१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

मालोर्कासँग रियाल स्तब्ध

मालोर्का – सातौं मिनेटमा मालोर्काका लागो जुनियरले गरेको गोल निर्णायक बन्दा भ्रमणकारी टोली रियाल मड्रिड स्पेनिस ला लिगामा शनिबार १–० ले स्तब्ध भएको छ। शनिबारको पराजयसँगै रियालले ला लिगामा पहिलो हार बेहोरेको छ। नवप्रवेशी मालोर्कासँगको पराजयले टोलीका प्रशिक्षक जिनेदिन जिदानलाई दबाब पुगेको छ।

यसअघि रियाल मड्रिड प्रशिक्षक जिदान, डेबिड बेकह्याम र रोबिन्हो टोलीमा रहँदा २००६ मा सान मोइक्समा भएको खेलमा पराजित भएको थियो। रियालका अल्भारो ओड्रिओजोलाले ७४औं मिनेटमा दोहोरो पहेंलो कार्डको सामना गर्दै मैदान बाहिरिए पनि नवप्रवेशी मालोर्काले गोल थप्न सकेन। दश खेलाडीमा सीमित बनेको रियालले खेलमा फर्किन अथक प्रयास गरे पनि पाएका राम्रा अवसरलाई सदुपयोग गर्न सकेन।

‘प्रत्येक तीन खेलमा हामीले प्रस्ट्याउनुपर्छ। यो नै हाम्रा लागि चुनौती हो,’ रियालका प्रशिक्षक जिदानले भने, ‘हामीले सन्तुलित प्रदर्शन गर्नु छ। खेलमा अझै केन्द्रित रहेर राम्रो गर्नु छ।’ यसै सिजन बढुवा भएको मालोर्कासँग पराजित भएको रियाल १८ अंकका साथ तालिकाको दोस्रो स्थानमा छ। समान ९ खेल खेलेको बार्सिलोनाको १९ अंक छ। बार्सिलोना शीर्ष स्थानमा छ।

यस्तै ला लिगाअन्तर्गत शनिबारै सम्पन्न अर्को खेलमा एट्लेटिको मड्रिड र भ्यालेन्सियाले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन्। डिएगो कोस्टाले ३६औं मिनेटमा पेनाल्टीबाट लिएको अग्रता भ्रमणकारी टोली भ्यालेन्सियाले ८२औं मिनेटमा बराबरीमा ल्याएको थियो। भ्यालेन्सियाका लागि ड्यानी परेजोले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए।

अंक बाँडेको एट्लेटिको मड्रिडले दोस्रो स्थानमा उक्लिने मौका गुमाएको छ। ९ खेल खेलेको एट्लेटिको १६ अंकका साथ तालिकाको पाँचांै स्थानमा भरेको छ। अंक खोस्न सफल भ्यालेन्सिया भने तालिकाको सातौं स्थानमा छ। भ्यालेन्सियाको १३ अंक छ।

लिगअन्तर्गत शनिबारै गेटाफेले लेगानेसलाई २–० स्तब्ध पार्दा डेपोर्टिभो आल्भेजले सेल्टा भिगोलाई पनि २–० ले नै स्तब्ध बनायो। रियाल सोसिडाडले रियाल बेटिसमाथि ३–१ को जित निकाल्दै भ्रमणकारी टोलीविरुद्ध महŒवपूर्ण तीन अंक जोड्न सफल भएको छ। ९ खेलबाट १६ अंक बनाएको रियाल सोसिडाड चौथो स्थानमा रहँदा पराजित रियाल बेटिसको समान ९ खेलबाट ९ अंक छ। बेटिस तालिकाको १८औं स्थानमा छ। मालोर्कासँग पराजित भएको रियाल १८ अंकका साथ तालिकाको दोस्रो स्थानमा छ। समान ९ खेल खेलेको बार्सिलोनाको १९ अंक छ। बार्सिलोना शीर्ष स्थानमा छ।

 

प्रकाशित: ४ कार्तिक २०७६ ०१:४६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App