coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

बोलिभियामा राष्ट्रपतिको निर्वाचनः मोरालेसको पहिलो चरणमा अग्रता

ला पाज– राष्ट्रपतिको चौथो कार्यकालका लागि प्रतिस्पर्धामा उत्रिएका इभो मोरालेस अरु उम्मेदवारभन्दा झिनो मतले अगाडि भएको निर्वाचन आयोगले जनाएको छ।

आयोगले सार्वजनिक गरेको प्रारम्भिक मतगणनामा मोरालेस र उनका मुख्य प्रतिस्पर्धी कार्लोस मेसाबीच करिब ७ प्रतिशत मतान्तर देखिएको छ। मोरालेसले कूल गणना गरिएको मतको करिब ४५ प्रतिशत र मेसाले ३८ प्रतिशत मत प्राप्त गरेका छन्। 

सन् २००५ मा पहिलो पटक मुलुकको राष्ट्रपतिमा निर्वाचित भएका मोरालेसले त्यसपछिका कुनै पनि प्रतिस्पर्धामा दोस्रो चरणको मतदानको सामना गर्नु परेको थिएन। 

पूर्व कोका कृषक एवं वामपन्थी युनियनका नेता मोरालेसले स्रोतसाधन सम्पन्न तर अति गरिब मुलुक बोलिभियामा १३ वर्ष शासन गरिसकेका छन्। तर पछिल्लो समय भ्रष्टाचार र अधिनायकवादी शैलीका कारण उनी विरुद्धको जनमत बढ्दै गएको छ।

मोरालेस विरुद्ध ६६ वर्षीय पूर्व राष्ट्रपति मेसाले कडा टक्कर दिए। मेसा सन् २००१ देखि २००५ सम्म बोलिभियाको राष्ट्रपति हुन्। मेसाले मोरालेसको बामपन्थी सरकार भ्रष्टाचारमा अल्झिएको भन्दै निरन्तर आलोचना गर्दै आएका थिए।दक्षिण कोरियामा जन्मेका पादरी ची ह्यून चुङले पनि अप्रत्यासित रुपमा ८.७ प्रतिशत मत प्राप्त गरे। आगामी डिसेम्बर १५ मा हुने दोस्रो चरणको चुनावमा चुङको समर्थनले पनि चुनावी परिणामलाई प्रभावित तुल्याउन सक्नेछ।

मोरालेसलाई चौथो कार्यकालका लागि उम्मेदवार हुन बोलिभियाको संवैधानिक अदालतले सन् २०१७ मा बाटो खोलिदिएको थियो। बोलिभियाको संविधानमा लगातार दुई कार्यकाल मात्र राष्ट्रपति हुन पाइने व्यवस्था छ। अदालतको नयाँ आदेशबाट उनी आगामी सन् २०२५ सम्म शक्तिमा रहन पाउनु हुनेछ।  ला पाजमा मतदान पछि आफ्ना समर्थकलाई सम्बोधन गर्दै विपक्षी नेता मेसाले चुनावमा धाँधलीको सम्भावना रहेको बताएका थिए। एएफपी

प्रकाशित: ४ कार्तिक २०७६ ०७:०९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App