एकैघरमा चार पिएचडीधारी

आइतबार, ०३ कार्तिक २०७६, १२ : ०२ विश्वमणि पोखरेल

भक्तपुर, सल्लाधारीस्थित कोजु परिवारको घर छिर्नेबित्तिकै भदौको अन्तिम शनिबार भिडभाड देखियो । पहिलो तलाको बैठक कोठामा छिर्दा सानो र्‍याकमा विज्ञान, साहित्य, दर्शन र राजनीतिका केही पुस्तकहरू थिए ।

अघिल्लो साता राष्ट्रपति विद्यादेवी भण्डारीबाट विद्याभूषणबाट सम्मानित भएर प्रमाणपत्र प्राप्त गर्ने एउटै घरका चार जना भएको कीर्तिमानधारीको घर थियो यो ।

घरको व्यस्तता र भिडभाड कीर्तिमानधारीलाई सगुन दिन आएका रहेका रहेछन् । काकीहरू, फुपूहरू र माइजूहरूले परिवारलाई नै सगुन दिइरहेका थिए । नेवारी समुदायमा राम्रो काम गर्नेहरूलाई समाजले सम्मान गर्ने चलनअनुसार उनीहरू जम्मा भएका थिए । लामो यात्रामा निस्कनुअघि, कुनै राम्रो काम गरेको सराहनामा सगुन दिने परम्परा निर्वाह गरिरहेकाहरूमा एउटा प्रश्नवाचक उत्साह थियो— पिएचडी त आयो तर तर पिएचडी भनेको के हो ? सबैले विद्यावारिधि गरेको भन्छन्, राष्ट्रपतिबाट सम्मानित भएको पनि टिभीमा देखियो तर यो विद्यावारिधि भनेको के हो ?

जे सुकै भए पनि राम्रो काम गरेको, धेरै पढेको भन्ने भाव काकी, माइजू र फुपूहरुमा देखिन्थ्यो । हुन पनि भक्तपुरको किसान परिवारले यस्ता कुरा कसरी पत्तो पाऊन् ! आफन्तजनले खुसियाली मनाइरँहदा विद्यावारिधि प्राप्त एउटै परिवारका सदस्यहरू नारायणप्रसाद कोजु, लीला न्याइच्याइँ कोजु, रोशन कोजु र नीलकमल कोजुको अनुहारमा पनि सन्तुष्टिको दीप्ति देखिन्थ्यो । नारायण, रोशन र नीलकमल दाजुबहिनी हुन् भने लीला नाइच्याइँ नारायणकी पत्नी हुन् । नारायणले हिमाली मुसामा विद्यावारिधि गरेका छन् । लीलाले नेपालमा चीनको जनस्तरीय कूटनीतिका बारेमा विद्यावारिधि बटुलेकी हुन् । त्यस्तै इलेक्ट्रोनिक इन्जिनियर रोशन भने बौद्धिक सम्पत्ति र प्रतिलिपि अधिकारमा विद्यावारिधि गरेका छन् । बहिनी नीलकमल औद्योगिक प्रतिष्ठानबाट निस्कासित हुने फोहोरले कसरी खानेपानी दुषित बन्छ र त्यसलाई कसरी शुद्धीकरण गर्न सकिन्छ भन्ने विषयमा शोध गरेकी छन् ।

चारै जनाले एकै पटक राष्ट्रपतिबाट विद्याभूषण लिने योजना बनाएका हुन् । सबैभन्दा पहिला जेठो दाजु नारायणले चीनको चाइनिज एकेडेमी अफ साइन्स अन्तर्गतको किनमे इन्स्टिच्युट अफ जुलोजीबाट प्राणीहरूका प्रजातिबारे विद्यावारिधि गरेका हुन् । रोशन र नीलकमलले २०१८ मा त्रिभुवन विश्वविद्यालयबाट शोध गरेका हुन् । लीलाले पनि चीनबाटै यसै वर्ष पिएचडी सकेकी हुन् ।
‘हामी सबैले एकै पटक विद्याभूषण लिने भनेर पर्खिएका हौँ,’ रोशन भन्छन्, ‘भाउजूले सकेपछिमात्र विद्यावारिधि लिने भन्ने कुरा भयो ।’ पहिलो संविधानसभामा नेमकिपाकी जुझारु सांसदको भूमिका निर्वाह गरेसकेकी लीला पिएचडीसम्मको अध्ययनमा कोजु परिवार निकै प्रेरक बनेको बताउँछिन् ।

