coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

प्रहरीमाथि पेट्रोल बम प्रहार

हङकङ – पाँच महिनादेखि अशान्त हङकङमा आइतबार भएको प्रदर्शन थप हिंसात्मक बनेको छ। सरकारविरोधी प्रदर्शनकारीले प्रहरीमाथि पेट्रोल बम प्रहार गरेको बिबिसीले उल्लेख गरेको छ। सरकारले प्रदर्शन गर्न प्रतिबन्ध लगाए पति आइतबार हजारौंको संख्यामा भेला भएका प्रदर्शनकारीमध्ये केही कडा प्रदर्शनकारीको एउटा समूहले प्रहरी स्टेसनलाई लक्षित गर्दै पेट्रोल बम प्रहार गरेका हुन्।

सार्वजनिक व्यवस्थासँग सरोकार रहेको भन्दै प्रशासनले सपिङ मल क्षेत्रमा प्रदर्शन गर्न रोक लगाएको थियो। प्रशासनले यस्तो प्रतिबन्ध लगाए पनि हजारौंको संख्यामा रहेका प्रदर्शनकारीले सरकारी आदेशको उल्लंघन गर्दै प्रदर्शन गरेका थिए। हजारौंको भीडमध्येबाट कालो मास्क लगाएका केही प्रदर्शनकारीले भने प्रहरी स्टेसनमा आक्रमणसमेत गरेको बताइएको छ।

सिम सा सुई प्रहरी स्टेसनको गेटमा प्रदर्शनकारीले आगो लगाइ दिएपछि प्रहरी अधिकारीहरुले अश्रुग्यास प्रहार गरेका थिए भने भीडलाई तितरवितर पार्नका लागि पानीको फोहोरासमेत प्रहार गरिएको थियो। केही क्षेत्रमा प्रदर्शनकारीले केही पसल र चिनयाँ बैंकहरुमा समेत तोडफोड गरेको हङकङका अधिकारीहरुले बताएका छन्। आइतबारको प्रदर्शनमा सहभागी सबै भने हिंसामा संलग्न नरहेको बताइएको छ। प्रदर्शन गैरकानुनी भए पनि सुरुमा शान्तिपूर्ण अवस्थामै सुरु भएको थियो।

के कारणले झडप भयो ?
आइतबारको प्रदर्शनमा सहभागीमध्ये केही हिंस्रक हुुनुको एउटा प्रमुख कारण भने गत साता एक लोकतन्त्रवादी प्रदर्शनकारी नेतामाथि गरिएको आक्रमण थियो। सो आक्रमणमा परी जिम्मी साम नामक एक नेता गम्भीर घाइते भएका थिए। हाल उनी अस्पतालमा उपचार गरिरहेका छन्। उनलाई क्वोलुन जिल्लाको मङ कक क्षेत्रमा पाँचजनाको समूहमा रहेका आक्रमणकारीको समूहले ह्यामर प्रयोग गरेर आक्रमण गरेका थिए।

त्यसैगरी शनिबारमात्रै लोकतन्त्र पक्षधरको अर्का एक नेतालाई चक्कु प्रहार गरी घाइते बनाइएको विषयले पनि प्रदर्शनकारीमाथि आक्रोश थपेको थियो।
पाँच महिनाभन्दा लामो समयदेखि हङकङमा प्रदर्शन भइरहे पनि पछिल्ला साता भने प्रदर्शनकारीको संख्यामा भने कमी आउँदै गएको छ। यद्यपि हजारौं मानिस प्रदर्शनमा सहभागी भने भइरहेका छन्।

‘सरकारले अब त कुनै पनि शान्तिपूर्ण प्रदर्शन गर्नमा पनि रोक लगाइरहेको छ,’ आभेरी नामक एक प्रदर्शनकारीले आइतबार बताए। ‘सरकारले प्रदर्शन गर्न बन्देज लगाउनुको अर्थ अब जो पनि सडकमा निस्कन्छ, प्रशासनको नजरमा सो व्यक्ति गैरकानुनी हुन्छ। हङकङ सरकारले गरिरहेको ट्याक्टिस नै यही हो,’ उनले बताए।
मुख्यभूमि चीनतर्फ सुपुर्दगी गर्नेबारे सरकारले विधेयक ल्याएपछि सुरु भएको प्रदर्शनका कारण विगत पाँच महिनादेखि हङकङमा सरकारविरोधी प्रदर्शन जारी रहेको छ।

हङकङको प्रमुख नेतृत्वले प्रदर्शनकारीका मागमध्येको एउटा प्रमुख माग ‘मुख्यभूमि चीनतर्फ सुपुर्दगी गर्ने’ सम्बन्धी विधेयक फिर्ता लिए पनि प्रदर्शनकारीले २० सातादेखि निरन्तर प्रदर्शन गरिरहेका छन्।

हङकङकी प्रमुख कार्यकारी क्यारी लामले केही साताअघि विवादास्पद सुपुर्दगी विधेयक फिर्ता लिने घोषणा गरेकी थिइन्। सुरुमा सुपुर्दगी विधेयक फिर्ता लिनका लागि दबाब दिने उद्देश्यले प्रदर्शन आयोजना गरिएको भए पनि हाल आएर हङकङ प्रदर्शन बृहद् प्रजातान्त्रिक सुधार र स्वतन्त्रता कम हुँदै गएको प्रति लक्षित भएको छ। यति मात्रै नभई प्रदर्शनकारीले हङकङकी नेत्री लामको राजीनामाको मागसमेत गर्दै आएका छन्।

एसियाली हब हङकङमा भइरहेको पछिल्लो प्रदर्शन स्वतन्त्रता र स्वायत्तताको मागतर्फ अघि बढिरहेको छ। कुनैबेला बेलायतको उपनिवेशका रूपमा रहेको हङकङ हाल ‘एक राष्ट्र, दुई प्रणाली’ अन्तर्गत चीनको एक महŒवपूर्ण अंगका रूपमा रहेको छ। यही व्यवस्थाका कारण हङकङमा मुख्यभूमि चीनमा भन्दा बढी स्वतन्त्रता, छुट्टै कानुनी व्यवस्था र आफ्नै न्याय प्रणाली रहेको छ। विदेश र रक्षा नीतिबाहेकमा चीन सरकारले हङकङलाई स्वायत्तता प्रदान गरेको छ।

यसैबीच, पछिल्लो पटक प्रदर्शनकारीका माग विशेषतः पाँचवटा प्रमुख मुद्दामा केन्द्रित रहेका छन्। जसमा, प्रशासनले प्रदर्शनलाई ‘दंगा’ भनेर परिभाषित गरेकाले सो फिर्ता हुनुपर्ने, पक्राउ परेका सबैलाई माफी दिइनुपर्ने, प्रदर्शनकारीमाथि प्रहरीद्वारा गरिएको बल प्रयोगको जाँचबुझका लागि स्वतन्त्र आयोग गठन गर्नुपर्ने र हङकङको प्रमुख कार्यकारी र विधायन परिषद्को निर्वाचनका लागि विश्व स्वीकारोक्ति हुनुपर्ने  रहेका छन्।

प्रकाशित: ४ कार्तिक २०७६ ०६:२० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App