सात बहिनी भगवतीमा चहल–पहल

सोमबार, ०४ कार्तिक २०७६, ११ : ०८ दिलबहादुर छत्याल

डोटीमा शैलेश्वरी, डडेल्धुरामा उग्रतारा, बाजुरामा बडिमालिका र बैतडीमा निग्लासैनी, त्रिपुरा सुन्दरी, डिलासैनी र मेलौली भगवतीका सात बहिनी हुन् । यी शक्तिस्वरुपा भगवतीका सात बहिनीका मन्दिरमा वर्षौंदेखि दसैंको ९ रातसम्म नवरात्र पूजाआराधना हुने गर्छ । त्यसै समयमा यी जिल्लामा बसोबास गर्ने तथा पहाडबाट कैलाली, कञ्चनपुर बसाइँ सरेर झरेकाहरु पनि नवरात्रमा पूजाआराधना गर्न पहाड उक्लन्छन् । यसै समयमा सुदूरपश्चिमका सातै मन्दिरमा भव्य मेला लाग्नुका साथै पूजाआजा हुने गर्छ ।   

सुदूरपश्चिममा तमामौ महत्वपूर्ण धार्मिक स्थल छन् । यीमध्येमा यहाँका ७ बहिनी भगवतीका मन्दिरको विशेष महत्व छ । देशभित्र तथा बाहिरबाट  प्रसिद्ध भगवतीका मन्दिरमा पूजाआजा गर्न आउनेहरुको भीडभाड नै लाग्ने गरेको छ । हिन्दूहरुको महान् पर्व दसैं र तिहार नजिकिँदै गर्दा यी मन्दिरमा चहल–पहल बढेको छ । आपत–विपतमा भक्तजनहरुको भरोसाका केन्द्र यिनै सात बहिनी भगवती  बन्ने गरेको स्थानीय बताउँछन् ।

भगवतीका महाशक्ति पीठ सुदूरपश्चिमका बासिन्दाले आपतविपतमा र प्रगतिका लागि सम्झने आस्थाको धरोहर भएको ज्योतिषी तथा साहित्यकार मणिराज जोशी बताउँछन् । सात बहिनी भगवतीका मन्दिरमा अलग–अलग समयमा पूजाआजा गरेर विशेष मेला लाग्ने गरे पनि दसैंका बेलामा पूजाआजा गर्न सबै मन्दिरमा भक्तजनको घुइँचो लाग्ने गर्छ । दसैंका बेला पूजाआजा गर्न टाढा–टाढाबाट भक्तजन आउने गरेका छन् । संस्कृतिविद् पदमराज जोशीका अनुसार सुदूरपश्चिम देवभूमि हो । 

शास्त्रमा उल्लेख भएअनुसारका देवीदेवता सुदूरपश्चिमका विभिन्न स्थलमा बास बसेको र त्यही स्थलमा सदियौँदेखि पूजाआजा गर्न मठ मन्दिर निर्माण गरिएको धेरै महत्वका धार्मिक स्थल रहेको उनी बताउँछन् । २०६५ सालमा कैलाली उद्योग वाणिज्य संघले पनि सुन्दर सुदूरपश्चिम अभियानअन्तर्गत सातै बहिनी भवगतीका पोष्टर प्रकाशन गरेर प्रचार–प्रसार पनि गरेको थियो । अछाममा रहेका बर्दादेवी र बझाङको सुर्मादेवी पनि यहाँका भगवतीका प्रसिद्ध मन्दिर हुन् । दसैंका बेलामा सुदूरपश्चिमका भगवती मन्दिरमा राँगा र बोकाको बलि दिने चलन छ ।

सुदूरपश्चिममा दसैं मौलिक रुपमा कुल देवता र भगवतीको पूजा गरेर मनाउने गरिन्छ । ‘देवताको पूजाआजा गरी टीका लगाएर  नै दसैं मनाउने पुरानो चलन हो,’ डा. टिएन जोशी भन्छन्,‘तर यो बेला मनोरञ्जन गर्ने, पाँच दिनसम्म टीका लगाउने र टीका लगाउन विभिन्न ठाउँ जाने हाम्रो चलन होइन ।’  पछिल्ला वर्षहरुमा पूर्वतिरबाट यो चलन भित्रिएको उनको भनाइ छ । ‘दसैंमा कुल देवता र भगवतीका मन्दिरमा पूजाआजा गर्ने हाम्रो चलन हो,’ उनले भने ।

