७ वैशाख २०८१ शुक्रबार
समाज

‘साइड क्लियर’ नहुँदा विस्तारमा अलमल, धुलोले व्यापारी र सर्वसाधारण मारमा

इटहरी - चीन र भारतसँगको सोझो लिंकको रूपमा विस्तार भइरहेकोे विराटनगर–धरान सडकखण्डअन्तर्गत इटहरी बजार क्षेत्रमा काम रोकिएको छीको मुख्य गोलचोकदेखि दक्षिणतर्फ साथी पेट्रोल पम्प र उत्तरतर्फ सेनाको मुख्यालयसम्म एक किलोमिटर खण्डमा सडक विस्तार रोकिएको हो। यो सडक ठेक्का लागेर काम प्रारम्भ भए पनि ठेकेदार कम्पनीले ‘साइड क्लियर’ नभएको कारण जनाउँदै काम रोकेका छन्।

व्यापारिक मार्ग विस्तार आयोजनाअन्तर्गत कोसी राजमार्गको ४९ किलोमिटर सडकमध्ये विराटनगरको रानीबाट इटहरीको तरहरासम्म निर्माणाधीन छ। कतिपय स्थानमा भने सडक निर्माण पूरा भइसकेको छ। ‘साइड क्लियर हुने सुनिश्चितता भए दुवैतर्फ नाला बन्ने हुँदा अहिले भने ठेकेदार कम्पनीले त्यही निहुँमा काम अघि बढाएका छैनन्,’ छ लेन सडक विस्तार आयोजनाका प्रमुख बद्रीप्रसाद शर्माले भने।

४९ किलोमिटर सडकमध्ये अहिले ३४ किलोमिटर क्षेत्रमा काम भइरहेको छ। तर इटहरी बजार क्षेत्रमा भने सडकले आफ्नो क्षेत्राधिकारभित्रको जग्गा प्राप्त गरेमा मात्र दुवैतर्फ नाला बनाउन सहज हुनेछ। ‘यदि नाला नबनाइकन सडक कालोपत्रे गर्दा त्यो बिग्रन्छ,’ आयोजना प्रमुख शर्माले नागरिकसँग भने, ‘इटहरीको मुख्य बजार क्षेत्रबाट उत्तरतर्फ सेनाको मुख्यालयसम्म सडकको क्षेत्राधिकार अनुसार २५–२५ मिटर र दक्षिणतर्फ १५–१५ मिटर जग्गा आवश्यक पर्छ।’
इटहरी बजार उत्तरदेखि तरहरासम्म सडक विस्तार गर्दा सडकको सेन्टरबाट दुवैतिर २५–२५ मिटर बिस्तार गरिएको छ। यहाँमात्र छ लेनको पूर्ण मापदण्ड अनुसार काम भइरहेको छ। अन्यत्र भने सुरुवातमा तयार गरिएको डिपिआर परिवर्तन गरी सेन्टरबाट दुवैतिर १५–१५ मिटर विस्तार गर्न लागिएको हो। तर अहिलेसम्म त्यसलाई क्लियर गर्ने सवालमा टुंगो लागेको छैन।

प्रदेश एकका मुख्यमन्त्रीसँगको भेलामा इटहरी उपमहानगरपालिकाका नगरप्रमुखबाट ६ लेन आयोजना आफैंले रिक्स लिएर अघि बढ्न सुझाव आयो।

इटहरी बजार क्षेत्रमा सडक विस्तार गर्नका लागि स्थानीय सरकार र प्रदेश सरकारसँग थुप्रैपटक ध्यानाकर्षण गराइसकिएको सडक विस्तार आयोजनाले जनाएको छ। ‘प्रदेश एकका मुख्यमन्त्री (शेरधन राई) सँगको भेलामा इटहरी उपमहानगरपालिकाका मेयर साब (द्वारिकलाल चौधरी) बाट ६ लेन आयोजना आफैंले रिक्स लिएर अघि बढ्न सुझाव आयो,’ आयोजना प्रमुख शर्मा भन्छन्, ‘अब अन्तिम पटक कात्तिक १७ गते सरोकारवालाको बैठक डाकेर जे निर्णय हुन्छ, त्यही अनुसार अघि बढिनेछ।’ उनका अनुसार सडकको साइड क्लियर गर्न इटहरीको ४, ६ र ९ वडाका जनप्रतिनिधिसँग बसेर टुंगो लगाउने गरी अनौपचारिक कुराकानी भने भइरहेको छ।

