८ वैशाख २०८१ शनिबार
समाज

गाडिएको अवस्थामा शव फेला

सिन्धुपाल्चोक– सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–७ स्वार नजिकै एक युवाको हत्या भएको छ। हत्यापछि एक स्थानीयवासीको घर नजिकै रहेको मलखाडलमा गाडिएको अवस्थामा शव फेला परेको थियो।

लामोसाँघु–जिरी सडक सुधार आयोजनामा स्काभेटर चलाउँदै आएका बाह्रबिसे नगरपालिका–४ पलातीका ३० वर्षीया जीवन थापाको हत्यापछि मलखाडलमा लगेर शव गाडिएको इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक नवराज न्यौपानेले जानकारी दिए। 

शुक्रबार बेलुकीदेखि हराइरहेका थापाको खोजबिनका क्रममा मलखाडलमा गाडेको अवस्थामा शव फेला परेको सुनकोशी गाउँपालिका–७ का वडाध्यक्ष ईश्वर तिमिल्सिनाले जानकारी दिए।

गत मङ्सिरदेखि लामोसाँघु–जिरी सडक निर्माणको जिम्मा पाएको गौरी–पार्वती ठेकेदार कम्पनीमा कार्यरत थापा एक किलोमा रहेको कम्पनीको कार्यालयमा बस्दै आएका थिए।

शुक्रबार बेलुकीदेखि हराएपछि कम्पनीमा कार्यरत साथीहरुले प्रहरीलाई खबर गरेर शनिबार उनको खोजी भएको प्रहरी निरीक्षक न्यौपानेले जानकारी दिए। थापाको हत्याको घटनामा प्रहरीले दुई महिलालाई पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय बाह्रबिसेले सुनकोशी–७ स्वारा निवासी प्रतिमा विश्वकर्मा र जुना कार्कीलाई अनुसन्धानका लागि पक्राउ गरेको हो। घर छेउकै जङ्गलमा लुकिरहेको अवस्थामा प्रतिमालाई प्रहरीले पक्राउ गरेको थियो।

प्रतिमाले बयानका क्रममा आफूले मादक पदार्थ सेवन गरेर सुतेको र राति आफू नजिकै जीवन पनि सुतिरहेको देखेपछि  छाम्दा चिसो भइसकेको पाएपछि बिहान घिसारेर नजिकै रहेको जुना कार्कीको घर छेउमा रहेको मलखाडलमा लगेर गाडिदिएको बताएकी छिन्।

जुना कार्कीले भने मृतक जीवन थापालाई घिसारेर लैजाँदै गरेको देखेको र गाडेको देखे पनि प्रहरीलाई खबर नगरेको बयान दिएको इलाका प्रहरी कार्यालय बाह्राबिसेले जानकारी दिएको छ। रासस

प्रकाशित: ३ कार्तिक २०७६ ११:४२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App