८ वैशाख २०८१ शनिबार
कला

कला क्षेत्रमा अब्बल कर्णाली

जुम्ला - एक दशक अघि ‘कर्नाली दख्खिन बग्दो छ’ नामको नाटक निकै चर्चित बन्यो। मुगुको एक टिम काठमाडौं पुग्यो र कर्णालीको बास्तविक यथार्थ बोल्यो।  नाटकले काठमाडौंलाई कर्णालीको दर्द सुनायो।  विकट्ता चिनायो। संभावना देखायो। यो नाटकले १८४६ पछिको कर्णाली र शासकीय दृष्टिमाथि दरो प्रहार गरेको थियो।

काठमाण्डौँदेखि कर्णालीको दुरी पढिरहकोप्रति खरो व्याङ्य थियो। त्यो नाटकको एउटै सन्देश थियो,‘राज्यले कर्णालीको विकासमा साथ दिन सकेको खण्डमा समृद्धि कर्णालीवाटै  नै शुरु हुनेछ। प्राकृतिक हिसावले निकै सुन्दर, सास्कृतिक हिसावले निकै धनी। सामाजिक, आर्थिक हिसावमा आत्मनिर्भरको बाटोमा रहेको कर्णाली पछिल्लो समयमा राज्यको दृष्टिमा कहिल्यै नपरेको कथा बोल्ने गर्छन्। ’

कर्णाली पीडा र व्यथाको प्राय होइन्। संवभानाको महासागर पनि हो। यहि सन्देश छर्न ‘सुइना कर्नालीका’ नामक नाटक लिएर फेरि कर्णाली काठमाण्डौ पस्यो। १८४६ को षड्यन्त्रपूर्वक भएको हमलामा राज्य गुमाउँदादेखि नै रोक, भोक र अशिक्षाको पर्याय  कर्णाली संभावनाको भण्डार पनि हो भन्ने सन्देश छर्न सफल बन्यो।  स्रोत साधनको सही व्यवस्थापन र परिचालन हुन सके कर्णाली काठमाण्डौँलाइ दिन सक्ने सामाथ्र्य राख्दछ। 

यो नाटकमा कर्णालीमा उद्योग कलकारखाना खोलिएको केन्द्र सरकार कर्णालीबाटै चलेको व्याङ्य छ। कर्णाली पहिलो पटक थिएटरको माध्यमबाट काठमाडौं पुगेको एक दशकपछि मात्र पुगेको छ ‘गर्भ छिटा’।  मुगुका हिरा बिजुली नेपालीले लेखन तथा निर्देशन गरेको यो नाटक पनि कर्णालीको समसामयिक बिषयमा बोल्न सफल बन्यो । पछिल्लो समयमा ‘पम्फा फूल’ नामक नाटक प्रदर्शन भइरहेका्े छ। यी दुबै नाटक काठमाडौंमा पुगेर मञ्चन भएका हुन्। कर्णालीमा बनेका हरेक नाटकले काठमाण्डौँका ध्यान खिच्छन्।

नाटकीय क्षेत्रमा कर्णाली काठमाण्डौँ भन्दा कम छैन्, जुम्लाका कलाकार आनन्द अधिकारी भन्छन्,‘स्रोत साधनको अभावले कर्णालीका कलाकार अघि बढ्न सकेका छैनन्। यहाँ नाटक निर्माणका कैयन विषयवस्तु छन्। नाटकमा खेल्ने पात्र पनि। नाटक लेख्ने लेखकदेखि निर्देशन गर्ने निर्देशकसम्म छन्। तर कर्णालीको नाटक निर्माण गर्ने स्रोत साधन निकै अभाव छन्। ’

गर्भ छिटा र पम्फा फुल नाटक काठमाडौंमा देखाएर निकै उत्साहित भएका जुम्लाका गोविन्द यहाँपनि थिएटर प्रयोग गर्न लागेका छन् । गोविन्द भन्छन्,‘ कर्णालीमा प्रतिभावान कलाकार छन्। क्षमतावान लेखक, निर्देशक छन्। संभावनाको भण्डार कर्णालीमा छ। कर्णालीको पक्षमा यहाँका नाटक बोल्छन्। कर्णाली हेप्नेका लागि दरो प्रहार बनिरहेका भेटिन्छन्, यहाँका नाटक। त्यसैले नाटक क्षेत्रमा कर्णाली अब्बल सावित बन्दै गइरहेको चन्दननाथ नगरपालिका १० का धर्मराज शाही बताउँछन्। कर्णालीमा उत्पादन गर्ने नाटक आवाजविहिनका आवाज हुन्।

