७ वैशाख २०८१ शुक्रबार
समाज

सीमामा डुबानको समाधान खोजिने

वीरगन्ज - नेपाल–भारत सीमावर्ती क्षेत्रमा बर्सेनि हुने डुबान समाधानका लागि निष्कर्षमुखी बैठकको तयारी भइरहेको भारतीय सांसद अजयकुमार निषादले बताएका छन्। नेपालसँग सीमा जोडिएको भारतको बिहार सरकार र नेपाल सरकारका प्रतिनिधिको सहभागितामा पटनामा चाँडै बैठक बसी डुबानको समाधान खोजिने भएको हो।

‘भारतको सडक र बाँधले नेपाली बस्ती र भूभाग डुबानमा परेको कतिपयको बुझाइ छ तर उता भने नेपालको पानीले बिहार डुबानमा परेको भनी कतिपयले भन्ने गरेका छन्,’ वीरगन्जमा शनिबार मिडिया फोर बोर्डर हार्मोनी नेपालले आयोजना गरेको संवाद कार्यक्रममा बोल्दै सांसद निषादले भने, ‘तर यी कुरा भनिएजस्तै सत्य होइनन्, पानीको आफ्नो प्रवृत्ति हुन्छ, पहाडको पानी झरेर समथरतिरै आउने हो। हामीले पानी व्यवस्थापनतिर ध्यान दिनुपर्ने हुन्छ।’

उनले नेपाल र भारतको सम्बन्ध जति प्रगाढ छ, त्योभन्दा नागरिक–नागरिकबीच दरिलो छ, तसर्थ यो सम्बन्ध सुदृढ बनाउन भारतको चाहना रहेको उनले जानकारी दिए। भारतको मुजफ्फरपुर क्षेत्रबाट दोस्रो पटक लोकसभा सदस्य (सांसद) पदमा भारतीय जनता पार्टीको तर्फबाट निर्वाचित नेता निषादले आफूहरूले नेपालमा पाएजस्तो अपनत्व अन्यत्र नपाएको बताए। पर्सा क्षेत्र नम्बर १ का सांसद प्रदीप यादवले भारतले आफ्नो सीमामा बनाएको सडकमा बर्खे पानीका लागि निकास बनाएमा सीमावर्ती क्षेत्रमा डुबान समस्या धेरै हदसम्म समाधान हुने प्रस्ट पारे।

उनले भारत र नेपाल सरकारले सीमाक्षेत्रमा हुने डुबान समाधानका लागि गम्भीर हुनुपर्ने बताए। उनले सीमामा देखापर्ने ससाना समस्या जनताका ठूला सरोकारका विषय भएको बताउँदै त्यस्ता विषयलाई उठान गर्न सञ्चार जगतको भूमिका हुनुपर्ने बताए। नेपाल–भारतबीच वैवाहिक सम्बन्ध व्यापक रहेको तर भारतीय चेली नेपालकी बुहारी भएर आउदा ७ वर्षपछि मात्र नेपाली नागरिकता पाउनेगरी नागरिकता ऐन ल्याउन लागिएको भन्दै उनले आपत्ति जनाए। आफू यसको विरोधमा उत्रिने उनको भनाइ छ।

आयोजक संस्थाका अध्यक्ष अनिल तिवारीको अध्यक्षतामा भएको संवाद कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका प्रदेश २ अध्यक्ष दीपेन्द्र चौहानले दुवै देशका पत्रकारबीच सही सूचनाको आदानप्रदानले सीमा क्षेत्रका जनसरोकारका समाचार बाहिर आउनमा मद्दत मिल्ने बताए। बिहारका राजनीति शास्त्रका प्राध्यापक साबिर अन्सारीले नेपाली भाषा, संस्कृति र मानिससँग भारतका जनताले अपनत्व महसुस गर्ने बताए।

उनले सांस्कृतिक समानता साझा धरोहर भएको बताउँदै सीमा आरपारका स्थानीय समस्या, प्रसाशनिक कठिनाइ र सानातिना विवाद समाधान गर्दै लैजानुपर्ने बताए। कार्यक्रममा भारतीय सांसद निषाद र नेपालका सांसद यादवलाई नेपाल–भारत सम्बन्धमा गरेको राम्रो भूमिकाका लागि सम्मानितसमेत गरिएको थियो।

प्रकाशित: ३ कार्तिक २०७६ ०२:४० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App