coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

भ्रमण वर्ष प्रवर्द्धन गर्न सुकी नेपाल आउने

काठमाडौं – नेपाल भ्रमण वर्ष २०२० को प्रवर्द्धन गर्न म्यानमारको स्टेट काउन्सिलर आङ सान सुकी नेपाल आउने भएकी छन्।

राष्ट्रपति विद्या भण्डारीको हालै सम्पन्न म्यानमार भ्रमणका क्रममा सुकीले ‘नेपाल भ्रमण वर्ष–२०२०’ को प्रवद्र्धन गर्न नेपाल आउने चाहना व्यक्त गरेलगत्तै सरकारले उनको भ्रमण तयारी सुरु गरेको हो।

राष्ट्रपति भण्डारीको उच्चस्तरीय भ्रमणमा सामेल भएर सोमबार स्वदेश फर्किएका परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले सुकी नेपाल भ्रमण वर्ष प्रवद्र्धनका लागि नेपाल आउन लागेको जानकारी गराए। राष्ट्रपतिको म्यानमार भ्रमणका बेला दुई देशबीच पर्यटन र सांस्कृतिक सहयोग आदानप्रदान गर्न महत्वपूर्ण सम्झौता भएको पनिमन्त्री ज्ञवालीले बताए।

सुकीको नेपाल भ्रमण मिति तय नभए पनि ‘म्यानमारका स्टेट काउन्सिलर सुकीले नेपाल भ्रमण वर्षको प्रमोसन गर्न नेपाल आउने चाहना व्यक्त गर्नुभएको छ,’ मन्त्री ज्ञवालीले भने, ‘हामीले उक्त भ्रमणका लागि आवश्यक प्रबन्ध र सुरक्षा मिलाउने छौं।’

आइतबार मात्रै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नेपाल भ्रमणको उद्घाटनमा नेपाली दूतावास रहेका सम्बन्धित देशका पर्यटनमन्त्रीलाई नेपाल ल्याउने घोषणा गरेका थिए। विश्वभरका ख्यातिप्राप्त नेता, कलाकार तथा सेलिब्रेटीलाई नेपाल बोलाएर उनीहरूको माध्यमबाट नेपालको पर्यटन प्रवद्र्धन गर्ने सोचमा मन्त्रालय रहेको उनको भनाइ थियो।

नेपाल भ्रमण वर्षलाई प्रभावकारी बनाउन विश्व प्रख्यात व्यक्तित्वलाई पर्यटन प्रवद्र्धनको जिम्मा दिँदा संसारभर गहिरो प्रचार–प्रसार हुन जाने मन्त्री भट्टराईको भनाइ थियो। जनवरीको पहिलो हप्ता संसारभरबाट एकैचोटि नेपाल भ्रमण वर्षको उद्घाटन हुने भन्दै मन्त्री भट्टराईले सम्बन्धित देशका प्रधानमन्त्री, पर्यटनमन्त्री, राजदूत, पर्यटन व्यवसायीको संलग्नतामा कार्यक्रमलाई भव्य बनाउने पनि बताएका थिए। हालै भएको चिनियाँ राष्ट्रपति सी चिङफिङको नेपाल भ्रमणले पनि विश्वभर नेपालको गहिरो प्रचार–प्रसार भएको उनको भनाइ छ।

चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणले विश्वको ध्यान तान्न सफल भएको भन्दै मन्त्री भट्टराईले उक्त भ्रमणपछि चिनियाँ पर्यटकको संख्या उल्लेख्य वृद्धि हुने अपेक्षा गरेका थिए।

नेपालको पर्यटन प्रवद्र्धनमा विश्वका प्रख्यात सेलिब्रेटीहरूलाई सद्भावनादूत नियुक्त गर्ने लक्ष्यअनुरूप गत शनिबार मात्रै चिनियाँ अभिनेत्री सू छिङ (समर किङ)त्यस्तो दूत नियुक्त गरिएको थियो। चिनियाँ ट्विटर मानिने ‘वैपो’ मा चार करोड फलोअर्स रहेकी सू छिङलाई उक्त पदमा नियुक्त गर्दा चीनलगायत युरोपसम्म नेपाल भ्रमण वर्षको प्रचार हुने अपेक्षा पर्यटनमन्त्रीले उक्त कार्यक्रममा व्यक्त गरेका थिए।

भ्रमण वर्ष सचिवालयसँग भएको सम्झौतापछि आफूलाई थप जिम्मेवारी मिलेको जानकारी गराउँदै सूले आफ्नो समाजिक सञ्जालमार्फत उक्त कार्यक्रमको फोटो सार्वजनिक गरेकी थिइन्। फोटो समाजिक सञ्जालमा पोस्ट गरेको केही समयमै लाखौंले प्रतिक्रिया जनाइसकेका थिए।

‘रहस्यले भरिएको देश नेपाल’ भन्दै धेरै प्रयोगकर्ताले चाँडै नै नेपाल आउने चाहना रहेको पोस्टको कमेन्टमा लेखेका छन्।

प्रकाशित: ५ कार्तिक २०७६ ०२:३६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App