५ वैशाख २०८१ बुधबार
खेल

वुमन्स च्याम्पियन्स लिग : चितवन अपराजित रहँदै फाइनलमा

काठमाडौं – अपराजित यात्रालाई आइतबार पनि निरन्तरता दिएको चितवन राइनोज राजधानीमा जारी वुमन्स च्याम्पियन्स लिग (डब्लुसिएल) को फाइनलमा प्रवेश गरेको छ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय मैदानमा आइतबार विराटनगर टाइटन्सलाई ५३ रनले पराजित गर्दै चितवनले शीर्ष स्थानमा रहेर फाइनल यात्रा तय गरेको हो। १ सय २३ रनको लक्ष्यसहित जबाफी ब्याटिङ गरेको विराटनगर १७ ओभर ५ बलमा अलआउट हुँदै ६९ रनमा समेटिँदा चितवन सोझै फाइनलमा पुगेको हो। ओपनर ज्योति पाण्डे र डोली भट्टले समान २१ रन जोड्नुबाहेक अन्य ब्याट्सवुमनले राम्रो खेल्न सकेनन्। विराटनगरको इनिङ्सलाई रोक्न कविता गौतमले सर्वाधिक ३ विकेत हात पार्दा सुमन खतिवडाले २ तथा रेखा रावल, सरस्वती चौधरी र रितु कनौजियाले समान १ विकेट आफ्नो नाममा लेखाए। लगातारको जितसँगै अपराजित चितवनले ४ खेलमा स्पष्ट जित निकाल्दै तालिकामा ८ अंक जोडेको छ। पराजित विराटनगर पनि तेस्रो स्थानमा रहँदै प्ले अफ पुगेको छ। विराटनगरको ४ खेलमा ४ अंक छ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय २२ रन  जोड्न सफल भएको थियो। चितवनका लागि ओपनरद्वय काजल श्रेष्ठले ३६ कञ्चन श्रेष्ठले ३४ रनको योगदान गरेका थिए। कप्तान इन्दु बर्माले अविजित १७ रन जोड्दा सुमन खतिवडाले व्यक्तिगत १० रन जोडेकी थिइन्। यस्तै अन्य व्याट्सवुमनले भने दोहोरो अंक छुन सकेनन्।

यस्तै लिगअन्तर्गत आइतबारै सम्पन्न अर्को खेलमा क्याट क्विन्स काठमाडौंले ललितपुर फाल्कोन्सलाई ८ विकेटले पराजित गर्दै प्ले अफमा स्थान बनाएको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा ललितपुरले दिएको १ सय ६ रनको सामान्य लक्ष्य काठमाडौंले १७ ओभर २ बलमा मात्र २ विकेट गुमाएर पूरा गर्दा प्ले अफको यात्रा निश्चित भएको हो। काठमाडौंका लागि कप्तान रुबिना क्षत्रीले अविजित रहँदै ५९ रन बनाइन्। उनले ५२ बलमा ९ चौका र १ छक्का प्रहार गरेकी थिइन्। उनको यो जारी प्रतियोगितामा दोस्रो अर्धशतक हो। राम्रो लयमा रहेको काठमाडौंका लागि रोमा थापाले १८ रन जोड्दा रश्मि चौलागार्इंले ९ र अप्सरी बेगमले अविजित ७ रन बनाए। ललितपुरकी सम्झना खड्का र अलिसा केसीले समान १ विकेट लिएका थिए।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको ललितपुरले २० ओभरमा ५ विकेट गुमाएर १ सय ५ रन जोड्न सफल भएको थियो। ललितपुरका लागि रोशनी बोहराले अविजित २९ रनको योगदान गरिन्। यस्तै नेरी थापाले २२ रन जोड्दै पवेलियन फर्किंदा ममता चौधरी १५ रनमा रनआउट रहिन्। गीता गोसार्इंले १३ रनको योगदान गर्दा करुणा भण्डारी ८ रनमा बोल्ड भइन्। ललितपुरको ५ विकेट हात पार्न काठमाडौंकी ईश्वरी विष्टले २ तथा सरस्वती कुमारीले एक विकेट लिए।

जितसँगै काठमाडौंले ४ खेलमा ६ अंक जोडेको छ। र, काठमाडौं लिगको दोस्रो स्थानमा उक्लिएको छ। लगातार तेस्रो खेलमा पनि पराजय भोगेको ललितपुर भने प्रतियोगिताबाट बाहिरिएको छ। चितवन राइनोज यसअघि नै प्ले अफमा पुगिसकेको छ। प्रतियोगितामा सोमबार एक खेल मात्र खेल हुनेछ। प्रतियोगिताबाट बाहिरिसकेका दुई टोली ललितपुर फाल्कोन्स र पोखरा पल्टनबीच जारी प्रतियोगिताको अन्तिम लिग खेल हुनेछ।

लिगको शीर्ष टोली फाइनलमा पुग्ने छ। यस्तै दोस्रो र तेस्रो टोलीले भने फाइनल प्रवेशका लागि एलिमिनेटर खेल खेल्नेछन्।प्रतियोगितामा सोमबार एक खेल मात्र खेल हुनेछ। प्रतियोगिताबाट बाहिरिसकेका दुई टोली ललितपुर फाल्कोन्स र पोखरा पल्टनबीच जारी प्रतियोगिताको अन्तिम लिग खेल हुनेछ।

 

प्रकाशित: ४ कार्तिक २०७६ ०१:५४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App