८ वैशाख २०८१ शनिबार
राजनीति

सांसद पार्वत गुरुङलाई साधारण तारेखमा रिहा गर्न आदेश

काठमाडौं- जिल्ला अदालत काठमाडौंले दोलखाबाट निर्वाचित संघीय सांसद पार्वत गुरुङलाई साधारण तारेखमा छोड्न आदेश दिएको छ। स्थानीय निर्वाचन ताका माओवादी समर्थक कार्यकर्तालाई ‘ज्यान मार्ने प्रयास गरेको’ भनेर दायर भएको एउटा मुद्दामा पक्राउ गर्न उनलाई म्याद तामेल गरिएको थियो। त्यस पछि उनी आइतबार जिल्ला अदालत काठमाडौंमा बयानको लागि उपस्थित भएका थिए।

काठमाडौं जिल्ला अदालतले जिल्ला प्रहरी कार्यालय दोलखामार्फत एक महिना अघि गुरुङको गौरीशंकर गाउँपालिका ५ सुरी स्थित स्थायी ठेगानामा पठाएको म्याद ईलाका प्रहरी कार्यालय सिंगटीको टोलीले गाउँपालिकाका प्रमुख स्वयंबहादुर खड्कालाई बुझाएको थियो। उक्त पत्रमा ३५ दिनभित्र अदालतमा हाजिर हुन भनिएको छ।

२०७४ को स्थानीय निर्वाचनका बेला दोलखाको गौरीशंकर गाउँपालिका २ को जुँगुमा तत्कालिन एमाले र माओवादी कार्यकर्ताबीच भएको झडपमा माओवादी कार्यकर्ताको आक्रमणबाट एमाले कार्यकर्ता कुलबहादुर तामाङको मृत्यु भएपछि तत्कालिन एमाले जिल्ला नेतृत्वले पूर्वमन्त्री देवी खड्का, तत्कालिन माओवादीका स्थायी कमिटी सदस्य गंगा कार्की सहित ४० जना विरुद्ध मुद्दा दायर गरेको थियो । 

सो मुद्दामा आरोपित बनाईएका मध्ये जुँगु गाउँका विरध्वज खड्कालाई काठमाडौंको गौशालामा देखेपछि एमाले समर्थक कार्यकर्ताले मरनासन्न हुने गरी कुटपिट गरेर प्रहरीलाई बुझाएका थिए। तिनै खड्काले आफूलाई सांसद गुरुङको निर्देशनमा आक्रमण भएको भन्दै ज्यान मार्ने अभियोगमा जिल्ला अदालतमा काठमाडौंमा मुद्दा दायर गरेका थिए।

 

प्रकाशित: ३ कार्तिक २०७६ ११:३३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App