महिसासुर दानवले देवतालाई धेरै दुःख दिएपछि देवताहरु विष्णु कहाँ प्रार्थना गर्न गए । विष्णु, ब्रह्मा, महेश्वरको शक्ति पाएर भगवती प्रकट भई रक्त बीज क्षमता भएको महिसासुर दानवलाई मारेको दिनको सम्झनामा दसैं मनाउने गरेको धार्मिक मान्यता रहेको  टीआर पाठक बताउँछन् । यसैगरी राम र रावणको ९ दिन युद्ध भएको र रामले रावणलाई मारेको दिनको रुपमा पनि दसैं मनाउने गरेको मान्यता रहेको उनी बताउँछन् ।

‘असोज र चैत महिना गरी दुईवटा दसैं मनाउने प्रचलन रही आएको छ,’ उनले भने । असोजमा मनाइने दसैं भगवतीले महिसासुर दानव मारेको खुसीमा मनाइने भएकाले  भगवती  मन्दिरमा बलि दिइने चलन रहेको उनको भनाइ छ । शास्त्रमा बलि भनेर सम्मान गर्न भन्ने अर्थमा भनिएको भए पनि निर्दोष प्राणीको बलि दिएर भगवती, देवता खुसी हुन्छन् भन्ने कुरा गलत भएको पाठक बताउँछन् । पञ्च बलि दिइनुपर्छ भनेर शास्त्रमा लेखिएको उनको भनाइ छ । ‘काग, नाग, गाई, कुकुर र कमिलालाई बलि दिइनु पर्छ भनिएको छ,’ उनले भने, ‘बलि भनेको सम्मान दिनु भनिएको हो, तसर्थ यी प्राणीलाई सम्मान दिनु भनिएको हो ।’

सुदूरपश्चिममा रहेका सात बहिनी भगवतीका मन्दिर महत्वपूर्ण धार्मिक पर्यटनका गन्तव्य भएको पर्यटन व्यवसायी कृष्ण महरा बताउँछन् । बाटोघाटो र भौतिक पूर्वाधार बनाएर प्रचार–प्रसार गरेमा भारतबाट ठूलो संख्यामा धार्मिक पर्यटक यहाँका सातवटै भगवती मन्दिरमा दर्शन गर्न आउने उनी बताउँछन् ।

‘भारतको राजधानी दिल्लीलगायत करिब आधा दर्जन ठूला शहरसँग ७/८ घण्टाको दूरीमा रहेको सुदूरपश्चिम धार्मिक पर्यटनको उर्वर क्षेत्र हो । भारतका विभिन्न ठाउँबाट यहाँका धार्मिक स्थलमा तीर्थालुहरु आउने गरेका छन् । प्रचार–प्रसार र व्यवस्थित गर्न सकेमा ठूलो संख्यामा भारतका धार्मिक पर्यटक भित्र्याएर यस क्षेत्रको मात्र नभई समग्र देशकै आर्थिक उन्नतिमा योगदान पुग्ने कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवर बताउँछन् ।  

सुदूरपश्चिममा शास्त्रमा उल्लेख गरेका र देवीदेवता बसेका धेरै महत्वका धार्मिक स्थल रहेको डा. हेमराज पन्त बताउँछन् । ‘धार्मिक स्थलमध्य सुदूरपश्चिममा रहेका ७ बहिनी भगवतीका महाशक्ती पीठ दुर्लभ सम्पत्ती हुन,’ उनले भने । बाजुरामा रहेका बडिमालिका, डोटीको शैलेश्वरी, डडेल्धुराको उग्रतारा, बैतडीका निंगलाशैनी, त्रिपुरा सुन्दरी, डिलाशैनी र मेलौलीलाई ७ बहिनी भगवती मानिएको उनले बताए ।

अछाममा रहेका बर्दादेवी र बझाङको सुर्मादेवी पनि सुदूरपश्चिममा रहेका प्रसिद्ध भगवतीका मन्दिर हुन् । १६ बहिनीमध्येमा यी भगवतीका मन्दिर पर्ने उनी बताउँछन् । ‘यी भगवतीका मन्दिर मिलाएर नवदुर्गा सुदूरपश्चिममै रहेको मान्न सकिन्छ,’ उनले भने ।     

