७ वैशाख २०८१ शुक्रबार
अर्थ

विद्युतीय बस खरिद अन्योलमा

काठमाडौं – साझा यातायातलाई तीन सय विद्युतीय बस खरिद गर्न अनुमति दिएको सरकारले पछिल्लो समय प्रक्रिया अगाडि बढाउन रोक लगाएपछि अन्योल सिर्जना भएको छ।

विद्युतीय बस खरिद गर्ने क्रममा दुई निकायबीच खरिद प्रक्रियाको विशेष विवरण ‘स्पेसिफिकेसन’मा अन्योल देखिएको हो।

साझा यातायातले सरकारले तोकेको स्पेसिफिकेसनभन्दा फरक ढंगबाट विद्युतीय बस किन्न खोजेको आरोप सरकारी अधिकारीहरुको छ। यही निहुँमा सरकारले खरिद प्रक्रिया अघि नबढाउन निर्देशन दिएको हो। साझालाई सरकारले तीन अर्ब रुपैयाँ बस खरिद गर्न बजेट दिएको थियो।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रवक्ता राजेश्वर ज्ञवालीले साझा यातायातले मन्त्रिपरिषद्ले स्वीकृत गरेकोभन्दा फरक मापदण्डको विद्युतीय बस खरिद गर्न खोजेकाले केही समयका लागि स्थगन गर्न अनुरोध गरेको जानकारी दिए। ‘मन्त्रिपरिषद्ले स्वीकृति गरेको स्पेसिफिकेसन साझा यातायातले परिर्वतन गर्न मिल्दैन,’ ज्ञवालीले भने, ‘केही स्पेसिफिकेसन परिवर्तन गर्नुपरे पनि मन्त्रिपरिषद्बाटै स्वीकृत गरेर मात्रै गर्नुपर्छ।’

गत पुस ९ मा बसेको मन्त्रिपरिषद् बैठकले राजधानी उपत्यकामा गुडाउने गरी तीन सय विद्युतीय बस किन्ने निर्णय गरेको थियो। गत असारमा बसेको मन्त्रिपरिषद् बैठकले साझा यातायातलाई तीन सय विद्युतीय बस किन्न तीन अर्ब रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको थियो।

साझा यातायातका कार्यकारी निर्देशक भूषण तुलाधरले सरकारले तोकेको स्पेसिफिकेसनभन्दा केही परिमार्जन गरिएको बताए। ‘सरकारले तोकेको स्पेसिफिकेसनमा सामान्यबाहेक ठूला परिर्वतन भएको छैन,’ उनले नागरिकसँग भने, ‘केही बाधा अड्चन फुकाउने काम मात्रै गरिएको हो।’ उनका अनुसार ९० प्रतिशत विशेष विवरण मन्त्रालयले तोेकेअनुसारकै समावेश गरिएको छ। तुलाधरले विशेष विवरणलाई आधार बनाएर खरिद प्रक्रियामा रोक लगाउन नहुने धारणा व्यक्त गरे।

प्रकाशित: ६ कार्तिक २०७६ ०१:४२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App