७ वैशाख २०८१ शुक्रबार
समाज

जनता आवास कार्यक्रमअन्तर्गतका घर अलपत्र

अमरगढी- सम्झौता भएको आठ महीना बितिसक्दासम्म पनि डडेल्धुरामा जनता आवास कार्यक्रमअन्तर्गत निर्माण भइरहेका अधिकांश घर अलपत्र परेका छन्। घर निर्माण नहुँदा लाभग्राहीको घरमा बस्ने सपना पूरा हुन सकेको छैन।

गत आर्थिक वर्षको जनता आवास कार्यक्रमअन्तर्गत निर्माण भइरहेका घर बनाउने रकम नआउँदा अलपत्र परेका हुन्। लाभग्राहीले सम्झौताअनुसारको रकम नपाउँदा निर्माण भइरहेका घर अलपत्र परेका छन्।    

सम्झौताअनुसार प्रतिघरका लागि तीन लाख ३२ हजार रुपैयाँ सरकारले चार किस्ता गरी लाभग्राहीलाई दिइनुपर्ने हो। कतिपय घरको निर्माण कार्य अन्तिम चरणमा पुग्दासम्म पनि लाभग्राहीले पहिलो किस्तावापतको ८२ हजार रुपैयाँ मात्रै पाएका छन्।   

यस्तै कतिपय लाभग्राहीले पहिलो किस्ताको रकमको भन्दा बढी रकम खर्चेर घर निर्माण गरेका छन्। घर निर्माणको अवस्था हेरेर एक वर्षसम्म पूरै रकम दिनुपर्ने भए पनि रकम नदिँदा आफूहरु मर्कामा परेको अमरगढी नगरपालिका–१ का लाभग्राही कमेले टमोटाले गुनासो गरे।   

कतिपय परिवारले घर निर्माणका लागि डकर्मीलाई नै ठेक्का दिएका थिए। किस्ता अहिलेसम्म नआउँदा अन्तिम चरणमा पुगेको घरको काम गर्नेलाई पैसा दिन नसकेपछि उखेलेरै भए पनि ढुङ्गा, काठ बिक्री गर्छौं भनी घरसम्म पुग्ने गरेका अमरगढी नगरपालिका–१ की पार्वती टमोटाले बताए।    

सङ्घीय सरकारबाट प्रदेश सरकारमा बजेट आएको भए पनि प्रदेश सरकारबाट रकम निकासा नहुँदा लाभग्राहीलाई बाँकी रकम दिन नसकेको शहरी विकास तथा भवन डिभिजन फिल्ड कार्यालय डडेल्धुराका सवइञ्जिनीयर दिनेश खत्रीले जानकारी दिए।  

जनता आवासअन्तर्गत जिल्लाभरि आर्थिक वर्ष २०७५/७६ मा १९० घर निर्माणका लागि सम्झौता भएको थियो। अहिलेसम्म एक सय जनाले पहिलो किस्तावापतको रकम पाएको उनले बताए। तीस जनाले दोस्रो किस्तावापतको रकम पाएका छन् भने सात जनाले मात्रै पूरै रकम पाएको उनले बताए। बाँकी लाभग्राहीले पहिलो किस्तावापतको रकम पनि नपाएको उनको भनाइ छ।    

पहुँचवालालाई जनता आवास घर    
विगतदेखि सञ्चालन भइरहेको जनता आवास कार्यक्रमअन्तर्गत जनता अवासको घर पहुँचवालाले पाएको देखिन्छ। दलित, अल्पसङ्ख्यक, मुस्लिम, सिमान्तकृत समुदायका लगि भनिए पनि डडेल्धुरा जिल्लामा हुने खाने व्यक्तिले डडेल्धुरामा जनता आवासको घर पाएका छन्। राजनीतिक दलका कार्यकर्ता तथा निर्वाचित जनप्रतिनिधि, शिक्षक कर्मचारीले नै जनता आवासको नाममा लाभ लिएका छन्।   

स्थानीय राम्रै घर भए पनि अर्काको घर देखाई स्थायी जनप्रतिनिधिले जनता आवास कार्यक्रममा लाभ लिएको कतिपयको गुनासो छ। एकै परिवारका सबै सदस्य तथा परिवारका अन्य व्यक्तिका नाममा जनता आवासको लाभ लिइरहेका छन् भने वास्तविक लाभग्राहीले लाभ लिन नपाएको अमरगढी नगरपालिका–१ का मनोज ताम्राकारले बताए। उनले भने, वास्तविकभन्दा पनि पहुँचवालाले जनता आवासको लाभ लिइरहेका र वास्तविक लाभग्राहीले हालसम्म जनता आवासको घर नपाइरहेको उनको गुनासो छ।  

उनले भने, पछिल्लो समय दलित जनप्रतिनिधिले आफ्नै परिवारको सदस्यको नामा जनता आवासको घर छनोट गरेका पाइएको छ। डडेल्धुरा जिल्लामा पक्की घर भएका तथा सदरमुकाममा ठूलै सामाजिक जिम्मेवारीमा रहेका व्यक्तिहरुले सबैभन्दा पहिले जनता आवासबाट घर लिएका उनले बताए। रासस

प्रकाशित: ३ कार्तिक २०७६ ०८:४१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App