डोटी– शैलेश्वरी मन्दिर
सात बहिनी भगवतीमध्ये शैलेश्वरी भगवतीको मन्दिर डोटीको सदरमुकाम सिलगढीमा छ । शैलेश्वरी देशकै प्रसिद्ध शक्तिपीठमध्येको एक हो । यहाँ दिनहुँजसो पूजाआजा गर्नेको घुइँचो लाग्दछ । यो  मन्दिरमा  प्रत्येक वर्ष कात्तिक शुक्ल पूणिर्माको दिनमा  मेला लाग्ने  गर्छ । त्यो मेलामा विभिन्न ठाउँबाट हजारौं  श्रद्धालु  भक्तजनहरु आउने गर्छन् । यहाँ पूजा गरे मनोकामना पूरा हुने विश्वास रहेको शैलेश्वरी क्षेत्र विकास समितिका अध्यक्ष तथा पुजारी प्रेमशंकर भट्ट बताउँछन् । दर्शनका लागि देशभरकै भक्तजन आउने गरेको उनी बताउँछन् ।

यहाँ प्रत्येक बाह्र वर्षमा कोटीहवन महायज्ञ लाग्ने गर्दछ । एक सय ४४ वर्षमा महाकोटी हवन महायज्ञ लाग्छ । महायज्ञमा देश विदेशमा रहेका  लाखौं भक्तजनहरु आउने गर्छन् ।  प्यागोडा शैलीमा निर्मित यो मन्दिर कलात्मक र आकर्षक छ । शैलेश्वरी परिसरमा अन्य सात वटा मन्दिरहरु पनि छन्  । जसमा हनुमान कुण्ड, शिव मन्दिर, गणेश मन्दिर, भैरव मन्दिर, मष्टा मन्दिर, र चण्डेश्वरी मन्दिर रहेका छन् ।

शास्त्रमा उल्लेख भएअनुसार कैलाशपति महादेव र हिमालय पुत्री पार्वतीको स्वयम्बर भएपश्चात् विहार गर्ने  सिलसिलामा वन वनावर सयर गर्दै चन्दनगिरी पर्वत अर्थात सिलगढीमा पुग्दा प्राकृतिक सौन्दर्यताले  भरिपूर्ण पर्वत थियो । अलौकिक रमणीय, हरियाली, रंगीचंगी  थरी थरीका फूलहरु, चराहरुको चिरबिरले वातावरण संगीतमय पारेको थियो ।

शिव पार्वती यसले मोहित भए र प्रणयमा रमाउन थाले । उता महादेवबाटै कसैले मार्न नसक्ने बरदान पाएका राक्षस तारकासुरले देवलोक तथा पृथ्वीलोकमा आतंक मच्चाउँदै थिए । उनको आतंकबाट पीडित ऋषिमुनि तथा देवताहरु महादेवको खोजी गर्दै चन्दनगिरी (सिलगढी) आइपुगे । त्यो बेला शिवपार्वती एकाकार भई प्रणयमा लीन थिए । सोही बेला एकाएक ऋषिमुनि तथा देउताहरु आएपछि पार्वती लाजले शिलामा लुप्त भइन् ।

त्यसपछि शिवले ऋषि तथा देवतालाई पार्वतीको प्रार्थना गर, भन्ने  ईशारा गर्दा उनीहरुले प्रार्थना गरे । प्रार्थनाबाट पार्वती प्रशन्न भई आफ्नै रुपमा प्रकट भइन् । र ऋषि तथा देवताहरुको मनोकांक्षा पूरा होस् भनी बर दिइन् । यसैपछि सो स्थानमा शिव शक्ति स्वरुपा शिवलिंग उत्पत्ति भयो । पार्वती शिलामा परिणत भएकाले जसको नाम शिलादेवी तथा शैलमा सयर गरेकोले  शैलेश्वरी रहन गयो । यसैको नामबाट सो ठाउँको नाम पनि सिलगढी रहन गएको किम्बदन्ती छ ।

