८ वैशाख २०८१ शनिबार
समाज

छुवाछुत हटाउने प्रतिवद्धता

सम्वाद कार्यक्रमका सहभागीहरु। तस्वीरःजनक केसी /नागरिक

जाजरकोट - समाजमा हुने जातीय छुवाछुत तथा विभेद अन्त्यका लागि  विशेष पहल गर्न यहाँका सरोकारवालाहरुले प्रतिवद्धता जनाएका छन्। जिल्ला सदरमुकाम खलंगामा आयोजित एक कार्यक्रममा जनप्रतिनिधि, पत्रकार, नागरिक अगुवा, स्थानीय प्रशासक, प्रहरी तथा अधिकारकर्मीहरुले  यस्तो प्रतिवद्धता जनाएका हुन्।

शिवालय गाउँपालिकाको समन्वय तथा नेपाल राष्ट्रिय दलित समाज  कल्याण संघ जाजरकोटले  अविभेद अन्त्यको कानुनी  व्यवस्था,कार्यान्वयनको अवस्था र समाधानका उपाय विषयक जिल्ला स्तरीय सम्वाद कार्यक्रममा बोल्दै उनीहरुले  जिल्लाबाट सवै प्रकारका जातीय छुवाछुत र विभेदका घटना अन्त्य गर्ने अभियानमा सक्रियतापुर्वक लाग्ने प्रतिवद्धता गरेका हुन्।

  खलंगाको गैरीखालीस्थित रम्वा होटेलको सभाहलमा आयोजित सम्वाद कार्यक्रममा भेरी नगरपालिकाका मेयर चन्द्रप्रकाश घर्तीले  आफुले  नगरपालिकालाई नै  जातीय छुवाछुत मुक्त बनाउने अभियान सुरु गरिसकेको बताए। मेयर घर्तीले  एक्काइसौं सताव्दीमा पनि  जातका आधारमा मान्छे मान्छे विचमा हुने विभेद र छुवाछुतको भावनालाइ नयाँ पिढिले पुरै सखाप पार्नु पर्ने र यसका लागि आफु जस्तो सुकै भुमिका निर्वाह गर्न तयार रहेको बताए।

यस्तै शिवालय गाउँपालिकाका अध्यक्ष नरेन्द्रकुमार शाहीले  आफनो गाउँपालिकामा  दलितहरु माथि हुने कुनै पनि विभेद अन्त्यको लागि आफुले  सक्दो सहयोग गर्ने वाचा गरे।  जातिय एकता र सदभाव निर्माण तथा विभेद अन्त्यका लागि आफुले नीतिगत तथा कानुनी सवै बाटोबाट विशेष पहल गर्ने  प्रतिवद्धता जनाए। कार्यक्रममा  सहायक प्रमुख जिल्ला अधिकारी विष्णु सहानी, नागरिक अगुवा राजेन्द्र विक्रम शाह, नेपाल पत्रकार महासंघ जाजरकोटका अध्यक्ष भीमवहादुर सिंह, जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी निरीक्षक केसर कार्की, गैरसरकारी सस्था महासंघ जाजरकोटका अध्यक्ष वीरवहादुर बस्नेत लगाएतले  जातिय छुवाछुत अन्त्यका लागि हाम्रो सोचमा परिवर्तन आउन जरुरी रहेको भन्दै आफुहरुले जातिय छुवाछुत अन्त्य गर्ने प्रतिवद्धता जनाए।

सबैको एकिकृत प्रयास र सहकार्यवाट जिल्लालाइ जातीय छुवाछुतमुक्त वनाउन सकिने उनीहरुको  भनाइ थियो।सवैको साझा पहल, सहकार्य र एकताको प्रदर्शनवाट जाजरकोटलाइ जातिय छुवाछुत मुक्त र विभेद मुक्त जिल्ला वनाउन सकिने  उनीहरुको दावी थियो।सम्वाद कार्यक्रममा  नेपाल पत्रकार महासंघ जाजरकोटका पूर्वअध्यक्ष जनक केसीले जाजरकोटमा दलितहरुको अवस्था र अधिवक्ता भक्तवहादुर मल्लले जातिय छुवाछुत अन्त्य गर्न विद्यमान कानुनी व्यवस्थाका वारेमा कार्यपत्रहरु प्रस्तुत गरेका थिए।

पत्रकार केसी र अधिवक्ता मल्लले प्रस्तुत गरेका दुइ फरक फरक कार्यपत्रमाथि सहभागिहरुले  छलफल गर्दै आफना सवाल तथा प्रतिवद्धता प्रकट गरेका थिए। कार्यक्रममा सहभागिहरुले  विभिन्न निकायका जिम्मेवार व्यक्तिहरुलाइ  जिल्लामा जातीय समानता कायम गर्ने वारेमा आइपरेका  समस्यावारे विभिन्न जिज्ञासाहरु राखेका थिए  भने   छलफलमा उठेका विभिन्न सवालहरु माथि सरोकारवाला निकायका व्यक्तिहरुले  जवाफ दिएका थिए।  साझा आवाज परियोजना अन्तरगत सन्चालित जिल्ला स्तरीय सम्वाद कार्यक्रमको उद्देस्य जिल्लाका सवै सरोकारवालाहरुलाइ जातिय विभेद अन्त्यको अभियानमा सक्रिय वनाउनु रहेको  परियोजनाका संयोजक धनमल विकले बताए।

उनले सवैको सक्रिय तथा जिम्मेवारीपुर्ण सहभागिता बढाएर जाजरकोटलाइ छुवाछुत मुक्त जिल्ला वनाउनु कार्यक्रमको उद्देस्य रहेको बताए।   सम्वाद कार्यक्रम दलित समाज कल्याण संघ जाजरकोटका अध्यक्ष मानवहादुर सुनारको अध्यक्षतामा भएको थियो भने कार्यक्रममा  दलित गैरदलित समुदाय र अन्य क्षेत्रका  तीन दर्जन वढी सरोकारवालाहरुको सहभागिता रहेको थियो।  कार्यक्रममा जिल्लाको कुल जनसंख्या १ लाख ७१ हजार ३ सय ४ मध्य दलितहरुको संख्या  कुल जनसंख्याको २९दशमलव ४ अर्थात ५० हजार ३ सय ६३ छ  रहेको जानकारी गराइएको थियो।

प्रकाशित: ५ कार्तिक २०७६ ०६:२८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App