ऐलाको ठाउँमा कोकाकोला
नेवारी समाजमा सगुनमा अन्तीबाट सलीमा ऐला खन्याएर स्वात्त पिइन्छ । सगुनकै बेलामा घरमुुलीले पहिला पृथ्वी, आकाश, भगवान अनि आफ्ना छोरा, छोरी, बुहारी र श्रीमान्लाई पूजा गरिन् । अण्डा, अदुवा र मासुको टुक्राको साथमा काँचको कचौरामा कोक हातमा राखिदिइन् । सबैले कचौराबाट कोक घुट्काए अनि अरु प्रसाद ग्रहण गरे । परम्पराअनुसार  त्यहाँ ऐला अर्थात रक्सी थिएन र थिएन अन्ती र सली पनि । किन ? कोजु परिवारका पिएचडीधारीहरूको जवाफ यस्तो थियो, ‘अरु बेला दुध हुन्थ्यो, आज काकी–माइजूले कोक ल्याउनु भएछ, त्यही चलाइयो । सानैदेखि पढ्ने मानिसले जाँडरक्सी खानु हुँदैन भन्ने मनोविज्ञान बन्यो । त्यसैले रक्सी खाइएन । अहिले पनि हामी खाँदैनौँ र खाएका छैनौँ ।’

कामै पढ्ने
२०४० को दशकमा कोजु परिवार च्यामासिंहबाट भक्तपुर सहर नजिकैको सल्लाधारी फाँटमा सरेको थियो । त्यो बेला अहिलेको जस्तो कक्रिटको जंगल थिएन । सानो छाप्रोमा उनीहरूको बसोबास थियो । खेतका गराहरूबीच केही घरहरू थिए । घर नजिकैको नेपो टेक्सटाइल कम्पनीमा घरका मुली  लक्ष्मीनारायण कोजुले सहयोगीको जागिर पाए र त्यहीँ  क्यान्टिनसमेत चलाए । त्यसबेला अहिले जस्तो जताततै स्कूल थिएनन् र स्कुल पढाउनु पर्छ भन्ने राम्रो ज्ञान पनि फैलिसकेको थिएन सामाजमा । नारायण र रोशन च्यामासिङमै जन्मिएका भए पनि जेठी छोरी नीलकमल भने सल्लाघारीमै जन्मिएकी हुन् ।

आफ्नो थातथलोबाट सहर नजिक आएकाले नारायण र रोशनका साथीभाइ बनिसकेका थिएनन् । त्यसैले हुनसक्छ, उनीहरू प्रारम्भदेखि नै पढाइमा केन्द्रित हुन पाए । ‘सल्लाघारीमा हामी नयाँ थियौँ, साथीभाइ पनि धेरै थिएनन्, खेल्ने कुद्ने माहोल नै बनेन,’ रोशन भन्छन्, ‘हाम्रो लागि पढाइ नै प्रमुख कुरा बन्न गयो ।’

उनीहरूको पढाइको आधार बनाउने काम भने मावली हजुरआमा रत्नकेशरी सुवालले गरेकी हुन् । भक्तपुर सहरमा बस्ने उनी नातिनातिनालाई स्कुल भर्ना गर्ने बेलामा छोरीका घरमा आउँथिन् । डोर्‍याउँदै स्कुल भर्ना गरिदिन्थिन् । आफू निरक्षर भएपछि नातिनातिनालाई पढाउनु पर्छ भन्ने सोचले उनले पहिले बाटो देखाएको रोशनको कथन छ । ‘हाम्रो पढाइमा हजुरआमाको ठूलो योगदान छ,’ उनले भने, ‘उहाँले नै हामी सबैलाई पढ्ने बाटो खोलिदिनुभएको हो । मामाहरू पढेलेखेका हुनुहुन्थ्यो, झन् नातिनातिनालाई नपढाउने कुरै हुँदैन, जमाना पनि नयाँ आएको छ भनेर उहाँले सोच्नुभयो होला ।’
आफ्नो थातथलो छोडेर सहर नजिक आएका ज्वाइँछोरी कम्पनीमा दिनरात खट्ने, तरकारी लगायतका खेतिपातीमा वर्षैभरि व्यस्त हुने भएकाले रत्नकेशरीले नातिनातिनालाई बाटो देखाउने आवश्यकता देखिन् ।

