coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
विचार

अक्षम्य अपराध

मानव अंग बेचबिखन र ओसारपसार गर्नुलाई गम्भीर अपराध मानिन्छ। तर, नेपालमा भने पैसाको आडमा सम्पन्न व्यक्तिले विपन्न वर्गका मानिसको शरीरका अंग विशेष गरी मिर्गौला किन्ने जुन परिपाटी चलेको छ, त्यो अक्षम्य अपराध हो। मानव अंग किनबेच जघन्य अपराध भएको तथ्य थाहा हुँदाहुँदै पनि पैसाको प्रलोभनमा परी आफ्नै अंग अरूलाई सुम्पिने जुन कार्य भइरहेको छ, त्यो दुभाग्र्यपूर्ण अवस्था हो। चाहे गरिबीका कारण आफ्नै अंग बेच्ने व्यक्ति हुन् वा पैसाको आडमा गरिबको मिर्गौला खरिद गर्ने व्यक्ति नै किन नहोऊन्, कानुनका आधारमा दुवै पक्ष दोषी छन्। अहिले राजधानी काठमाडौंमा मानव अंग बेचबिखन जेजसरी बढेको छ, त्यो मुख्य चिन्ताको विषय हो र ठूलो सामाजिक समस्या पनि हो। पछिल्लो समय असोज २३ गते ललितपुर, पुल्चोकस्थित निदान अस्पतालमै मानव अंग बेचबिखन भएको एउटा घटना बाहिर आयो, जसले सबैलाई आश्चर्यचकित बनाएको छ। अस्पतालमा कार्यरत कर्मचारीदेखि डाक्टरसम्म यस कार्यमा संलग्न भएको तथ्य आफैमा डरलाग्दो देखिन्छ।

पैसाको प्रलोभनमा पारी विपन्न वर्गका मानिसबाट मिर्गाैला जस्तो अति संवेदनशील अंग किनबेच हुनु हदैसम्मको अपराध हो। अहिले मानव अंग बेचबिखन कार्यमा संलग्न भनेर प्रहरीले ज–जसलाई नियन्त्रणमा लिएको छ, तिनीहरूको विषयमा सूक्ष्म अनुसन्धान गरी दोषी पाइए हदैसम्मको कारबाही गर्न जरुरी छ। विगतमा यस्ता कार्यमा संलग्न व्यक्तिहरू उम्किने गरेकाले पनि यस किसिमको अपराधले मौलाउने मौका पाएको हो।

अस्पतालमा रामेछापका एक व्यक्तिले आफ्नो मिर्गाैला तीन लाखमा बेचिदिए। केही टाठाबाटा र पैसावाला व्यक्ति पुगेर प्रलोभनमा पारी लामाको मिर्गौला किनबेच गराएका हुन्। मिर्गौला दिने र लिने दुवै व्यक्ति तयार भएको जनाउँदै नक्कली नाता प्रमाणित गरिएको थियो, जसमा अस्पताल प्रशासनको समेत मिलेमतो रहेको देखिन्छ। यतिसम्म कि यस कार्यमा डाक्टरहरू पनि संलग्न थिए। अस्पतालकै मिलेमतोमा मामा–भान्जाको नक्कली नाता खडा गरी नाता प्रमाणित गराइएको प्रहरीले फेला पारेको छ। मिर्गौला दिने व्यक्तिका एक आफन्तले  किनबेच गरेको कुरा मानव अंग बेचबिखन अनुसन्धान ब्युरोमा जानकारी गराएपछि यो घटना सार्वजनिक भएको हो। प्रहरी टोलीले मिर्गौला प्रत्यारोपणका लागि बनाइएका कागजात नियन्त्रणमा लिएपछि किनबेचको तथ्य फेला पारेको थियो। अस्पतालमा मिर्गौला किनबेचमा संलग्न रहेको अभियोगमा अस्पतालका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सहित पाँचजना प्रहरी नियन्त्रणमा छन्। उनीहरूमाथि अनुसन्धान भइरहेको छ। संलग्न हुनेमा रामेछाप दोरम्बाका शंकरलाल लामा, काठमाडौंका विपेन्द्र प्रधान, सप्तरी कन्चनरूप नगरपालिकाका कुमुदकुमार भट्टराई, डाक्टर राजेश पन्त र रामचन्द्र आले छन्। विपेन्द्र प्रधान निदान अस्पतालका सिइओ हुन्। डाक्टर नै प्रत्यक्ष रूपमा मिर्गौला बेचबिखनमा जोडिएकाले डाक्टर र अस्पतालमाथि थप प्रश्न उठेको छ।

अस्पतालको सेटिङमा किनबेच भएको हो वा बिरामीका आफन्तले मिलाएको भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ। नक्कली आफन्त बनाएको थाहा पाउँदापाउँदै पनि अस्पतालले कानुनविपरीत काम गर्नु आश्चर्यजनक छ। गरिबलाई फकाएर सस्तोमा अंग निकालेर अर्कैलाई दिनु हदैसम्मको अपराध हो। विगतमा चीन र भारत लगेर मिर्गौला किनबेच गराउने कार्य भए पनि अहिले नेपालमै यस किसिमको गलत गतिविधि फस्टाइरहेको देखिन्छ। मानव बेचबिखन तथा ओसारपसार गर्नेलाई कारबाही गर्नका लागि कडा कानुनी व्यवस्था छ। मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ अनुसार मिर्गौला किनबेच गरेमा ५ लाख रुपैयाँ जरिवाना र २० वर्षसम्म कैद सजाय हुन्छ। प्रत्यारोपणबाट जसले मिर्गौला पाएको छ, उसलाई पनि कानुनले कारबाही तोकेको छ। कानुनअनुसार घटनामा संलग्न व्यक्तिसरह उसलाई कानुनी कारबाही हुन्छ। पैसाको प्रलोभनमा पारी विपन्नबाट मिर्गाैला जस्तो अति संवेदनशील अंग किनबेच हुनु हदैसम्मको अपराध हो। अहिले मानव अंग बेचबिखनमा संलग्न भनेर प्रहरीले जजसलाई नियन्त्रणमा लिएको छ, तिनीहरूको विषयमा सूक्ष्म अनुसन्धान गरी दोषी पाइएमा हदैसम्मको कारबाही गर्न जरुरी छ। विगतमा यस्ता कार्यमा संलग्न व्यक्ति उम्किने गरेकाले पनि यस किसिमको अपराधले मौलाउने मौका पाएको हो।
त्यसैले अहिले दोषीलाई उम्किन दिन हुँदैन। त्यति मात्र होइन, यस किसिमका कार्य अन्यत्र पनि भइरहेका छन् कि भन्ने विषयमा पनि अनुसन्धान गर्न जरुरी छ। यसका साथै आम जनतालाई समेत मानव अंग बेचबिखन गम्भीर अपराध हो भन्ने विषय बुझाउन सक्नुपर्छ। यस विषयमा सरकारले जनचेतना फैलाउन पनि उत्तिकै जरुरी छ। मुख्य कुरा यस्ता कार्यमा संलग्न भए दण्डसजाय हुन्छ भन्ने सन्देश आम जनतालाई दिन सक्नुपर्छ। यसअघि यस्ता कार्यमा संलग्न भएकालाई कारबाही गरेर पनि त्यस किसिमको सन्देश दिन सकिन्छ।

प्रकाशित: ३ कार्तिक २०७६ ०३:५६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App