७ वैशाख २०८१ शुक्रबार
समाज

चट्याङ र पहिरो पूर्वसूचना प्रणाली जडान

फाइल फोटो

बैतडी– विपद् क्षति र जोखिम न्यूनीकरणका लागि बैतडीको दशरथचन्द नगरपालिकाले नगरपालिका परिसरमा चट्याङ प्रतिरोधी प्रणाली र पहिरो पूर्वसूचना प्रणाली जडान गरेको छ।

चट्याङबाट हुने क्षति न्यूनीकरण गर्नका लागि चट्याङ प्रतिरोधी प्रणाली र पहिरोको जोखिम न्यूनीकरणका लागि पहिरो पूर्वसूचना प्रणाली जडान गरिएको नगरपालिकाका प्रवक्ता चक्रप्रसादले बताए। 

युनिसेफ नेपालको सहयोगमा नेपाल रेडक्रस सोसाइटी शाखा बैतडी र हिमालय संरक्षण समूहको प्राविधिक सहयोगमा उक्त प्रणाली जडान गरिएको हो। नमूनाको रुपमा नगरपालिका भवनको परिसरमा चट्याङ प्रतिरोधी प्रणाली र पहिरो पूर्वसूचना प्रणाली जडान गरिएको जनाइएको छ। 

चट्याङबाट बच्नका लागि नगरपालिकाको परिसरमा चट्याङ प्रतिरोधी प्रणाली जडान गरिएको भूगर्भशास्त्री डा. रञ्जनकुमार दाहालले बताए। ‘यो प्रणाली सस्तो र गर्न सकिने भएकाले सहज हुनेछ, उनले भने, ‘यो प्रतिरोधी प्रणालीबाट ५० मिटर वरपर चट्याङको जोखिम हुँदैन।’

यस्तै नगरपालिका भवन परिसरमै पहिरो पूर्वसूचना प्रणाली पनि जडान गरिएको छ। वर्षा भएको बेला पहिरो जान सक्ने सम्भावना भएमा घण्टी बज्ने प्रविधिसहित पहिरो पूर्वसूचना प्रणाली जडान गरिएको डा. दाहालले बताए।

‘पाइप र गुच्चाको प्रयोग गरेर यो प्रणाली जडान गरिएको होे’ उनले भने,‘वर्षाले जमीन भासिएमा गुच्चा खसेर घण्टी बज्ने र यसले पहिरोको सङ्केत गर्नेछ।’

 यो प्रणाली प्रभावकारी भएमा केही महीनापछि साइरन जडान गरिने भएको छ। नगरपालिका परिसरमा राखिएको चट्याङ प्रतिरोधी प्रणाली र पहिरो पूर्वसूचना प्रणालीबाट विपद जोखिम न्यूनीकरणमा सहयोग पुग्ने जिल्ला विपद व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले बताए। 

नेपाल रेडक्रस सोसाइटी शाखा बैतडीले नगरपालिकासँग मिलेर विपद् जोखिम न्यूनीकरण कार्यक्रम सञ्चालन गरिरहेको र यो प्रणाली सफल भएमा अन्य वडाहरुमा पनि विस्तार गरिने रेडक्रसका कार्यक्रम संयोजक तेजप्रसाद पाण्डेले बताए। रासस

प्रकाशित: ३ कार्तिक २०७६ १०:३७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App