८ वैशाख २०८१ शनिबार
समाज

जिल्लाकै पहिलाे होमस्टे पाहुनाको पर्खाईमा

ओखलढुंगा– ओखलढुंगामा पहिलो पटक होमस्टे सुरु भएको छ। सिद्धिचरण नगरपालिका–६ जन्तरखानीस्थित ठाडेमा जिल्लाकै पहिलो होमस्टे सुरु भएको हो। ओखलढुंगा सदरमुकाम हुँदै सोलुखुम्बु जाने मुख्य मार्गमा पर्ने ठाडेमा स्थानीय मगर समुदायले सामुहिकरुपमा होमस्टे सुरु गरेका हुन्।

जिल्ला हुँदै सोलुखुम्बु जाने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरि ठाडेका नौ परिवारले होमस्टे सञ्चालन गरेका हुन्। होमस्टेमा बास बस्न आउने पाहुनालाई आलुको ढिडो (रिल्दुक), गोर्मालिक (गहुँको पिठो दुधमा पकाएको), स्याक्पा, सिमी, मकै, फापरको ढिंडो लगाएत स्थानीय परिकारसँगै मगर समुदायको संस्कारले सत्कार गरिने गरीएको छ। होमस्टेहरु पाहुनाको पर्खाईमा छन्।

सात घरमा खाना सुविधा र दुई घरमा पर्यटकका लागि अर्गानिक कोशेली घर सञ्चालनमा ल्याईएको ठाडे मगर सामुदायिक होमस्टेका अध्यक्ष पारस मगरले बताए। मगरका अनुसार आन्तरिक तथा बाह्य आगन्तुक पाहुनालाई स्थानीय उत्पादनका आलुु, मकै, कोदो, फापर, सिस्नु, च्याउ, लोकल कुखुरा, ढिडो, गुन्द्रुकको परिकार होमस्टेको विशेषता रहेको छ। सिस्नुसँग मकैको ढिँढो। आलुको रिल्दुक, थेन्दुक, गाउँमा उत्पादन भएको साग, मोही र गोलभेंडाको अचार र लोकल कुखुराको मासु। गाउँमा पुग्ने पाहुनालाई स्थानीयले गर्ने सम्मान र सत्कार। साँझको बेला आँगनमा गाउँलेसँगै साँस्कृतिक तथा मारुनी नाचमा रमाइलो गर्न पाउँदा धेरैको मन लोभ्याउने छ।

ठाडेबजार सुमुन्द्री सतहदेखि करिब २९ सय मिटर उचाईमा पर्दछ। सोलुखुम्बुको पत्ताले नजिक पर्ने यहाँबाट विश्वको सर्वोच्चशिखर सगरमाथालगायत अन्य हिमशृंखलाहरुको दृश्यावलोकन गर्न सकिन्छ। सगरमाथालगायत अन्य अग्ला हिमाल पहाड तथा भुभागहरुको अवलोकन गरेर यहाँ बास बस्नको लागि उपयुक्त रहेको ठाडे मगर सामुदायिक होमस्टेका उपाध्यक्ष हरिकुमार मगरले बताए।

ओखलढुंगा सदरमुकामबाट गाडिमा करिब ४५ मिनेटको दुरिमा रहेको ठाडे मगर सामुदायिक होमस्टेले पर्यटकलाई लोभ्याउन थालेको उनको भनाई छ। गाउँको रमणीय दृष्य, पारिवारिक वातावरण, स्थानीय परिकार र संस्कृतीले आन्तरिक मात्र नभई, विदेशी पर्यटकहरुलाई पनि आकर्षित गर्न थालेको उपाध्यक्ष मगरले बताए। 

होमस्टे सञ्चालनमा आएपछि स्थानीय युवा तथा महिलाहरु स्वरोजगार बनेका छन्। घरमै बसेर आम्दानी हुन थालेपछि स्थानीय परिकारहरु बनाउनमा उनीहरु व्यस्त देखिन्छन्। नमूनाको रुपमा अहिले नौ घरमा मात्र सञ्चालनमा गरिएको होमस्टे अपेक्षा गरेभन्दा धेरै पर्यटक आउन थाले विस्तार गर्ने योजना रहेको समितिले जनाएको छ।

मगर समुदायको पहिचानसमेत स्थापित गराउनेगरि होमस्टे सुरु गरिएको हो। होमस्टेमा आएका पाहुनालाई अर्गानिक खाना खुवाएर पारिवारिक वातावरणमा राखिने र अर्गानिक खाद्य वस्तु कोशेलीको रुपमा दिएर पठाईने सामुदायिक होमस्टेका उपाध्यक्ष हरिकुमार मगरले बताए।

होमस्टे सुरु गरिएको क्षेत्रमा विद्युत सुविधा छैन्। लाखौं लगानी गरेर होमस्टे सुरु गरिएपनि आधारभुत मानिने विद्युत नहुँदा सोलार पावरले काम चलाउनुपर्ने बाध्यता रहेको उनले गुनासो गरे। उनले विद्युतको व्यवस्था गर्न सम्बन्धित निकायमा माग गरेका छन्। पर्यटकिय क्षेत्रको रुपमा चिनिएको ठाडेमा दिनानुदिन नयाँ संरचना निर्माण र सम्भाव्यता बढ्दै गएपनि आधारभुत भौतिक विकास नहुँदा समस्या भएको स्थानीय युवा समाजसेवी मनोज मगरले बताए।

नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्षलाई केन्द्रित गरेर स्थापना गरिएको होमस्टेको प्रतिनिधिसभाका सांसद यज्ञराज सुनुवारले भव्य समारोहबीच उद्घाटन गरेका थिए। सांसद यज्ञराज सुनुवारले जिल्लामै पहिलो पटक ठाडेमा सुरु गरिएको होमस्टे देशकै नमुना बनाउन सुझाव दिएका छन्।

खोटाङको हलेसी आउने र विश्वको सर्वोच्च शिखर सगरमाथा जाने पर्यटकको समेत गन्तव्य मार्गमा पर्ने ठाडेमा सुरु गरिएको होमस्टेलाई प्रचार–प्रसार गरेर व्यापक बनाउनुपर्ने सांसद सुनुवारले बताए। यस क्षेत्रमा केन्द्रिय विद्युत विस्तारका लागि सांसद सुनुवारले तत्काल पहल गर्ने आश्वासन दिएका छन्।

प्रकाशित: ३ कार्तिक २०७६ ०७:३२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App