८ वैशाख २०८१ शनिबार
खेल

इन्टरलाई सफलता

मिलान(एएफपी)– कप्तान माउरो इकार्डीले दुई गोल गरेपछि इन्टर मिलानले सोमबार सान सिएरोमा १० जनामा समेटिएको फिओरेन्टिनामाथि ४–२ को विजय नतिजा निकालेको छ।

गतसाता सहरी प्रतिद्वन्द्वी एसी मिलानसँग २–२ को बराबरी खेल्दै नयाँ प्रशिक्षक स्टेफानो पियोलीको नेतृत्वमा सकारात्मक सुरुआत गरेको इन्टरले सोमबार फिओरेन्टिनाको प्रेरणादायी पुनरागमन प्रयास असफल बनाउँदै ३ अंक हासिल गर्‍यो। फिओरेन्टिनाविरुद्धको खेलमा केही खतरनाक क्षणको सामना गर्नुपरे पनि अर्को राम्रो नतिजा पाएपछि लाजियोका पूर्व प्रशिक्षक पियोलीले पर्याप्त प्रशंसा बटुलेका छन्।

‘हामीलाई यो अवस्थामा केही सुखद नतिजा आवश्यक छ । पछिल्ला दुई खेलमा सन्तोषजनक प्रदर्शन र नतिजा आएका छन्,’ पियोलीले भने, ‘तीन गोलको अग्रता लिए पनि हामीले खेललाई हल्का रूपमा लियौं । त्यसैका कारण दोस्रो हाफमा उनीहरू १० जनामा समेटिए पनि हामीले दबाब सामना गर्नुप¥यो । फिओरेन्टिनाले उच्च स्तरको चुनौती प्रस्तुत गरेको थियो । आज पाएको ३ अंक हाम्रा लागि महŒवपूर्ण छ । अबको हाम्रो चुनौती भनेको एकरुपको प्रदर्शन निरन्तर गर्नु हो ।’

सोमबारको जितपछि इन्टरले इटालियन सिरी ‘ए’ मा शीर्ष स्थानको युभेन्ट्ससँगको दुरी १२ अंकमा झारेको छ । १४ खेलमा २१ अंक जोडेको टोली आठौं स्थानमा छ । जबकि एक अंकले पछि रहेको फिओरेन्टिना नवौं स्थानमा छ । फिओरेन्टिनाले एक खेल कम खेलेको छ ।

अघिल्लो सिजन घरेलु मैदानमा फिओरेन्टिनासँग ४–१ ले पराजित भएको इन्टरले यसपालि खेल सुरु भएको २० मिनेटभित्र ३–० को अग्रता लिइसकेको थियो । विपक्षी टोलीबाट भएका रक्षात्मक गल्तीको फाइदा उठाउँदै मार्सेलो ब्रोजोभिच, एन्टोनियो क्यान्ड्रेभा र इकार्डीले सुरुमै विपक्षी गोलकिपर सिप्रियन टाटारुसानुलाई निराश पारेका थिए ।

ब्रोजोभिचले तेस्रो मिनेटमा खोलेको खातामा ६ मिनेटपछि क्यान्ड्रेभाले गोल थपेका थिए । इकार्डीले १९ औं मिनेटमा पहिलो व्यक्तिगत गोल गर्दै इन्टरलाई ३–० को अग्रता दिलाए ।

मध्यान्तर हुन ८ मिनेट बाँकी रहँदा निकोला कालिनिकले एक गोल फर्काउँदै फिओरेन्टिनालाई खेलमा फर्काउने प्रयास गरे । तर भ्रमणकारी टोलीका कप्तान गोन्जालो रोड्रिग्वेजले पहिलो हाफकै इन्जुरी समयमा सोझै रातो कार्ड पाएपछि फिओरेन्टिनाको पुनरागमन प्रयासमा धक्का लाग्यो । इकार्डीमाथि फाउल गरेवापत रोड्रिग्वेजले रातो कार्ड पाउँदै मैदान छाडेका थिए ।

एक खेलाडी कम हुनाका बाबजुद दोस्रो हाफमा फिओरेन्टिनाले जोशिलो प्रदर्शन गर्‍यो। ६२ औं मिनेटमा जोसिप इलिसिकले भ्रमणकारी टोलीका लागि अर्को गोल फर्काएर खेल ३–२ को अवस्थामा पुर्‍याए । तर अन्तिम मिनेटमा इकार्डीले अर्को गोल गर्दै इन्टरको ३ अंक पक्का गरे।

प्रकाशित: १५ मंसिर २०७३ ०२:०३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App