खोटाङ – हलेसी तुवाचुङ नगरपालिकामा कार्यरत प्रारम्भिक बाल विकास केन्द्रका सहयोगी कार्यकर्ताले तलब वृद्धिको माग गरेका छन्। हाल राज्यले उपलब्ध गराउँदै आएको सेवासुविधा न्यून भएको भन्दै प्रारम्भिक बाल शिक्षण नगर समितिले नगरपालिकासमक्ष बाल विकास केन्द्रका सहयोगी कार्यकर्ताले तलब वृद्धिको माग राखेका हुन्।
उनीहरूले संघीय सरकारले अर्को व्यवस्था नगरेम्म प्राथमिक शिक्षकसरहको तलब व्यवस्था गर्न माग गरेका छन्। कात्तिक ३ गते बसेको बैठकको निर्णयअनुसार प्रारम्भिक बाल शिक्षण नगर समितिका अध्यक्ष केलिना राईको नेतृत्वमा आएको टोलीले तलब वृद्धिको माग राखेको हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले बताए।
नगरपालिकाले आर्थिक वर्ष २०७६÷७७ मा प्रत्येक सहयोगी कार्याकर्तालाई मासिक एक हजार खाजाभत्ता दिने निर्णय गरिसकेको जनाएको छ। नगरपालिकामा रहेका ५४ बाल विकास केन्द्रका सहयोगी कार्यकर्ताले हाल मासिक ६ हजार सुविधा लिँदै आएका छन्।
प्रकाशित: ६ कार्तिक २०७६ ०२:३१ बुधबार