‘हाम्रा साना–साना उपलब्धिमा पनि खुसी हुने र सुगुन दिएर पढाइमा हौसाउने गर्नुहुन्थ्यो हजुरआमा,’ रोशन सम्झन्छन्, ‘उहाँले प्रयास नगरको भए सायद हामी स्कुलै पो जाने थिएनौं कि ?’
त्यसो त रत्नकेशरीको पीडाको योगदान पनि यो परिवार पिएचडीधारी हुनुमा छ । २०४६ साल तिरको कुरा हो । कान्छो नाति रोशनलाई कमलविनायकस्थित प्रभात स्कुलमा भर्ना गरिसकेपछि छोरीको घर सल्लाघारी फर्कने क्रममा एउटा बाँडासँग पाथी किनिन् । ‘सस्तोमा पाथी किनेको भन्दै आएकी हजुरआमाले १५ रुपैयाँ दिनुपर्नेमा १५ सय पो दिनु भएछ,’ रोशन भन्छन्, ‘हजारको नोटलाई १० र ५०० को नोटलाई ५ को नोट ठानेर १५ रुपैयाँ भन्दै १५ सय दिनु भएछ । घरमा आएपछि ठगिएको थाहा भयो । त्यसपछि त्यो  बाँडालाई खोजी गरियो तर भेटिएन ।’

फि का ?
किसान आमाबाबु र सानो छाप्रोको बसोबासमा कोजु दाजुभाइको जीवनशैली अनुशासित  थियो । ‘हामी सानो हुँदा एउटै मात्र कोठा थियो, त्यहीँ खाने, बस्ने र सुत्ने काम हुन्थ्यो,’ नारायण भन्छन्, ‘हाम्रो काम नै पढ्ने हुन्थ्यो । साँझमा स्कुलबाट आएपछि होम वर्क गर्ने, बिहान घरमा आमालाई अलिअलि सघाउने र तयार भएर स्कुल जाने ।’

ठूलो कक्षामा उक्लँदै गएपछि अतिरिक्त क्रियाकलापहरूमा पनि उत्तिकै सक्रिय रहेको उनी बताउँछन् । ‘हाम्रो माहोल नै पढ्ने बन्यो, स्कुलदेखि बनेको यो माहोल अहिले उच्च शिक्षा आर्जन र पिएचडी गर्ने कुरामा पनि जारी छ,’ नारायण भन्छन्, ‘हामी आपसमा छलफल गर्छौं, सरसल्लाह गर्छौं, कुनै कतै अवसर छ भने त्यतातिर लाग्न भन्छौं, अहिले माहिली बहिनी निर्मलाले औषधविज्ञानमा चीनको चाइना फर्मास्युटिकल युनिभर्सिटीबाट पिएचडी गरिरहेकी छन् । रोशनकी पत्नी कविता पनि पिएचडीको तयारीमा जुटिरहेकी छन् ।

एसएलसी नै गर्विलो
पिएचडीधारी छोराछोरी र बुहारीका अभिभावक लक्ष्मीनारायण कोजुलाई पिएचडीको अर्थ थाहा छैन । आमा कमलकेशरीलाई त अझ केही पनि थाहा छैन । उनीहरूको विचारमा छोराछोरी र बुहारीले राम्रो र धेरै पढेका होलान् भन्ने उनी सोच्छिन् । कसले कुन विषयमा उच्च अध्ययन गरेका हुन्, त्यसको लेखा बाबुआमाले नै राखेका छैनन् । कमलकेशरीले भनिन्, ‘मेरा बच्चाले नराम्रो काम गर्दैनन्, राम्रो काम मात्र गर्छन् भन्ने लाग्छ, अहिले पनि त्यस्तै गरेको त होला !’

