८ वैशाख २०८१ शनिबार
खेल

ह्यान्डबल टोली छनोटमा विवाद

काठमाडौं – १३औं दक्षिण एसियाली खेलकुद (साग) को तयारीमा रहेको नेपाली राष्ट्रिय महिला ह्यान्डबल टोलीको छनोटमा विवाद सिर्जना भएको छ।

नियमित उपकप्तान साधना बम राष्ट्रिय टोली छनोटको अन्तिम १६ बाट बाहिरिएपछि विवाद सिर्जना भएको हो। निकै खराब स्थलमा खेलाएका कारण पुरुष टोलीका खेलाडी घाइते भएको सार्वजनिक भइरहँदा महिला टोलीको छनोट पनि सही तरिकाले नभएको आरोप लागिरहेको छ। साधनाले नियमित प्रशिक्षण गराएका प्रशिक्षकलाई बाहिर राखेर आफूलाई सुनियोजित रूपमा राष्ट्रिय टोलीबाट बाहिर राखेको आरोप लगाएकी छन्।

‘हामीलाई सुरुदेखि दुई प्रशिक्षक कृष्ण शाक्य र बिन्दा थापाले प्रशिक्षण गराउनुभएको थियो। सोहीअनुसार उहाँहरूले नै दुई चरणमा छनोट गर्नुभयो,’ साधनाले भनिन्,‘त्यसपछि विदेशी प्रशिक्षक जाओ फ्लोरेन्टिनोले अक्टोबर ७ बाट प्रशिक्षण गराउनुभयो। उहाँले एक हप्ता मात्र प्रशिक्षण गराएपछि राष्ट्रिय टोलीको अन्तिम १६ खेलाडी छनोट भयो।’

विदेशी प्रशिक्षकले राम्रोसँग खेल हेर्न नपाईकन छनोट गरिएको उनको भनाइ छ। ह्यान्डबलका प्रमुख प्रशिक्षक हिमाल दाहाल, प्रशिक्षकद्वय अरुणलाल कर्ण र जीवन बस्नेतको छनोट समितिले राष्ट्रिय टोलीको छनोट गरेको थियो। यद्यपि, साधनाले भने प्रशिक्षणमा नरहेका प्रशिक्षकबाट छनोट गराउँदा आफूलाई नियोजित रूपमा टोलीबाट हटाइएको आरोप लगाएकी छन्।

घाइते भएर बसेका खेलाडी देवकुमारी बास्कोटालाई राष्ट्रिय टोलीमा छनोट गरिएको समेत उनले बताएकी छन्। ‘जुन खेलाडी छनोटको समयमा थिइनन्। उनलाई छनोट गरिएको छ,’ साधनाले भनिन्, ‘प्रशिक्षण गराइरहेका प्रशिक्षक छनोट समितिमा सामेल थिएनन्। टोलीको प्रशिक्षण नै नगराएका प्रशिक्षकले छनोट गर्दा न्याय पाउन सकिनँ।’

साधनाले अनुशासन नभएको आरोपसहित छनोट नगरिएको बाहिरबाट सुन्ने गरेको समेत बताइन्। ‘यदि ममा अनुशासन थिएन भने वैकल्पिक खेलाडी पनि राख्नुपर्ने अवस्था थिएन होला। ६÷७ वर्षसम्म खेल्दा कहिल्यै त्यो किसिमको प्रश्न उठेको थिएन,’ साधनाले भनिन्, ‘तर अहिले टोलीबाट हटाउनकै लागि अनुशासन नभएको बहाना लगाइएको छ।’ 

रञ्जना राईको कप्तानीमा रहेको १६ सदस्यीय टोलीमा साधना वैकल्पिक खेलाडी छिन्। उनीसँगै थप चार जना वैकल्पिक खेलाडीको सूचीमा छन्। महिला टोलीलाई प्रशिक्षण गराइरहेका कृष्ण शाक्यले छनोट समितिमा आफू नभएकाले छनोटबारे थाहा नभएको बताए। ‘उनी राम्रै खेलाडी हुन्। दुई चरणको छनोटमा म आपैmं थिएँ,’ शाक्यले भने,‘तर अन्तिम टोली छनोटको समितिमा म थिइनँ। त्यसैले प्रक्रियाबारे पूर्णरूपमा जानकार छैन।’

यसै वर्षको वैशाखमा सम्पन्न आठौं राष्ट्रिय खेलकुदबाट नेपाल ह्यान्डबल संघले साउन २० गतेदेखि २८ जना खेलाडीलाई बन्द प्रशिक्षणमा राखेको थियो। सोही बन्द प्रशिक्षणबाट दोस्रो चरणको छनोटमा अन्तिम २५ खेलाडी समावेश गरिएको थियो। त्यसपछि तेस्रो चरणमा संघले २१ जनाको महिला टोली छनोट गरेको थियो।

साधना भारतमा सम्पन्न १२औं सागमा नेपालको उपकप्तानसमेत हुन्। करिब ६÷७ वर्षदेखि राष्ट्रिय टोलीको प्रतिनिधित्व गर्दै आइरहेकी साधना एपिएफ  महिला ह्यान्डबल टोलीकी कप्तानसमेत हुन्। संघका अध्यक्ष तेज गुरुङले उनको प्रदर्शन १९÷२० को अवस्था रहे पनि अनुशासनका कारण अन्तिम टोलीमा पर्न नसकेको आफ्नो जानकारीमा आएको बताएका छन्।

‘संघको काम व्यवस्थापकीय पाटो हेर्ने हो। त्यसैले त्यहाँ संघले हस्तक्षेप गर्दैन,’ अध्यक्ष गुरुङले भने, ‘प्राविधिक पक्ष छनोट समितिले गरेको छ। त्यहाँ विदेशी प्रशिक्षक पनि हुनुहुन्छ। साधनाको बारेमा गुनासो आएपछि उहाँहरूलाई सोधेको थिएँ। उनको कारणले टोलीमा केही समस्या पैदा भएको र प्रदर्शन खस्किरहेका जबाफ पाएको छु।’

यद्यपि  अनुभवी खेलाडी भएकाले उनलाई वैकल्पिक टोलीमा राखिएको गुरुङको भनाइ छ। आवश्यक परेका खण्डमा उनलाई राष्ट्रिय टोलीमा फर्काउन सक्ने प्रावधानसमेत रहेको गुरुङले बताए। पछिल्ला समय संघमाथि कम क्षमता भएका खेलाडीलाई टोलीमा राखेको आरोप पनि लागिरहेको छ।

प्रकाशित: ६ कार्तिक २०७६ ०४:२७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App