बाजुरा– बडिमालिका
सात बहिनी भगवतीमध्येका बडिमालिकाको मन्दिर बाजुरामा पर्दछ । बडिमालिका प्राकृतिक सौन्दर्यले भरिएको महत्वपूर्ण धार्मिक पर्यटकीय स्थल पनि हो । १४ हजार फिटको उचाइमा यो मन्दिर रहेको छ । बडिमालिका धार्मिक तथा पर्यटकीय दुवै दृष्टिबाट चर्चित गन्तव्य हो । ५ महिना हिउँ र ४ महिना कुहिरोले ढाक्ने प्रकृतिको अनुपम उपहार जस्तै लाग्छ बडिमालिका । उक्त क्षेत्रबाट बाजुरासहित अछाम, बझाङ, डडेल्धुरा र डोटी तथा मध्यपश्चिमका कालिकोट, मुगुलगायतका जिल्लामा यो दृश्य नियाल्न सकिन्छ ।

वर्षको दुईपटक गंगा दशहरा र जनै पूर्णिमाको अघिल्लो दिन साउने चतुदर्शीका दिन भव्य मेला लाग्ने गरेको छ । गंगा दशहरा भन्दा साउने चुतदर्शीका दिन दर्शनार्थीहरुको घुइँचो बढी हुन्छ ।

त्यो समयमा सुदूरपश्चिम तथा मध्यपश्चिमका सबै जिल्ला र देशका अन्य जिल्लाबाट पनि दर्शनार्थीहरु आउने गरेको मन्दिरका पुजारी भानुभक्त पाध्यायले बताए । बाजुरा र कालिकोट जिल्लाको प्रमुख हक रहने गरेको छ । बडिमालिका क्षेत्र जिल्लाको बडिमालिका र त्रिवेणी नगरपालिकाको सिमानामा पर्ने गर्दछ । बडिमालिका त्रिवेणी नगरपालिकाको स्वामित्वमा रहेछ ।

मालिका देवीको स्वागतका लागि बाजुरालगायत कालीकोट, डोटी, हुम्ला र जुम्ला जिल्लाबाट सयुक्त टाँगो (पूजापाठमा आवश्यक पर्ने सामग्री) सहितको टोली आउने गरेको छ । यो क्षेत्रमा २२ वटा हरियाली फाँटहरु, दुई सय जति प्रजातिका रँगीचँगी, फूलहरु १ सय बढी जातिका बहुमूल्य जडिबुटी, आश्चर्यजनक पौराणिक स्थलहरु, हरियाफाँटहरुको बीचबाट बग्ने आकर्षक नदीहरुको संगम स्थल त्रिवेणी क्षेत्र प्रमुख आकर्षण हुन् ।

गंगा दशहरामा तत्कालीन राजपरिवारको सदस्यले हेलिकोप्टर लिएर जाने गरेका थिए । बडिमालिका दर्शनका लागि तत्कालीन राजा वीरेन्द्र, महेन्द्रलगायत पुगेका पुजारी भानुभक्त पाध्याय बताउँछन् । हाल पनि नेपाली सेनाका कर्णेल तहको अधिकारीले पूजा गर्ने गरेका छन् । यहाँ विभिन्न ठाउँबाट आउने भक्तजनको धार्मिक आस्थाको धरोहरको पूजा पाठसँगै सम्म परेका पाटन र अन्य मनोमोहक दृश्यको अवलोकन गर्नु प्रमुख लक्ष्य हुने गरेको छ ।

बडिमालिका क्षेत्रमा हरियाली फाँटमा भेंडा र घोडा खच्चडका बथानहरु वर्षादका चार महिनासम्म देख्न सकिन्छ । लोपोन्मुख प्रजातिका वन्यजन्तु तथा पशु पक्षीहरु (डाँफे, मुनाल, कस्तुरी, झारल आदि) पनि भेटिन्छन् ।

पौराणिक समयमा राक्षस र भगवतीबीच लडाइँ हुँदा बगेको रगतको अवशेष र राक्षसहरुलाई भगाएको भनेर मान्यता राखिएको स्थान यहाँ छ । यो दृश्य नियाल्न भारतको काशी, उत्तराञ्चलका विभिन्न क्षेत्रबाट आउने गरेका छन् । खेतीवेती भन्ने स्थानमा धान रोप्नका लागि बनाएका गरा, धानको बीउ खेत जस्ताको तस्तै देखिने आश्चर्यजनक दृश्यले पनि दर्शनार्थीको मन लोभ्याउने गरेको छ ।