बाबु लक्ष्मीनारायण भने छोराछोरीको उच्च शिक्षाभन्दा एलएलसीबाट बढी गर्विलो महसुस गरिरहेका छन् । २०५३ मा जेठा, २०५६ मा कान्छा र जेठी छोरीले २०५८ मा एलएलसी पास गरेका हुन् । ‘छोराले एलएलसी पास गर्दा निकै गर्व महसुस भयो, उसले फस्ट डिभिजमा पास गरेको थियो,’ लक्ष्मीनारायण भन्छन्, ‘मेरा नजिकका नातेदारहरू फेल भएका थिए, पास हुने भन्दा फेल हुने धेरै हुन्थ्यो, मेरा छोराछोरीले फटाफट एलएलसी पास गरे, त्यो मेरा लागि गर्वको कुरा थियो । पिएचडी पनि पढाइ नै होला मलाई त्यत्ति थाहा छैन ।’

उनको विचारमा एलएलसी भन्दा ठूलो केही छैन । खेती किसानीमा सक्रिय हुने लक्ष्मीनारायण फ्याक्टरीको क्यान्टिन चलाउँदाका दिन सम्झदै भन्छन्, ‘तीन रुपैयाँमा भात ख्वाएको छु,  मेरो सुरु तलब ४५० थियो र एक क्लिन्टल चामललाई त्यसबेला ४२५ मात्र पथ्र्यो ।’
च्यामासिङ लगायत भक्तपुरका विभिन्न स्थानमा कोजु परिवारको ४/५ रोपनी जमिन छ । लक्ष्मीनारायण, कमलकेशरी खेतीपातीमा व्यस्त रहन्छन्, छोराछोरी र बुहारी धान रोप्ने र काट्ने र चुट्ने जस्ता काममा सहयोग गर्दछन् ।

‘आफूले पढ्न सकिनँ, छोराछोरीले पढ्न सकुञ्जेल पढून् भनेर उनीहरूलाई खेती किसानीमा लगाउने गरेका छैन,’ लक्ष्मीनारायणले भने, ‘उनीहरूको मुख्य काम पढाइ, मेरो मुख्य काम खेतीकिसानी !’
काउली, काँक्रो बेचेर आएको पैसा छोराछोरीको पढाइमा लगाएको कथन कमलकेशरीको छ । ‘मेरा छोराछोरी आपसमा झगडा गर्दैनन्, धेरै पढेका छन्,’ गर्वका साथ कमलकेशरीले भनिन्, ‘पढाउन कसैसँग ऋण लिनु परेन । छोराहरू सधैँ पहिलो–दोश्रो हुन्थे, दाजुहरूको मिहिनेतले छोरीलाई पनि फिस लागेन । पढ्दै बढ्दै माथिमाथि चढ्दै गएका हुन् भन्ने लाग्छ । सधैँ पुरस्कार मात्र लिएर आउँथे, अहिले पिएचडी भनेको पनि त्यस्तै पुरस्कार त होला !’

किसानी कर्म  
कोजु परिवारका सबै सदस्य मुख्यमुख्य सिजनमा समूहमा गएर खेतमा बाबुआमालाई सघाउँछन् । धान रोप्ने र काट्ने चुट्ने बेलामा उनीहरू बाबुआमाका साथ लाग्छन् । नारायण अन्य भाइबहिनीको तुलनामा खेतीमा बढी सक्रिय हुने गरेका छन् ।

‘मैले त बुबासँग साइकलमा कोटेश्वरसम्म तरकारी लगेर बेचेको छु,’ नारायणले भने, ‘२०६२/६३ सालको जनआन्दोलनको बेलासम्म हामी तरकारी उत्पादन गथ्र्यौं । त्यो तरकारी बिहान कोटेश्वरसम्म साइकलमा लगेर बेच्यो, दिनभर लोकतान्त्रिक आन्दोलनमा सहभागी बन्यो । राति अबेर घर फर्कियो ।’
नारायण खेत खन्न सिपालु छन् । उनी बुबालाई सघाउँछन् बेलाबेलामा । तर कान्छा छोरालाई कोदाली चलाउनै आउँदैन । ‘खेतमा जाँदा मलाई दिक्क लाग्छ, अरुअरुले बुबाले कोदालो चलाउँदा के हेरेको भनेर हप्काउँछन्,’ रोशनले गुनासोको स्वरमा भने, ‘आफूलाई कोदालो चलाउनै आउँदैन तर कोदाली चलाउने बाहेकका काम त सघाइहाल्छु नि !’