यसबेला इटहरी बजार क्षेत्रमा सडक विस्तारको काम रोकिएको मात्र छैन भएको सडकमा सयौं खाल्डाखुल्डी परेर जनजीवन प्रभावित समेत भएको छ। खाल्डाखुल्डी भएको स्थानमा माटो हालेकाले धुलोका कारण जनस्वास्थ्य तथा दुर्घटनाको समस्या पनि उत्तिकै उच्च बनेको छ। बजार क्षेत्रमा यसरी धुलोले गर्दा सबैभन्दा बढी मार व्यापारीले खेप्नुपरेको उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष भीम पौडेलले बताए। ‘बिहानदेखि साँझसम्म धुलोले गर्दा व्यापारीको सामान एकदिनमै काम नलाग्ने अवस्थामा पुग्छ,’ उनले भने, ‘समस्या सुल्झाएर तत्काल सडक विस्तार थालियोस् र धुलो हुन नदिन कम्तीमा दिनमा चारपटक पानी हाल्ने व्यवस्था मिलाइयोस्।’

सडक विस्तार गर्ने ठेकेदार कम्पनीले खाल्डाखुल्डी भएको सडकमा सुखा गिट्टी हाल्नुपर्ने स्थानमा बढी मात्रमा माटो हालेका कारणले गर्दा बढी नै धुलो भएको ६ नम्बर वडाअध्यक्ष दिपक गौतमले बताए। छ लेन सडक विस्तार आयोजनाले धुलो हटाउन ठेकेदारमार्फत दिनमा तीन–चारपटक पानी हाल्ने व्यवस्था नमिलाए भयावह स्थिति सिर्जना हुने उनले बताए। सडकको धुलोले गर्दा रुघाखोकी दम, रुघाखोकीलगायत क्यान्सरको समस्या हुने गरेको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका चिकित्सक विकास साहले बताए।

यसैबीच, धुलोले जनजीवनमा गम्भीर समस्या सिर्जना भएको जनाउँदै स्थानीयले आइतबार इटहरी चोकमा आधा घण्टा चक्काजामसमेत गरे। छ लेन सडक विस्तार आयोजनालाई पटकपटक ध्यानाकर्षण गराउँदा पनि अटेर गरेपछि चक्काजाम गरिएको स्थानीयले बताए।

२०६९÷०७० बाट सुरु भएर सात वर्षभित्रमा सडक बिस्तार गर्ने लक्ष्य राखिएको यो आयोजना कहिलेसम्म टुंगिने अझै यकिन हुन सकेको छैन। पुरै सडक निर्माण गर्दा सुरुवातमा १० अर्ब ९८ करोड लागत अनुमान गरिएकोमा अहिलेसम्म निर्माणधीन सडक सात अर्ब ५३ करोड १० लाखमा ठेक्का लागेको छ। विराटनगर–इटहरी सडक खण्डको दुहवी बजार क्षेत्रमा दुई किलोमिटर ठेक्का लाग्न नै बाँकी छ। इटहरीको तरहरादेखि धरानसम्म १५ किलोमिटर सडक पनि कहिले ठेक्का लाग्ने टुंगो लागिसकेको छैन। यो क्षेत्रमा जंगल रहेकाले रुख कटान गर्नुपर्ने हुँदा ठेक्का लाग्न बाँकी रहेको हो।

दुहवीमा सरकारले २०५४ सालमै ६ सय ३० मिटर क्षेत्रलाई बिल्ट–अप क्षेत्रको रूपमा कायम गर्न निर्णय गरेको थियो। २०५४ चैत ३ गते राजपत्रमा प्रकाशित सूचनाअुनसार दुहवी बजार क्षेत्रमा सीमा सडकको केन्द्र रेखादेखि दायाँबायाँ दुवैतर्फ २७–२७ फिट मात्र कायम गरिएको थियो, जसले गर्दा हालको सडक विस्तारमा समस्या देखिएको छ।

प्रकाशित: ४ कार्तिक २०७६ ०१:५८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App