निःसन्तानीलाई सन्तान, गरिबलाई धनलगायत मागेको वर पाइन्छ भन्ने धार्मिक विश्वास छ । यही आकांक्षा लिएर वर्षेनी ५० हजारले दर्शन गर्ने गरेका छन् । बडिमालिका क्षेत्रमा बाजुराको सदरमुकाम मार्तडीबाट तीन दिन पैदलमा पुग्ने गरिन्छ । भौतिक संरचनाको अभावमा बीचमा भैंसी गोठ र पाल टाँगेर बस्नुपर्ने बाध्यता छ । त्रिवेणीमा पितृकार्य पनि गरिन्छ ।

सो ठाउँमा कालीकोट र बाजुराले धर्मशाला निर्माण गरे पनि त्यो मासलाई धान्न सक्ने छैन । दर्शनार्थीको आवास र बसोबासका लागि कुनै व्यवस्था गरिएको छैन । २०६८र६९ को आर्थिक वर्षको वार्षिक बजेटमा बडिमालिका संरक्षित क्षेत्र घोषणा गरे तापनि आवश्यक पहल अझै सुरु भएको छैन ।

बैतडी–त्रिपुरा सुन्दरी
जिल्ला सदरमुकाम नजिकै रहेको यो मन्दिर बैतडीको प्रसिद्ध धार्मिकस्थलको रुपमा रहेको छ । जिल्ला सदरमुकामबाट करिब तीन किलोमिटर पश्चिमतर्फ गोठालापानी–झुलाघाट सडक खण्डको छेउमा रहेको उक्त मन्दिर रणशैनी भगवतीको नामले समेत चिनिन्छ ।

असार शुक्ल नवमीको दिन हरेक वर्ष उक्त मन्दिरमा मेला लाग्ने गर्दछ । यस्तै साउन अथवा भदौमा रक्षा बन्धनका दिन ‘वोकाल’(मेला) र कात्तिक शुक्ल नवमीका दिन कात्तिक जाँत (मेला) लाग्ने गर्दछ । यस्तै असोज र चैतको नवरात्रिमा प्रतिपदादेखि दशमीसम्म नियमित पूजा गरिन्छ । यो बाहेक प्रत्येक संक्रान्ति र पूर्णिमाको भगवतीको विधिपूर्वक पूजा अर्चना गरिन्छ । भक्तजनले माताको पुण्य चउर र पवित्र मन्दिरको दर्शन चोखो भइ चोखो मनले जुनकुनै बेला पनि गर्न पाउँछन् ।

यहाँ लाग्ने मेलामा बैतडीसँगै भारतको उत्तराखण्ड क्षेत्रबाट समेत उल्लेख्य मात्रामा भक्तजनहरु मन्दिरमा आउने गरेका छन् । शक्तिवर्धनी भगवतीको दर्शन गर्नाले भक्तजनको मनोकामना पूरा गर्ने, घमण्डी र दुष्टको मानमर्दन गर्ने तथा गरिबको कल्याण गर्ने मान्यता रहेकाले टाढाटाढावाट भक्तजन आउने गरेका छन् ।
 
बैतडी– मेलौली भगवती  
सात बहिनी भगवती शक्ति पीठमध्ये मैलौली भगवतीको मन्दिर पनि बैतडीमा छ । मेलौली नगरपालिकाको मुख्य केन्द्रमा रहेको यो मन्दिरमा पूजाआजा गर्ने हजाराैं पुग्ने गर्छन् । पछिल्लो समय सडक पुगेपछि भक्तजनलाई सजिलो भएको छ । प्रसिद्ध शक्तिपीठका रुपमा मानिएको मेलौली भगवतीको मुख्य पूजा र जात्रा प्रत्येक वर्ष कात्र्तिक शुक्ल चतुर्दशी र पूर्णिमाका दिन हुने गर्दछ ।

उक्त अवसरमा यहाँ करिब दुई सयदेखि पाँचसयसम्म ठूला राँगा र सोही संख्यामा बोकाको बलि दिइने गरिन्छ । लगभग चार दिनसम्म रहने जात्रा (जाँत) मा करोडाैंको व्यापार हुन्छ । नेजा, ध्वजा, भाना, भोक्कर, झाँजलगायत दाइन–दमाहाको बाजा–गाजासहित श्वेत फेटा र बागो लगाई सुन चाँदीको गहनामा सुशोभित हातमा चामर लिएर मेलैली र उदयदेवका धामीहरुले दशौं व्यक्तिहरुले बोक्ने चक्डोलमा सवार भइ पूर्णिमाको बिहान सूर्योदयको मुहूर्तमा लगभग एक घण्टासम्म काँप्ने गरेकोे अनुपम दृश्यले दर्शकहरुलाई मन्त्रमुग्ध तुल्याउँछ ।