त्यसो त स्कुल पढ्दादेखि नै दाजुभाइ र बहिनीहरू घरमा काममा सघाउँथे । शनिबार र बिदाका दिनहरूमा उनीहरूले नै भात पकाउने, आफ्ना र बाआमाका लुगाधुने, सरसफाई गर्ने गरेको उनीहरू सुनाउँछन् ।

आफैँले घर निर्माण
स्कुले जीवनको सानो छाप्रोले एक दशक अघि मात्र स्वरुप फेरेको हो । अहिले त्यो झुप्रो  ५ तले घरमा बद्लिएको छ । पहिला अढाई तलासम्म कोजु परिवारकै श्रममा उभिएको थियो ।
‘मामा, काकाहरू डकर्मी सिकर्मी हुनुहुन्थ्यो, म भाइबैनीहरू र आमाबुबा ज्यामी बन्यौँ,’ नारायण भन्छन्, ‘इँटा, बालुवा, गिट्टी, सिमेन्ट, छड हामीले नै बोक्यौँ । ढलान गर्ने दिन मात्र अरुअरु ज्यामी चाहिएको थियो ।’ ज्यामी बनेको बेला उनीहरू सबै स्कुले जीवन छाडेर कलेज लाइफमा प्रवेश गरिसकेका थिए ।  

आ–आफ्नो अध्ययन
लिँडेजस्तो खरायो

स्कुल शिक्षा भक्तपुर व्यासीस्थित प्रभात मावि अध्ययन गरेका नारायणप्रसाद कोजुले त्रिचन्द्र कलेजबाट आइएस्सी र त्रिभुवन विश्वविद्यालयबाट प्राणीशास्त्रमा एमएस्सीपछि नेपालका हिमाली भेगमा लिँडे मुसा भनेर चिनिने खरायो प्रजातिमाथि पिचएडी गरेका हुन् ।

लिँडेको सामान्य अवस्थामा आमा र बुबा दुवैबाट न्युक्लियर जीन प्रसारित हुन्छ । यसैगरी सन्ततिमा वंशानुगत गुण सर्दै जान्छ । आमाबाट मात्रै छुट्टै जिन प्रसारित हुन्छ जसलाई माइट्रोकोडियल जीन भनिन्छ । लिँडे मुसामा आमाबाट प्रसारित हुने माइट्रोकोडियल जीनमा छोटो अन्तरालमा व्यापक परिवर्तन भई छुट्टै प्रजाति देखियो तर यस्तो अवस्थालाई न्युक्लियर जीनले भने गरेन भन्ने कुरा नारायणले पत्ता लगाएका हुन् । तिब्बती पठार र चीनको छिनदिङ हिमालमा तीन वटा लिँडे मुसाको नयाँ प्रजातिसमेत पत्ता लगाएको उनी बताउँछन् ।

कतिपय अवस्थामा सन्तानमा आमाको बाट मात्र डिएनए सरेको हुनसक्छ । सामान्यतः सन्तानमा आमा र बाबुका डिएनए संयोजन भएर प्राकृतिक स्वभावहरू सरेका हुन्छन् । तर कतिपय प्राणीहरूमा भने आमाबाबु दुवैबाट नभएर आमाकोबाट मात्र डिएनए सरेको हुन्छसक्छ । यस्तो अवस्थामा हेर्दा एउटै प्रजाति देखिने, हेर्दा उस्तै उस्तै देखिने भए पनि डिएनए अध्ययनबाट भने फरक देखिने उनी बताउँछन् । ‘पाइका भनिने जन्तुको मुसाको जस्तो पुच्छर हुन्छ, तर उसको स्वभाव खरायोको जस्तै हुन्छ,’ नारायण भन्छन्, ‘बस्दाखेरी खरायो जस्तै बस्छ, खानपिन पनि खरायो जस्तै हुन्छ । यसले धाँस खान्छ, हिउँभित्र घर बनाउँछ, चिसो लाग्नुअघि नै खाना जम्मा गरेर राखेको हुन्छ ।’
संसारमा पाइने ३० प्रजातिमध्ये नेपालमा ५ किसिमका प्रजाति पाइने उनी बताउँछन् ।

