८ वैशाख २०८१ शनिबार
राजनीति

‘स्थिति नियन्त्रण’ को पूर्वअभ्यास गर्दै सुरक्षा निकाय

काठमाडौं– आन्दोलनका क्रममा हुने धनजनको क्षति रोक्न सुरक्षा निकायहरू नयाँ रणनीतिक योजनाअनुसार सहकार्यमा जुटेका छन् ।

प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागले विगतमा भएका आन्दोलन नियन्त्रणमा लिन संगठनका तर्फबाट भएका कमीकमजोरी सच्याउँदै नयाँ रणनीति अनुसार सुरक्षा योजनामा जुटेका हुन् । केही महिनाअघि देशका विभिन्न भागमा संयुक्त पूर्वअभ्यास गरेका यी सुरक्षा निकायले आगामी सुरक्षा अवस्था थप जटिल हुनसक्ने अनुमानसहित सहकार्य थालेका हुन् ।

तीनवटै सुरक्षा निकायले आपसमा समन्वयनको कमी, भूमिकाका विषयमा खिचातानी र स्थितिको पूर्वमूल्यांकन तथा पूर्वसूचनाको कमीका कारण यसअघिका आन्दोलनमा  धनजनको क्षति भएको निष्कर्ष निकालेका छन् । यसै आधारमा रणनीति बनाएर उनीहरू सुरक्षा ‘स्थिति नियन्त्रण’  पूर्वअभ्यासमा जुटेका छन् ।

प्रहरीको विशेष ब्युरोअन्तर्गत रहेको राजनीतिक अन्वेषण र राष्ट्रिय अनुसन्धान विभागले राजनीतिक दल, विद्रोही समूह, भूमिगत सशस्त्र समूह र सुरक्षा मामिलामा चलखेल गर्नसक्ने तत्वको पहिचान र गतिविधिको मूल्यांकनपछि प्रदेश नम्बर दुई र पाँचलाई सुरक्षा चुनौतीका हिसाबले सम्वेदनशील ठहर्याएका छन् ।

अघिल्लो तराई मधेस आन्दोलनमा मानवअधिकार हनन्को गम्भीर आरोप खेपिरहेको नेपाल प्रहरीले दंगा नियन्त्रणको पूर्व तयारीसमेत गरिरहेको छ । प्रहरी प्रधान कार्यालय उच्च स्रोतका अनुसार दंगाग्रस्त क्षेत्रमा खटिने प्रहरी अधिकारी तथा जवानलाई अश्रुग्यास र हतियारको निशानासम्मका तालिम दिइएको छ । स्रोतका अनुसार जिल्लाअन्तर्गतका प्रहरी युनिटमा सम्भव भएसम्म सबैलाई भिड नियन्त्रण तालिम र हतियारको निशानासम्बन्धी तालिम दिइएको छ । ‘प्रहरीले दंगा नियन्त्रणका लागि चलाएको गोली अन्यत्र लागेको, अश्रुग्यासको प्रयोग प्रभावहीन भएको र तालिम अभावमा केही स्थानमा अनावश्यक बल प्रयोग भएको आन्तरिक समीक्षापछि यो रणनीति बनेको हो,’ स्रोतले भन्यो ।

प्रहरीले प्रदेश पाँच र दुईमा सुरक्षा चुनौती बढिरहेको निष्कर्षसहित प्रतिवेदन तयार पारेको छ । सुरक्षा खलल पार्ने तत्वको पहिचानमा पनि प्रहरी जुटेको छ । प्रदेश नम्बर पाँचमा राजनीतिक रुपमा संविधान संशोधनको विपक्षमा रहेका दल र दुईमा भूमिगत सशस्त्र समूहले गतिविधि बढाउन सक्ने प्रतिवेदनमा उल्लेख छ । प्रहरीको विशेष ब्युरो, देशभर रहेका प्रहरी युनिट र विभागका अधिकारीको गोप्य सूचनाका आधारमा प्रतिवेदन तयार पारिएको हो ।  

प्रहरीले कार्यविभाग प्रमुख अतिरिक्त महानिरीक्षक केदारप्रकाश साउदलाई यसै साता देशका विभिन्न भागमा सुरक्षा अवस्था बुझ्न र आवश्यक निर्देशनका लागि पठाउने तयारी गरेको छ । साउदसँगै सशस्त्र प्रहरी र अनुसन्धान विभागका अधिकारीसमेत जिल्ला जाने तयारी छ ।

साउदले मानवअधिकार पूर्ण रक्षासहित दंगा नियन्त्रण अभ्यासमा प्रहरी जुटेको बताए । उनका अनुसार दंगाका क्रममा धनजनको सुरक्षाका लागि सुरक्षा निकायबीच प्रभावकारी सहकार्य गर्न पनि अभ्यास भइरहेको छ ।