 जुम्लामा कुनै नाटक घर छैन। नाटकको लागि भनेर बनेका हलहरु पनि छैनन्। झण्डै दुई दशक पहिले एक चलचित्र हल थियो भन्ने सुनिन्छ। अहिले बनाइएका हलहरु पनि थिएटर बनाउन मिल्ने खालका छैनन्। गोविन्दले भने,‘यहाँको भौतिक संरचना नाटक प्रदर्शन गर्न मिल्ने बनाउनु पर्ने आवश्यक छ। अव कर्णाली नाटकबाट आफ्ना समस्या राख्न सक्ने भइसकेको छ। नाटककै माध्यमबाट साँस्कृतिक क्षेत्रको जगेर्ना गर्ने र आर्थिक पक्ष सक्षम बनाउन निकै ठुलो भुमिका खेल्दछन्।  ’     

दुर्गमको कथा ‘पम्फा फूल’
एक सातादेखि कर्णाली प्रदेशको जुम्लामा ‘पम्फा फूल’ नाम नाटक प्रदर्शन भइरहेको छ। यो भ्रमको प्रतीक  हो। ‘पम्फा फूल’ कथाकी मुख्य पात्र पम्फाको मनपर्ने फुल हो। यो नाटकको सार भनेको  धन सम्पत्ति सबै बेकार हो । माया प्रेम, आदार सम्मान सब चिज हो भन्ने सन्देश दिन्छ। यो नाटक अब कर्णालीमा हुनेले मात्र हेर्न पाउनेछन्।   कर्णालीको कला संस्कृति झल्किने खस भाषामा यो नाटक बनेको छ। कर्णालीकै कलाकार हिराबिजुली नेपालीको लेखन, गोविन्द सुनारको निर्देशन रहेको छ। यहाँका १३ जना स्थानीय कलाकारले विभिन्न पात्रमा नाटक खेलेका छन्।  धनकै कारण कर्णालीबासीले भोग्नु परिरहेको पीडा बालेको छ यो नाटकले। 

नाटकको सुरुवातमा छोरी पम्फा एउटा सुन्दर बगैँचामा रमाइरहेकी हुन्छिन्।  जुनेली रातमा रमाइरहेको त्यो दृश्य भने सपनाको हुन्छ। आमाबुवा, दुई दाजुभाइ र एक बहिनी भएको एउटा परिवार हुन्छ। घरमा जेठो छोरा वीरबहादुरलाई उपेक्षा गर्छन्।  त्यो जेठो छोराको व्यवहार पनि आफु हुर्के अनुसार नै हुन्छ।  छोरीलाई पोइलीघर पुर्याउन दुई दाजुभाइ जान्छन्।  वीरबहादुरले धनको लोभमा गहनाले सजिएकी बहिनीलाई पानीमा डुबाएर हत्या गर्छ। यो घटनाबाट असहमत भएको भाइ भने घर नफर्किएर विदेसिन्छ।

जेठो दाजु वीरबहादुर भने मृतक बहिनीको गहना बोकेर घर फर्किन्छ। घर फर्किएको वीरबहादुरले आमाबावुलाई पनि हप्काउने र गाली गर्न थालेपछि आमा बुबा पनि घर छोड्न विवश हुन्छन्।  अन्तिममा वीरबहादुर एक्लै बहिनीलाई डुबाएर हत्या गरेको ठाउँमा पुग्छ र पानीमा नाङ्गै डुबेर मर्छ। यो संगै नाटक सकिन्छ।

नाटक हेर्न हलमा पुगेका खस सभ्यताका जानकार रमानन्द आचार्य नाटकले खस सभ्यता झल्काउने र सामाजिक अवस्था चित्रण गरेको बताउँछन्। उनले भने,‘यो नाटक हेर्नका लागि मात्रै छैन्। यहाँको वास्तविक यथार्थको प्रतिनिधित्व गर्छ। ’कला घर जुम्लाको पहिलो प्रस्तुति ‘पम्फा फूल’ नाटक कात्तिक ८ गतेसम्म प्रदर्शन हुने छ। खस सभ्यता झल्काउने पोसाक, पहिरन तथा भाषाको नाटकले बजार पाउने धेरै दर्शकको प्रतिक्रिया थियो। 

 

प्रकाशित: ५ कार्तिक २०७६ ०५:५७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App