नेपाल इञ्जिनियरिङ कलेजमा प्राकृतिक स्रोत व्यवस्थापन संकायको संयोजकको भूमिकामा रहेका नारायण यस्तो खरायो प्रजातिका मुसा हिमालय, अपी नाम्पा र लाङटाङमा भेटिने गरेको बताउँछन् । प्राणीशास्त्री मुकेश चालिसेको प्रेरणाबाट पिएचडी अध्ययन गरेको उनी बताउँछन् । वंशानुगत  अध्ययनमा चीन निकै अगाडि रहेको औँल्याउँदै नारायण भन्छन्, ‘अनुसन्धान र प्रकाशनमा चिनियाँ परिपाटी राम्रो छ, हामीकहाँ भने विभिन्न निकायबीच समन्वय नहुने र कानुनी जटिलता छन् ।’
लिँडे मुसा भनिने खरायो प्रजातिको हिमाली प्राणी घण्टौंसम्म ढुंगामा टुक्रुक्क बस्न सक्ने,  हिउँको बेलामा पनि आफ्नो बासस्थान छोडेर बाहिर निस्कने, नसुत्ने स्वभावको हुने नारायणले बताए । खानेकुरा जोहो गर्नसक्ने, बासस्थान बनाएर पनि त्यहाँ नबस्ने स्वभावको यो मुसो हिमचितुवा, मलसाप्रो र चिलको आहारा बन्ने गर्छ । नेपालमा भने कतै बुद्धको स्वरुप मानेर मान्ने गरिन्छ भने कतै विषालु झारपात खाने भएकोले यसको मासु लाभकारी हुन्छ भन्दै मासु खाने चलन रहेको पनि उनी बताउँछन् ।

चीनको नागरिक कूटनीति
लीला न्याइच्याइँ कोजु पहिलो संविधानसभामा जुझारु सांसदको भूमिकामा थिइन् । नेमकिपाकी सभासद उनी महिला ककस समूहकी सक्रिय सदस्य राज्य व्यवस्था समितिको सदस्य थिइन् । अंग्रेजीमा बोल्न पछि नपर्ने भएकाले उनलाई संविधानसभामा आउने अन्तर्राष्ट्रिय प्रतिनिधिहरूको भ्रमणका बेला कुराकानी गर्ने अवसरहरू जुटे । भक्तपुरको वासु माध्यमिक विद्यालयबाट स्कुले शिक्षा लिएकी लीला भक्तपुर बहुमुखी कलेज, रत्नराज्य कलेज हुँदै त्रिभुवन विश्वविद्यालयबाट मानविकी र अंग्रेजीमा स्नाकोत्तर गरेकी हुन् । हाल त्रिभुवन विश्वविद्यालयमै पुस्तकालय तथा सूचना विज्ञान अध्यापन गराउँछिन् । अध्ययनकै निरन्तरताको रुपमा उनले चीनको युनान विश्वविद्यालयबाट यसै वर्ष नेपालमा चीनको नागरिक कूटनीति सम्बन्धमा पिएचडी गरेकी हुन् ।

अन्तर्राष्ट्रिय सम्बन्धकै कारण इरानका महिलाको अवस्था बिग्रिएको अवस्थाले अन्तर्राष्ट्रिय सम्बन्धबारे अध्ययन गर्न चाहेको उनी बताउँछिन् । चीनको नेपालमा नागरिक स्तरमा सम्बन्धहरू बलियो बनिरहेको उनको धारणा छ । राजनीतिक प्रकृतिको नहुने तर सामाजिक, सांस्कृतिक, भाषिक आयामबाट जनकूटनीतिक विस्तार हुने क्रममा रहेको उनी बताउँछिन् । ‘जनस्तरीय सम्बन्धले सिधै निर्णयको अवस्थामा पुर्‍याउँदैन तर कुनै सहमतिका निम्ति जीवन्तता दिनसक्छ,’ लीला भन्छिन्, ‘जनस्तरीय कूटनीतिले सामाजिक, बौद्धिक वृत्त, विभिन्न पेशाकर्मीबीच सम्बन्ध बनाएर समयक्रममा सकारात्मक भूमिका खेलिरहेको हुन्छ ।’

नेपालमा सांस्कृतिक आदानप्रदानका क्रममा त्यहाँ पुगेका विद्यार्थी, युवाहरू भोलिका लागि सहयोगी हुनसक्छन् भन्ने कुरामा जनस्तरीय कूटनीतिमा ध्यान दिइने लीलाको ठम्म्याइ छ । ‘सन् २०१३ सम्म चीन सरकार आफैँले जनकूटनीतिलाई बढावा दिइरहेको थियो,’ लीला भन्छिन्, ‘अहिले गैरसरकारी संस्था, व्यक्तिहरूमार्फत् अघि बढाउने सोचमा उनीहरू छन् ।’ नेपाल चीनसँग सम्बन्धित विभिन्न व्यापारिक प्रतिष्ठान, विभिन्न संघसंस्था, विभिन्न खाले समूहहरू, भेटघाटहरू, यात्राहरू जनकूटनीतिका पाटाहरू रहेको लीलाको भनाइ छ ।