‘सुरक्षाका लागि तैनाथ हुने निकायबीचको सहकार्य प्रमुख हो, यसबाहेक भिड नियन्त्रणका लागि प्रविधि र साधनस्रोतको तयारीसमेत भइरहेको छ, हामी सधैं तयारी अवस्थामा बस्नुपर्नेे संगठन हो,’ साउदले नागरिकसँग भने । उनले अघिल्लो आन्दोलनमा सुरक्षा निकायबाट भएका कमजोरी सच्याउँदै सकेसम्म धनजनको क्षति हुन नदिने कार्यनीति अनुसार काम भइरहेको बताए ।

प्रहरीले कैेलाली घटनामा संगठनका एक वरिष्ठ उपरीक्षकसहित आधा दर्जनलाई गुमाएको थियो । प्रहरीले अगामी दिनमा समेत त्यस्तो अवस्था आउनसक्ने भन्दै आफ्ना सबै संयन्त्रलाई चनाखो हुन निर्देशन दिएको छ । ‘हाम्रा सबै इकाइ क्रियाशील छन, जनधनको सुरक्षा र शान्ति व्यवस्था कायम राख्ने र सँगै मानवअधिकारको रक्षा हाम्रो पहिलो प्राथमिकता हो, सोहीअनुसार हामी क्षेत्रमा खटिएका छौं,’ प्रहरी प्रवक्ता डिआइजी हेमन्त मल्लले भने । उनले विभिन्न राजनीतिक मुद्दामा सुरु भएका आन्दोलनका स्वरुपले उग्ररुप लिनुअगावै प्रहरी नियन्त्रण तयारी अवस्थामा रहेको बताए । सीमानाकामा पनि सुरक्षा निगरानी बढाइएको जानकारी उनले दिए ।

सबै युनिट गाभिए

प्रहरीले आन्दोलनकारीको आक्रमणमा परेका प्रहरी युनिटलाई गाभेर नयाँ युनिट बनाई तयारी अवस्थामा राखिएको जनाएको छ । प्रहरीले अघिल्लो आन्दोलनमा प्रर्दशनकारीको चपेटमा परेका एक सय दुई युनिटलाई आवश्यकता अनुसार गाभेर नयाँ युनिट बनाएको हो । प्रहरीले पाँचवटै क्षेत्रीय कार्यालय अन्र्तगत रहेका विभिन्न युनिटलाई आवश्यकता अनुसार गाभेर जनशक्ति र साधनस्रोत सम्पन्न बनाएको हो ।

कार्य विभागले गाभिएकै युनिटलाई थप जनशक्ति र साधनस्रोत सम्पन्न बनाएको हो । विगतमा न्यून जनशक्ति, साधनस्रोत र हातहतियार नभएका प्रहरी युनिट प्रर्दशनकारीले ध्वस्त बनाएका थिए ।  

११९ सेल्टर ध्वस्त

पछिल्लो तराई मधेस आन्दोलनका क्रममा नेपाल प्रहरीका एक सय १९ स्थानमा रहेका सेल्ट र सवारीसाधनमा तोडफोड भएको थियो । मध्य तराईका आठ जिल्लाका दुरदराजमा रहेका चौकीदेखि सदरमुकाम केन्द्रित जिल्ला प्रहरी कार्यालय र सवारीसाधनमा प्रर्दशनकारीले तोडफोड र आगजनी गरेका थिए।

प्रहरी प्रधान कार्यालयका अनुसार अघिल्लो वर्षको साउनमा तराई मधेसमा सुरु भएको आन्दोलनमा ५३ प्रहरी कार्यालयमा आगजनी गरिएको थियो । यस्तै एउटा ट्रक, दुईवटा जिप, चारवटा मोटरसाइकलमा आगजनी भएको थियो ।  आन्दोलनकारीले २८ वटा कार्यालय, १४ ट्रक र १७ जिपमा तोडफोड गरेका थिए।

संविधान जारी भएको दिन असोज ३ गतेसम्म एउटा ट्रक, दुई जिप र चार मोटरसाइकलसहित पाँचवटा प्रहरी कार्यालयमा आगो लगाइएको थियो । संविधान जारी गर्ने दिनसम्म ४० साना तहका प्रहरी कार्यालयमा आन्दोलनकारीले आगो लगाइसकेका थिए।

यस्तै असोज ३ गतेपछि आठवटा प्रहरी कार्यालय र आठवटा नै सवारीसाधनमा आगजनी भएको थियो। प्रहरीले झडप उग्र भएपछि नियन्त्रणका लागि चलाएको गोली लागि प्रर्दशनकारीको मृत्यु भएपछि आक्रोशित भिडले आगजनी गरेको थियो।

 

प्रकाशित: १५ मंसिर २०७३ १२:४७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App