coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

स्याङ्जामा साढे ४६ करोडको सुन्तला

स्याङ्जा- जिल्लाको पुतलीबजार नगरपालिका–१२, राङखोलाका मुक्ति अधिकारीले सुन्तला बेचेर वार्षिक करिब १८ लाख रुपैयाँ आम्दानी गर्छन्।

वैदेशिक रोजगारबाट केही वर्षअघि फर्किएका अधिकारीले सुन्तला खेतीलाई प्रमुख पेसा बनाएका छन्। ‘वर्षैपिच्छे सुन्तलाका बिरुवा रोप्दै आएको छु,’ उनले भने, ‘सुन्तला खेतीलाई व्यावसायिक रुपमा अघि बढाएको छु।’ चार हेक्टरमा लगाएको सुन्तलाबाट वार्षिक करिब ५० टन उत्पादन हुन्छ । उनले यो वर्ष पनि करिब २ सय नयाँ सुन्तलाका बिरुवा रोपेका छन्।

अधिकारीमात्र होइन यो ठाउँका सबैको मुख्य पेसा सुन्तला खेती हो ।स्थानीय रामबन्धु अर्यालले सुन्तला बेचेर करिब आठ लाख रुपैयाँ आम्दानी गर्छन् । सुन्तलाबाट मनग्य आम्दानी भएपछि उनले यो वर्षमात्र करिब ६ सय नयाँ सुन्तलाका बिरुवा रोपेका छन् । ‘१२ सयमध्ये ६ सयले उत्पादन दिन थालेको छ,’ उनले भने, ‘हरेक वर्ष उत्पादन बढ्दै गएको छ। ’

यहाँका किसानले न्यूनतम एक लाखदेखि १८ लाख रुपैयाँसम्म सुन्तला बेचेर आम्दानी गर्ने गरेका छन् । केही युवाले वैदेशिक रोजगारी छाडेर सुन्तला खेती सुरु गरेका छन् । ‘विदेशबाट फर्किएका युवाले गाउँमै व्यावसायिक सुन्तला खेती गर्न थालेका छौं,’ शीतल कृषक समूहका अध्यक्ष समेत रहेका अधिकारीले भने, ‘यसले गाउँमै रोजगारी सिर्जना गर्न टेवा पुगेको छ ।’

स्याङ्जामा सुन्तला खेतीको लहरै चलेको छ । सुन्तला खेतीसँगै यो वर्ष उत्पादन समेत बढेको छ । यो वर्ष करिब ४६ करोड ५९ लाख रुपैयाँको सुन्तला उत्पादन भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । करिब ११ हजार ६ सय ४८ मेट्रिक टन उत्पादन भएको कार्यालयले जनाएको छ । अघिल्लो वर्ष करिब १० हजार ८ सय ८६ टन सुन्तला फलेको थियो ।

करिब साढे ६ करोड रुपैयाँको सुन्तला घरायसी प्रयोजनमा खपत हुन्छ । बाँकी ४० करोडको बिक्री हुने जिल्ला सुन्तला उत्पादक संघ, स्याङ्जाका अध्यक्ष फनिनारायण अर्यालले बताए । सुन्तला न्यूनतम ३० देखि ५० रुपैयाँ किलोमा बिक्री हुन्छ । अहिले सुन्तलाको सिजन भएकोले केही किसानले बेच्न सुरु गरेका छन् ।

सुन्तला किन्न काठमाडौं, पोखरा, बुटवल, चितवनलगायत बजारका व्यापारी आउँछन् । उनीहरुले बोटबाटै टिपेर लैजाने भएकाले किसानलाई सजिलो भएको छ । सिद्धार्थ राजमार्ग आसपास सुन्तला खेती गर्ने भएकाले किसानलाई ढुवानी गरेर मूल सडकसम्म ल्याउन सजिलो छ । सुन्तला खेतीले किसानको जीविकोपार्जनमा टेवा पुगेको छ । त्यसबाट आएको आम्दानीबाट घरखर्च, बालबच्चाको पढाइ सहित काठमाडौं, चितवन, बुटवल लगायतसहरी क्षेत्रमा घरजग्गा समेत जोडेका छन् ।

अघिल्लो वर्षको तुलनामा करिब ७ प्रतिशत उत्पादन बढ्ने अनुमान छ । सुन्तलाको लागि उपयुक्त मौसम तथा रोगव्याधी र प्रकोप कम हुुँदा सुन्तला धेरै फलेको बागवानी विकास अधिकृत महाप्रसाद पौडेलले बताए । ‘हरेक वर्ष उत्पादनको क्षेत्रफल पनि बढ्दैछ,’ उनले भने, ‘उत्पादकत्व पनि बढिरहेको छ ।’

यहाँ सुन्तलाको लागि हावापानी, माटो उपयुक्त भएकाले सरकारी तहबाट पनि सुन्तला खेती कार्यक्रमलाई प्रोत्साहन गरिएको छ । सुन्तला खेती गर्ने किसानलाई नर्सरी, बिरुवा, रोगकिराको उपचारलगायतमा अनुदानसहित प्राविधिक सहयोग उपलब्ध गराइएको छ । किसानले एक हजार नौ सय ४३ हेक्टरमा सुन्तला खेती गरेकोमा एक हजार तीन सय ६७ हेक्टरमा उत्पादन सुरु भएको छ ।

पुतलीबजार, गल्याङ र वालिङ नगरपालिका, अर्जुनचौपारी, बराहकोट, दहथुम, फापरथुम, खिलुन, मनकामना, पीडिखोला, पेलाकोट, सेतीदोभान, फेदीखोला, पेलाकोट, ठूलाडिही, बानथोक, बिचारीचौतारा, बिरुवाअर्चले, चिलाउनेबास, जगतभञ्ज्याङ, कालिकाकोट, किचनास, माझकोट, ओरस्टे, पौवैगौडे लगायत गाविसमा व्यावसायिक सुन्तला खेती गरिएको छ । पछिल्लो समय आमनदेवी, भाटखोला, कोल्मा, आरुखर्क, शेखाम लगायत गाविसमा पनि खेती विस्तार भएको छ । कृषि विकास कार्यालयले जिल्लामा सुन्तलाका १० पकेट क्षेत्र बनाएको छ ।

यहाँ उत्पादित सुन्तलालाई बेमौसममा बिक्री गर्न पुतलीबजामा १८ करोड रुपैयाँको लागतमा कोल्डस्टोर निर्माण गर्न लागिएको छ । निर्माण सम्पन्न भएपछि यस क्षेत्रका किसानले मंसिरमा टिपेको सुन्तला बेमौसममा बेचेर राम्रो आम्दानी लिन सक्छन् । बेमौसममा बिक्री गर्दा अहिलेको मूल्यभन्दा धेरैमा किसानले बेच्न सक्छन् ।

यस क्षेत्रमा सुन्तला खेती फस्टाउँदै गएकाले सरकारले राष्ट्रिय सुन्तला विकास कार्यक्रममार्फत आवश्यक सहयोग गर्दै आएको छ । उपयुक्त बिरुवाका लागि नर्सरी स्थापना, सुन्तलामा देखिएको डिक्लाइन समस्या समाधानको लागि प्राविधिक सहयोग गरेको छ । त्यसैगरी सुन्तलाको जात सुदृढीकरण गर्ने जनाएको छ।

 

 

प्रकाशित: १५ मंसिर २०७३ ०४:०२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App