‘नेपाललाई चीनसँग जोड्ने कतिपय संघसंस्था आवश्यकता ठानेर खोलिएका छन्, स्थापना गरिएका छन्,’ लीला भन्छिन्, ‘कतिपय संघसंस्थाहरू स्वाभाविक रुपमा आफैँ खुलेका छन् । यी सबै नागरिक कूटनीतिक पक्ष हुन्, जुन देशदेशबीचको कूटनीतिभन्दा भिन्न हुन्छ ।’
एक दशकअघि कोजु परिवारमा भित्रिएकी उनले भनिन्, ‘पहिलादेखि नै यसो गर्छु भन्ने त थिएन, पढाइ निरन्तर थियो । यहाँको माहोलले पिएचडी गर्न प्रेरित गर्‍यो ।’

बौद्धिक सम्पत्तिको सुरक्षा
रोशन कोजु नेपाल दूरसञ्चार संस्थानका कम्प्युटर इञ्जिनियर हुन् । भक्तपुर व्यासीको प्रभात स्कुलबाट एलएलसी गरेका रोशनले भक्तपुरमै स्नातकसम्मको अध्ययन सम्पन्न गरेका हुन् । भक्तपुरबाट काठमाडौंसम्म अध्ययनका लागि आएपछि मात्र शिक्षामा अगाडि बढ्ने ढोका खुलेको उनी बताउँछन् । उनी सन् २०११ मा नेपाल कलेज अफ इन्फरमेसन टेक्नोलोजी (एनसिआइटी)का विद्यार्थी हुन् ।

कलेज अध्ययनकै क्रममा उनी प्राध्यापक शशिधर राम जोशीको सम्पर्कमा आए र उनकै प्रेरणबाट पिएचडी अध्ययनको पाटो खोलेका हुन् । ख्वप इञ्जिनियरिङ कलेजमा केही समय प्राध्यापनको अनुभवसमेत सम्हालेका रोशनले बौद्धिक सम्पत्ति प्रतिलिपि अधिकार सम्बन्धमा अनुसन्धान गरेका हुन् । उनले कसैले सृजना खिचेको फोटाहरू अरु कसैले प्रयोग गरेका अवस्थामा थाहा पाउन सक्ने प्रविधि विकास गरेका छन् । ‘एक जनाले खिचेको फोटो अरु कसैले अनुमति नलिई प्रयोग ग¥यो र आफैँले खिचेको भनेर दाबी ग¥यो भने त्यो फोटो कसले खिचेको भन्ने पत्ता लगाउन सकिन्छ,’ रोशन भन्छन्, ‘मैले त्यसका लागि एउटा सफ्टवेयर विकास गरेको छु, त्यसको प्रयोगले गरेर थाहा पाउँन सकिन्छ ।’

प्रदूषित पानीको सफाई
नीलकमल कोजुको प्रारम्भिक स्कुले शिक्षा व्यासीस्थित प्रभात माविबाट दाजुहरूसँगै भएको हो । दाजुहरूको एसएलसीपछि उनी जगातीको ह्वाइट ल्यान्ड स्कुलबाट एलएसली दिइन् । एसएलसी पछिका शिक्षा ख्वप स्कुल र कलेजबाट वातावरण विज्ञान स्नातकोत्तर सम्पन्न गरेकी नीलकमल नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठानमा रिचर्स एसिस्टेन्ट र एसिस्टेन्स रिसर्च फेलोको भूमिका थिइन् । कामकै सिलसिलामा उनी भारतमा ६ महिने तालिन लिन पुगिन् भने चीनको युनिभर्सिटी अफ चाइनीज इन्स्टिच्युट अफ स्वाइलबाट पिएचडी गरेकी हुन् । नीलकमलले उद्योगहरूबाट निस्कने दूषित पानी खानेपानीमा मिसिएर प्रदूषण हुने समस्यामाथि अध्ययन गरेर पानी शुद्धीकरण गर्ने विधि विकास गरेकी हुन् ।’

