coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

बाला नझुलेपछि बोट काट्दै किसान

पूर्वी चितवनको खैरहनीमा लगाइएको गरिमा जातको धानमा बाला नलागेपछि बोट काट्दै किसान। तस्बिर ः नागरिक

कैलाली - नेपाल सरकारले पञ्जिकृत गरेको गरिमा जात (वर्णशंकर) को धान खेती गरेका कैलाली र कञ्चनपुरका किसानको ३ सय ४८ हेक्टर जमिनमा फसल लागेको छैन। कैलाली–कञ्चनपुरका किसानले मसिनो तथा बास्नादार र खानका लागि स्वादिलो हुने भन्दै गरिमा जातको धान रोपेका थिए। धान पाक्ने बेलामा पनि बाला नलागेपछि किसानले धोका पाएको महसुस गरेका छन्।

कैलाली–कञ्चनपुरमा एक लाख २० हजार हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएकोमा ३ सय ४८ हेक्टरमा लगाएको गरिमा जातको धानले फसल दिएको छैन। कञ्चनपुरमा ५६ दशमलव ८६ हेक्टर र कैलालीमा दुई सय ९१ हेक्टर जमिनमा गरिमा जातको धान रोपिएको थियो। गरिमा जातको धान खेती गरेका कञ्चनपुरका दुई सय २५ किसान र कैलालीका ९ सय ६४ किसान बाला नलागेपछि पीडित बनेका छन्।

गरिमा धान खेती गरेका कैलाली–कञ्चनपुरका एक हजार एक सय ८९ किसान पीडित बनेको जानकारी दिँदै कृषि विकास निर्देशनालय दिपायल डोटीका प्रमुख यज्ञराज जोशीले भने, ‘गरि जातको धान खेतीका कारण यस वर्ष कैलाली–कञ्चनपुरका किसानले धोका पाए।’ गरिमा धानले धोका दिँदा कैलाली–कञ्चनपुरमा यस वर्ष १४ सय मेट्रिक टन धान उत्पादन कम हुने उनले बताए।

सुदूरपश्चिम प्रदेशलाई वार्षिक पाँच लाख ४३ हजार ४२ मेट्रिक टन खाद्यान्न आवश्यक पर्छ। जसमध्ये सात लाख पाँच हजार ७ सय ६७ मेट्रिक टन अहिलेको उत्पादन छ। खाद्यान्नमा धान, गहुँ, जौं, कोदो र फाफर जोडिएको छ। यस्तै सुदूरपश्चिममा वार्षिक ६ लाख ८१ हजार ३ सय ५३ मेट्रिक टन धान उत्पादन हुँदै आएको छ भने यस वर्ष गरिमा धानका कारण १४ सय मेट्रिक टन कम हुने उनले बताए। ‘गरिमा धानका कारण सुदूरपश्चिम प्रदेशमा यो वर्ष १४ सय मेट्रिक टन कम धान उत्पादन हुने छ,’ उनले भने।

बाली भिœयाउने बेला खेतमा रोपेको धानमा बाला नलाग्दा चिन्तित बनेकाका कैलालीका रामदिन चौधरीले भने, ‘मसिनो तथा बास्नादार र खान स्वादिलो हुने भन्दै यसपालि गरिमा जातको धान रोपियो, त्यसले फसल दिएन।’ नेपाल सरकारले समेत सिफारिस गरेको यो धानको बीउ रोप्दा धोका पाएको उनले बताए। ‘भएको पूरै खेतमा गरिमा जातको धानको बीउ रोपें,’ उनले भने, ‘धानले फसल नदिँदा चिन्तित छु।’ यसपालि वर्षभर चामल किनेर भात खानुपर्ने बाध्यता आएको उनले सुनाए।

स्थानीय एग्रोभेटबाट गरिमा धानको बीउ लिएर रोपाइँ गरेकोमा अहिलेसम्म धानमा बाला लाग्ने संकेत नदेखिएको बताउँदै अर्का किसान रोजेन्द्र बमले भने,‘धानको बोट हेर्दा मोटो छ तर बाला अंकुराउने लक्षण नै छैन।’ स–सानो खेतबारी भएका आफूजस्ता किसानले धेरै धान फलाउने उद्देश्यले उन्नत जातको भनिएो यो धानको खेती गरे पनि अहिले बाला नलाग्दा सबै चिन्तित बनेको उनले सुनाए। धेरै धान फल्ने र मसिनो तथा वास्नादार पनि हुने भएकाले बमजस्तै कैलालीको गौरीगंगा नगरपालिका, घोडाघोडी नगरपालिका, जोशीपुर गाउँपालिका र जानकीनगर गाउँपालिका तथा कञ्चनपुरको बेलौरी नगरपालिका, शुक्लाफाँटा नगरपालिका, पुनर्वास नगरपालिका र बेल्डाँडी गाउँपालिकाका किसानले गरिमा जातको धान रोपेका थिए।

कैलाली र कञ्चनपुरका किसानले लगाएको गरिमा जातको धानबाली नफलेको खबर पाउनेबित्तिकै दसैंअघि नै कृषि विकास निर्देशनालय दिपायल डोटीका प्रमुख जोशीको संयोजकत्वमा नौ सदस्यीय प्राविधिक कार्यदल किसानको खेतमा पुगेको थियो। धानबाली निरीक्षणपछि गरिमा जातको धानले फसल नदिएको तथ्यांक संकलन भएको उनले बताए।

अझै धेरै किसानको लगत संकलन छुटेको हुन सक्ने भन्दै उनले सम्बन्धित गाउँपालिका र नगरपालिकालाई धान नफलेका किसानको लगत टिपाउन निर्देशन दिइसकेको बताए। धेरै फल्ने र छिटो पाक्ने भएकाले किसानले गरिमा जातको धानको वर्णशंकर बीउ लगाएको जानकारी दिँदै उनले भने, ‘यसले किसानलाई ठूलो धोका दियो, किसान चिन्तामा छन्।’ धानको नमुना संकलन गरी प्रयोगशालामा पठाएको जानकारी पनि उनले दिए। उनले भने, ‘के–कति कारण यो धानले फसल दिएन र गरिमा जातकै धान हो या हैन भनेर प्रयोगशालाबाटै प्रमाणित हुनेछ। प्रयोगशालाको रिपोर्टपछि बीउ बिक्री वितरण गर्ने कम्पनीलाई कारबाही गरिने छ।’

सुदूरपश्चिम प्रदेशको कृषि निर्देशनालयले किसानले लगाएको गरिमा धान नफल्दा भएको क्षतिको तथ्यांक संकलन गरी आइतबार संघीय सरकारलाई पठाएको जानकारी पनि उनले दिए। ‘हामीले सुदूरपश्चिम प्रदेशमा गरिमा धानले ठगिएका किसानको वास्तविक तथ्यांक संकलन गरी रिपोर्टसहित आज (आइतबार) संघीय सरकारलाई पठायौं,’ उनले भने, ‘रिपोर्टका आधारमा संघीय सरकारले क्षतिपूर्तिबारे निर्णय गर्नेछ।’

प्रकाशित: ४ कार्तिक २०७६ ००:५१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App