यो अवसरलाई धामी काँप्ने, डेउडा खेल्ने, आफन्त तथा इष्टमित्रहरुसँग भेटघाट हुने अवसरका रूपमा पनि लिने गरिन्छ । मन्दिर परिसरको मध्येमा रहेको २५ मिटरभन्दा बढी उचाइ भएको फलामे पिङ जसलाई स्थानीय भाषामा ‘हिंगलो’ भन्दछन् । यसका अलावा यस मन्दिरमा चैते नवरात्र र असोजका नवरात्रमा पनि नित्य पाठपूजा र बलि चढाइने गरिन्छ । श्रावण र भाद्र महिनामा पर्ने सुदूरपश्चिमको प्रसिद्ध चाड गौरापर्वमा समेत यहाँ ठूलो मेला लाग्ने गर्दछ । 

गौरापर्वमा स्थानीय देवी–देवता, वीरपुरुषहरु, भगवती, कौरव, पाण्डव तथा रामका कथाहरु ढोल र मजुरा बजाई ठाडो खेलको रुपमा युवा–युवतीहरु तथा वृद्धहरु ठूलो श्रद्धाका साथ खेल्ने गर्दछन् । यी जात्राहरुमा महिलाले लगाउने पुरानो समयको पहिरन अंग्रेज कालका चाँदीका भिक्टोरियन कम्पनीमाला, झुमझुमी बाला, नथु, मुदडा, कन्नी पैडा, आङ्गडो, घाँगरो, पिछौडा, गामन इत्यादि आफ्नो पारम्परिक पोसाकहरुका साथ सुसज्जित महिलाको समूह अत्यन्तै रोचक र मनमोहक लाग्ने गर्दछ । तर, नयाँ पिढीका युवा र युवतीले पाश्चात्य शैलीको अनुकरण गर्दा यो पहिरन अब पूर्णरुपले लोपोन्मुख अवस्थामा रहेको छ ।

प्राकृतिक, धार्मिक, सांस्कृतिक, राजनीतिक, शैक्षिक तथा हरेक दृष्टिकोणबाट उल्लेखनीय रहेको छ । यसको अवस्थिति बैतडी पाटन न.पा.बाट दक्षिण पश्चिममा करिब ३३ किमिको दूरीमा छ । पुरानो क्षेत्र विभाजनको आधारमा मेलौली तल्लो स्वराडको मध्य क्षेत्रमा बैतडी सदरमुकामबाट १२ कोश पर्दछ । यस मन्दिर परिसरको जग्गाको क्षेत्रफल एक सय ३४ रोपनी छ । विशाल दुवाचौरमा आकर्षक शिखरशैली भित्रपर्ने प्यागोडा शैलीको मन्दिर निर्माण गरिएको छ ।

यो मन्दिर समुद्री सतहबाट लगभग एक हजार सात सय मिटरको उचाइमा अवस्थित छ । बैतडी जिल्लामा यतिको उचाइमा सम्म परेको दुबोचौरले भरिपूर्ण एक मात्र स्थल यही मेलौली मन्दिर परिसर मात्रै हो । यहाँको हावापानी बाह्रै महिना समशीतोष्ण रहन्छ । इतिहासमा विभिन्न राज्यहरुको आरोह–अवरोहसँगै यस मन्दिरको पुनर्निर्माण कार्य पनि हुदैं आइरहेको पाइन्छ ।

डडेल्धुरा– उग्रतारा मन्दिर
अमरगढी नगरपालिका वडा नम्बर ७ र ८ को सिमानामा दशरथ चन्द राजमार्गसँग जोडिएको डाँडोमा कलात्मक शैलीमा बनाइएको महाशक्ति पीठ उग्रतारा मन्दिर छ । यो डडेल्धुरा सदरमुकामबाट ४ किलोमिटर दूरीमा पर्छ । सुदूरपश्चिमको प्रसिद्ध शक्तिपीठ डडेल्धुराको उग्रतारा भगवती मन्दिरमा हरेक वर्ष कात्तिक शुक्ल पूर्णिमाको रातमा र दोस्रो दिन पूजाआजा गर्ने गरिन्छ । खनमडा, छचोडा, दुमडा र जिलोडा चारवटा गाउँबाट बिहान ‘देउरो’ आएपछि दिउँसो मेला सुरु हुने पण्डित लोकराज भट्ट बताउँछन् ।

