक व्यक्तिले भने, ‘तर शपथ ग्रहणको एक घन्टाअगाडि नाम परिवर्तन भएछ र उहाँ झुक्किनुभयो ।’

कांग्रेसनिकट स्रोतका अनुसार पार्टीले बुधबार सरकारमा गएका १० जना राज्यमन्त्रीमध्ये चार जनाको मन्त्रालय शपथभन्दा डेढ घन्टाअगाडि मात्र हेरफेर गरेको थियो । मल्ल र ज्वारचनसहित भौतिक पूर्वाधार तथा यातायात र वन मन्त्रालयका राज्यमन्त्रीको जिम्मेवारी पनि फेरबदल गरिएको थियो । ‘दीर्घराज भाटलाई पहिला भौतिक मन्त्रालय भनिएको थियो तर शपथभन्दा अगाडि वनको जिम्मेवारी दिइयो भने सीताराम महतोलाई पहिला वन भनिएको थियो, पछि भौतिक मन्त्रालय दिइएको छ,’ स्रोतले भन्यो ।

दाहाल सरकार ४१ सदस्यीय

कांग्रेसबाट १० जना राज्यमन्त्री थपिएसँगै प्रधानमन्त्री दाहाल नेतृत्व सरकार ४१ सदस्यीय भएको छ । प्रधानमन्त्री दाहालले बुधबार दिउँसो नवनियुक्त सबै राज्यमन्त्रीलाई प्रधानमन्त्री कार्यालयमा आयोजित विशेष समारोहमा पद तथा गोपनीयताको शपथ खुवाएका थिए ।

राज्यमन्त्रीको शपथ लिनेमा खानेपानी तथा सरसफाइ मन्त्रालयमा दीपक खड्का, उद्योगमा कञ्चनवादे श्रेष्ठ, सिँचाइमा सुरेन्द्रराज आचार्य, सहरी विकासमा मिठु मल्ल, श्रम तथा रोजगारमा दिलीप खवास गच्छदार, भौतिक पूर्वाधारमा सीताराम महतो, वन तथा भू–संरक्षणमा दीर्घराज भाट, वाणिज्यमा सुवर्ण ज्वारचन, स्वास्थ्यमा तारामान गुरुङ र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमा इन्द्रबहादुर बानियाँ छन् । शपथलगत्तै उनीहरुले मन्त्रालय पुगेर पदबहाली गरे ।

प्रकाशित: १६ मंसिर २०७३ ०१:५२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App