म्याग्नेसिया र सोडियम हाइड्रोअक्साइको मिश्रणलाई विशेष किसिमबाट प्रिसिपिटेसन गरेर  बनाएपछि त्यो धुलोले उद्योगबाट निस्किएको पानीमा रहेका क्याडियम, क्रोमियम, लिडजस्ता गह्रौँ धातुहरू छुट्याउन सकिन्छ भन्ने मेरो विधि हो,’ नीलकमल भन्छिन्, ‘त्यस्तो धुलो पानीमा हालेपछि पानीमा भएका प्रदूषण धुलोको वरिपरि टाँसिन्छन्, धुलो आफैँ भने पानीमा घुल्दैन ।’

कतिपय उद्योगबाट निस्किएका गह्रौँ धातुयुक्त पानीले क्यान्सरजस्ता धातक रोग लाग्न सक्ने बताउँदै नीलकमल भन्छिन्, ‘हामीकहाँ यतातिर ध्यान दिइएको छैन । प्रदूषित पानी खेतबारीमा पुग्ने र त्यहाँ फल्ने तरकारी र अन्नमार्फत गह्रौँ धातु मानव शरीरमा प्रवेश हुनसक्छ ।’







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

रोकिएन टिकटकको क्रेज - प्रयोगकर्ता झन् बढ्ने क्रममा

रोकिएन टिकटकको क्रेज - प्रयोगकर्ता झन् बढ्ने क्रममा

टिकटकको डाउनलोड संख्या १ अर्ब ५० करोड पुगेको छ! ...

“शिवम् कृति समारोह २०७६” सम्पन्न

“शिवम् कृति समारोह २०७६” सम्पन्न

शिवम् सिमेन्टस लि.ले “शिवम् कृति समारोह २०७६” भव्यरुपमा सम्पन्न गरेको छ । ...

अर्घाखाँची सिमेन्टद्धारा टिभीसी प्रतियोगिता सार्वजनिक

अर्घाखाँची सिमेन्टद्धारा टिभीसी प्रतियोगिता सार्वजनिक

अर्घाखाँची सिमेन्टले आइतबार टेलिभिजनको लागि कमर्सियल (विज्ञापन) को अवधारणाको प्रतियोगिता सार्वजनिक गरेको छ । ...

कलरओएस सिक्सका ६ बेजोड फाइदा

कलरओएस सिक्सका ६ बेजोड फाइदा

कलरओएस सिक्सका साथमा रेनोटू एफ नेपालमा सार्वजनिक भएसंगै उपभोक्तामा यो ओएसको क्षमता र यसबाट कसरी सर्वाधिक फाइदा लिन सकिन्छ भन्ने...

घोराही सिमेन्ट उद्योग सम्मानित

घोराही सिमेन्ट उद्योग सम्मानित

नेपालभरका विभिन्न उद्योगमध्ये सबैभन्दा धेरै मूल्य अभिबृद्धिकर बुझाएबापत घोराही सिमेन्ट उद्योग लगातार दोस्रोपल्ट सम्मानित भएको छ । ...

ओरिजिनल विन्डोज र क्रयाक गरेको विन्डोज - फरक के ?

ओरिजिनल विन्डोज र क्रयाक गरेको विन्डोज - फरक के ?

क्रयाक गरेको विन्डोज प्रयोग गर्नुको बेफाइदा के त ? ...

मंसिर २ गते बाट महिन्द्रा ग्लोबल केयर फेस्ट क्याम्प प्रारम्भ

मंसिर २ गते बाट महिन्द्रा ग्लोबल केयर फेस्ट क्याम्प प्रारम्भ

नेपालको लागि महिन्द्रा गाडीको आधिकारिक बिक्रेता अग्नि ग्रुप अन्तर्गत बालाजू अटोवर्कसले मंसिर २ बाट महिन्द्रा फोर ह्वील गाडीहरुका लागि “महिन्द्रा...

सूर्याेदय नगरमा पर्यटन महोत्सव हुने

सूर्याेदय नगरमा पर्यटन महोत्सव हुने

प्रथम सूर्याेदय नगर पर्यटन महोत्सव २०७६ आयोजना हुने भएको छ । इलामको सूर्याेदय नगरपालिकाको आयोजनामा मंसिर १४ देखि १८ सम्म...

Ncell Footer Ad