यहाँ ‘देहीजाँत’ का नामले ठूलो मेला लाग्छ । सुदूरपश्चिमका विभिन्न जिल्लालगायतका ठाउँबाट सहभागी मेलामा सहभागी हुने गर्छन् ।  उग्रतारा भगवती मेलामा यस क्षेत्रमै सबैभन्दा ठूलो मेला लाग्दछ । बिहान चार बजे धार्मिक परम्परागत रुपमा दाइना दमाह, रुईसिंग, विकुल, भोकर, शंक, घण्ट बाजागाजाका साथ चारवटै गाउँबाट माता भगवतीको डोलीसहित देउरो उग्रतारा मन्दिरमा पगेसँगै भगवती माताको पूजा सुरु हुने गरेको उनी बताउँछन् ।  

किम्बदन्तीअनुसार २५ सय वर्ष पहिला हालको अमरगढी नगरपालिका लटाउली बस्ने साँकी जातिका स्थानीयले हलो जोत्दा हलोको फाली लागेर सेतो ढुंगा डाँसीबाट रगत बगेपछि देवी उत्पन्न भएर दर्शन दिएको र त्यस दिनदेखि महागौरी दुर्गा र कालीको स्वरुपमा उग्रतारा भगवतीको पूजा गरिँदै आएको मान्यता रहेको उनी बताउँछन् । उग्रतारा मन्दिरमा दसैंको अष्टमीको दिन राँगाको बलि दिइने गरेको छ ।  
 
बैतडी–डिलाशैनी भगवती
डिलाशैनी भगवतीको मन्दिर पनि बैतडीमा रहेको छ । पुर्चौडी नगरपालिका–१० तल्लादेही र मल्लादेहीमा अवस्थित छन् । दसैंका अवसरमा यो मन्दिरमा भव्य मेला लाग्ने गरेको छ । मन्दिर दर्शनका लागि हजारौं सर्वसाधारण आउने गरेका छन् भने मन्दिरमा राँगा बोकाको बलि दिने गरिन्छ ।  तल्लादेही भगवतीको देवल वि.सं. १२०३ मा बनेको भन्ने शिलालेख रहेको छ ।  डिलाशैनी भगवती मन्दिर परापूर्व कालदेखि नै यसको महत्व अलगै छ । सडक यातायात नहुँदा प्रचारप्रचार हुन नसकेको स्थानीय बताउँछन् ।

भारतसँग सीमा जोडिएको यो क्षेत्रमा पूजापाठका लागि हजारांै भारतीय नागरिक आउने गरेका छन् । उचित बासका लागि होटल तथा अन्य भौतिक सुविधा नहुँदा मेलामा आएका भक्तजन एक दिनमै फर्कने गरेका छन । कम्तीमा उनीहरुलाई दुईचार दिन यहाँ बस्ने वातारण भए यहाँका व्यापारीले फाइदा पुग्ने उद्योग वाणिज्य संघ बैतडीका अध्यक्ष नरबहादुर चन्दले बताए ।

पछिल्लो समय जिल्लामा स्तरीय होटल खुले पनि मन्दिर दर्शन र मेलामा आएका सीमावर्ती भारतीय नागरिकलाई भित्र्याउन नसकिएको होटल व्यवसायी जनकराज जोशी बताउँछन् । धार्मिक पर्यटनको सम्भावनाको प्रचुर सम्भावना भए पनि यहाँका स्थानीयले फाइदा लिन सकेका छैनन् । उद्योग वाणिज्य संघका अध्यक्ष चन्द भन्छन्, ‘सीमापारि यस्तो समुदाय छ, जुन बैतडीका धार्मिकस्थलको दर्शन गर्न लालायित छ, आफ्नै गाडी लिएर सपरिवार दुई चार दिन बस्न चाहना राख्छन् तर सीमा नाकामा पुल नहुँदा आउन सकेका छैनन ।’

