६ वैशाख २०८१ बिहीबार
समाज

थप गोली काण्डको अनुसन्धान हुँदै

रौतहट - रौतहट प्रहरीले सांसद महम्मद आफताब आलम सहभागी भनिएको बमकाण्डजस्तै जिल्लाका अन्य हत्याकाण्डको पनि अनुसन्धान सुरु गरेको छ। जिल्लामा विभिन्न समयमा भएका गोली तथा हत्याकाण्डको अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

राजपुर बमकाण्डको अनुसन्धान अगाडि बढेर सांसद आलम थुनामा परेपछि अन्य विभिन्न हत्याकाण्डको पनि प्रहरीले अनुसन्धान अगाडि बढाएको हो। राजपुर बमकाण्डमा के कति मान्छे मारिएको हो भन्ने यकिन हुन नसके पनि आधा दर्जनभन्दा बढी मानिसलाई इँटाभट्टाको भट्टीमा जिउँदै हालेर डढाएको प्रत्यक्षदर्शी तथा घाइतेहरूले बताउँदै आएका छन्। यता रौतहट जिल्ला अदालतमा सांसद आलमको पक्षबाट २८ जना कानुन व्यावसायीले आइतबार बहस गर्दै २०६५ मै आलमले बयान दिएर सफाइ पाइसकेकोले प्रहरीले बलजफ्ती पक्राउ गरेको भन्दै थुनामुक्त गर्नुपर्ने तर्क गरेका छन्। सरकारी वकिल खडिण्द्रराज कटुवालले आलमको विपक्षमा बहस गरेका थिए।

आलमले अहिलेको मुद्दामा २८ जना कानुन–व्यवसायी नियुक्त गरेका छन्। सरकारी पक्षले भने घाइतेको बयान, घटनाको प्रकृति तथा मुद्दा दायर गर्ने पक्षको तर्कको आधारमा सर्वोच्च अदालतको आदेशअनुसार सांसद आलममाथि अनुसन्धान गर्न सात दिनको थप म्याद मागेको थियो। तर जिल्ला अदालतको ६ नम्बर इजलासका न्यायाधीश चाणक्यमणि अर्यालको एकल इजलासले सांसद आलमलाई पाँच दिन थुनामा राखी अनुसन्धान गर्न म्याद थपेको छ। अदालत परिसरमा सञ्चारकर्मीहरूसित संक्षिप्त कुराकानी गर्दै सांसद आलमले आफू निर्दोष रहेको र बमकाण्ड नामक कुनै घटना नै नभएको बताएका छन्। ‘घटना नै नभएको कारणले महान्याधिवक्ताको कार्यालयले तत्कालीन समयमै मुद्दा नचल्ने गरी फैसला भइसकेको छ,’ सञ्चारकर्मीको प्रश्नको जवाफ दिँदै उनले भने, ‘पहिले नै मुद्दा नचल्ने निर्णय गरी सफाइ भइसकेकोमा राज्यले मेराविरुद्ध षडयन्त्र गरेको छ।’

सांसद आलमको मुद्दाले चर्चा पाएपछि जिल्लाका अन्य हत्याकाण्डका पीडितहरूले पनि न्यायको लागि प्रहरी गुहार्न थालेका छन्। सर्वसाधारण नागरिक समाजबाट पनि पहिलेका केही हत्याको छानबिन हुनुपर्ने माग उठेपछि प्रहरीले विभिन्न मुद्दाको अनुसन्धान अगाडि बढाएको छ।

२०६५ कात्तिक ७ गते रौतहटको प्रेमपुर गोनाही–४ मा ३५ वर्षीय शिक्षक सुनीलप्रसाद यादवको विद्यालयमै गोली हानी हत्या भएको थियो। शिक्षक यादवको हत्यामा संलग्न भएको आशंकामा प्रेमपुर गोनाही–८ का बैकुन्ठ ठाकुर, रामजी महतो र रामानन्द राउत चौरसिया पक्राउ परेका थिए तर लगत्तै रिहा भएका थिए। घटनाका अन्य आरोपीहरू फरार रहेका छन्।

यसैगरी २०६७ जेठ १९ गते रौतहटको गरुडामा बैरिया–३ का राजाराम साहको छोरी पुनम साहको विवाह समारोहमा बन्दुक पड्काउँदा स्थानीय १४ वर्षीय बालक सुनिलकुमार साहको मृत्यु भएको थियो। घटनाको विषयमा छानबिन गर्न जिल्ला प्रहरी कार्यालय रौतहटले प्रहरी निरीक्षक राजु अधिकारीको नेतृत्वमा छानबिन समिति गठन गरेको त थियो तर समितिले प्रतिवेदन नै पेस नगरेकोले अनुसन्धान नै अघि बढ्न सकेन।

यसैगरी २०६४ असारमा प्रेमपुर गोनाही–८ मा उसर महतोकी छोरीको विवाहमा पनि गोली चलेको थियो। गोली चल्दा विवाहको भिडियो खिचिरहेका क्यामरा म्यान विजयपुर–३ का २० वर्षीय विजय कुशवाहा गम्भीर घाइते भएका थिए। उक्त घटनाको पनि अनुसन्धान हुन पाएको छैन।

यसैगरी ओलम्पिक कुस्ती च्याम्पियन खेलाडी प्रेमपुर गोनाही–१ का ५० वर्षीय उपेन्द्र दास बैरागीको २०६८ असार २३ गते सदरमुकाम गौरमै राति साढे आठ बजे गोली हानी हत्या गरिएको थियो। हत्याको आरोपमा गोनाही–४ का जगरनाथ राय यादव र सर्फलाल महतो पक्राउ परेका थिए तर केही समयपछि रिहा भए। घटनाको राम्ररी अनुसन्धान हुन नसकेकोले हत्यामा संलग्नहरूको पहिचान हुन सकेको छैन।

जिल्लाका अन्य घटनाको विषयमा पनि पीडितहरू प्रहरीको सम्पर्कमा आइरहेको र आलम प्रकरणसँगै अन्य घटनाको पनि अनुसन्धान सुरु थालिएको रौतहट प्रहरी प्रमुख एसपी भूपेन्द्र खत्रीले बताएका छन्। आलम प्रकरणले एउटा किनारा लिएपछि जिल्लाका अन्य घटनालाई सूक्ष्म तरिकाले अनुसन्धान गर्ने एसपी खत्रीले बताए।

बम तथा हत्याकाण्डको अभियोगमा पक्राउ परेका सांसद अफताव आलममाथि थप दुई अभियोग लाग्ने भएको छ। २०६४ चैत २७ गते रौतहटको राजपुर फरहदवामा भएको बम विस्फोटका एक घाइते प्रहरीले फेला पारेपछि आलममाथि थप मुद्दा लाग्ने भएको हो।

जिल्ला सरकारी वकिल खडिन्द्रराज कटुवालका अनुसार आलमलाई बम–बारुद बनाउने तथा विस्फोटनसम्बन्धी कसुर र घटनाका जीवित घाइतेको बयानका आधारमा ज्यान मार्ने मुद्दासमेतको अभियोग दायर हुने बताएका छन्। घटनाका चारजना फरार अभियुक्त पक्राउ गर्नुपर्ने र बम विस्फोटमा घाइते भएकाहरूलाई बोरामा कोचेर इँटा भट्टामा ओसार्न प्रयोग गरेको ट्रयाक्टर समेतको अनुसन्धान गर्नुपर्ने भन्दै सरकारी वकिलले आइतबार जिल्ला अदालतमा थप म्याद मागेका थिए।

प्रकाशित: ४ कार्तिक २०७६ ०५:५१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App