coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

एउटै हातले बर्षौंदेखि कृषिकर्म

भक्तपुर-एउटा हातले खेत खनेर यहाँका एकजना किसान सबैका लागि प्रेरणा बनेका छन्। भक्तपुरको सूर्यविनायक नगरपालिका, कातिबुईका ६३ वर्षीय नारायणभक्त बकेले एउटै हातले खेत खनेर जीविकोपार्जन गर्दै आएका छन्। बेरोजगारीका नाममा हल्लेर हिँड्ने युवायुवतीका लागि उनी प्रेरणा हुन सक्छन्। बकेको जन्मैदेखि एउटा मात्रै हात छ।

केही आफ्नै र केही अरुको कुत (भाडा) मा लिएर उनले सात रोपनी जग्गामा खेती–किसानी गर्दै आएका छन् । ती सबै खेत आफैंले खन्ने गरेको उनको भनाइ छ । उनले खेतमा धान, गहुँ, मकै लगायत नगदे बाली लगाउँछन् । अहिले उनले खेतमा गहुँका साथै आलु, प्याज, लसुन बाली छन् । उनले आफ्नो परिवारलाई खान र बेच्न नगदे बाली लगाएको सुनाए ।

परिवारका उनी एक्लो छोरा हुन् । उनका भने चार छोरा र दुई छोरी छन् । तर कुनै पनि छोराछोरी खेती किसानीमा छैनन् । उनका अनुसार चार्र छोरा डकर्मी (घर बनाउने) पेसामा छन् । सातै रोपनी खेत उनी आफैं खन्छन् । छोराछोरीसँग धान काट्ने, गहुँ छर्ने जस्ता मुख्य काममा मात्रै उनी सहयोग लिन्छन् ।

‘हामी काममा विश्वास गर्ने मान्छे, त्यसैले काम गरेरै मर्छौं,’ नागरिकसँग उनले भने, ‘काम गर्न सकेसम्म किन चुप लागेर बस्ने ?’ समाचार संकलनको क्रममा उनको घर पुग्दा उनी थिएनन् । विहान र बेलुकी दुईपटक पुग्दा दुवैपटक खेतमा व्यस्त थिए ।

श्रीमती लक्ष्मीसुन्दरी बकेले श्रीमानको एउटा हात नभए पनि अरुभन्दा कुनै हिसाबले कम नभएको सुनाइन् । भनिन्, ‘हात भएकोले भन्दा धेरै खेत खन्न सक्नुहुन्छ ।’

खेती किसानी नगरे खानै नपाइने भएर उनले त्यो काम गरेका भने होइनन् । उनको परिवार उच्च किसान वर्गमा पर्छ । सूर्यविनायकमै उनको राम्रो घरसमेत छ । तर पनि बच्चैदेखि गर्दै आएको खेती किसानीको काम नमरेसम्म नछोड्ने उनको भनाइ छ ।

आफूले १० वर्षको उमेरदेखि नै एउटै हातले खेत खन्दै आएको उनले सुनाए । उनी अहिले बूढाबूढी कान्छो छोरासँग बस्छन् । परिवारमा बके बूढाबूढी, कान्छो छोरा–बुहारी र एकजना नाति छ ।

 

प्रकाशित: १५ मंसिर २०७३ ०४:२० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App