सीमा बजार झुलाघाटमा गाडी राखेर नेपालतिरको झुलाघाटबाट जीप चढेर आउनुपर्ने बाध्यता छ । भारतको कुमाउ गढवालबाट समेत आउने गरेका छन् ।

बैतडी– निग्लाशैनी  
यो भगवती मन्दिर पनि बैतडीमै  छ । दशरथरचन्द राजमार्गमै पर्ने यो मन्दिर दशरथचन्द नगरपालिका–२, देहीमाण्डौमा अवस्थित छ । यो मन्दिरमा दसैंको अष्टमी, चैतेदसैंमा राँगा, बोकाको बलि दिने चलन छ ।

मन्दिरमा वर्षेनी सयाैं राँगा, बोकाको बलि दिने गरिन्छ । निग्लाशैनी मन्दिरमा वर्ष दिनमा ८४ दिन विशेष पूजा लाग्ने गरेको मन्दिरका भण्डारी चक्रबहादुर बोहराले बताए । वर्षको सुरुमा अनन्त चतुर्दशी, असोजको महाष्टमी, मंसिर शुक्ल पूिर्णमा धान्य पूर्णिमा र चैत्राष्टमीका दिन विशेष पूजा लाग्ने गरेको छ । निंग्लाशैनी भगवती मन्दिरमा बैतडीलगायत दार्चुला, डडेल्धुरा, बझाङ र सीमावर्ती भारतको पिथौरागढलगायतका क्षेत्रबाट दर्शनार्थीहरु आउने गरेका छन् ।

निगालोका झाङमा उत्पत्ति भएकाले निग्लाशैनी नाम रहेको निग्लाशैनी धार्मिक सेवा समितिका अध्यक्ष मानबहादुर बोहराले बताए ।





यसमा तपाईको मत

अन्य समाचार

मोटरसाइकलको हेरचाह कसरी गर्ने ?

मोटरसाइकलको हेरचाह कसरी गर्ने ?

मोटरसाइकलको हेरचाह गर्ने तरिका ! ...

इन्डक्सन कि ग्यास - उचित कुन ?

इन्डक्सन कि ग्यास - उचित कुन ?

इन्डक्सन कि ग्यास - उचित कुन ? ...

स्मार्टफोनमा ९ दिनसम्म बस्छ कोरोनाभाइरस - यसरी सफा गर्नुहोस् !

स्मार्टफोनमा ९ दिनसम्म बस्छ कोरोनाभाइरस - यसरी सफा गर्नुहोस् !

स्मार्टफोन डिस्प्लेलाई भाइरस र किटाणु मुक्त बनाउनुहोस् ! ...

सबैभन्दा फास्ट ल्यापटप प्रोसेसर - AMD Ryzen 9

सबैभन्दा फास्ट ल्यापटप प्रोसेसर - AMD Ryzen 9

प्रोसेसरको दौडमा Intel झन् धेरै पछि पर्दै - AMD ले ल्यापटपमा पनि जित्यो ! ...

5G भएको बजेट स्मार्टफोन

5G भएको बजेट स्मार्टफोन

साओमीले हालै साओमी मि १० सिरिजका नयाँ स्मार्टफोनहरू सार्वजनिक गरेको छ ...

फेसबुकमा एउटै मेसेज यति पटकभन्दा धेरै सेयर र फरवार्ड गर्न नमिल्ने !

फेसबुकमा एउटै मेसेज यति पटकभन्दा धेरै सेयर र फरवार्ड गर्न नमिल्ने !

निकट भविष्यमा यो फिचर फेसबुकको मेसेन्जरमा आउने भएको छ ! ...

स्मार्टफोनको मागमा इतिहास कै सबैभन्दा ठूलो गिरावट

स्मार्टफोनको मागमा इतिहास कै सबैभन्दा ठूलो गिरावट

कोरोनाभाइरसका कारणले स्मार्टफोन बजारमा इतिहास कै सबैभन्दा ठूलो गिरावट आएको छ ...

२० हजार मुनिका उत्कृष्ट एन्ड्रोइड स्मार्टफोनहरू

२० हजार मुनिका उत्कृष्ट एन्ड्रोइड स्मार्टफोनहरू

नेपाली बजारमा उपलब्ध भएका र लगभग २० हजारमा पाइने केही स्मार्टफोनबारे तल चर्चा गरिएको छ ...

Ncell Footer Ad