६ वैशाख २०८१ बिहीबार
समाज

चिनियाँ राष्ट्रपतिको भ्रमणपछि सिन्धुवासी खुसी

मेलम्ची - चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणको पूर्वसन्ध्यामा तातोपानी नाकाको विषयमा कस्तो सम्बोधन हुन्छ होला भन्ने आम सिन्धुवासीको चासो थियो। तातोपानी नाकालाई आफ्नो जिल्लाकै भविष्यको रूपमा हेरिएको सिन्धुवासीमा यो चासो हुनु अस्वाभाविक पनि थिएन।

२०७२ वैशाख १२ गतेको महाभूकम्प र त्यसपछिको भोटेकोसीको बाढीले सडकलगायत भौतिक संरचना ध्वस्त भएपछि करिब चार वर्ष पूर्ण रूपले बन्द भएको यो नाका सञ्चालन गत जेठ १५ गतेदेखि भए पनि यथेष्ट सडकलगायत भौतिक संरचनाको विकास र चिनियाँ सरकारले स्पष्ट चासो नदेखाएकाले नाका फेरि बन्द हुने हो कि भन्ने सिन्धुवासीमा चिन्ता थियो। भूकम्पपछि बन्द रहेको तातोपानी नाका चार वर्षपछि जेठ १५ गतेदेखि औपचारिक रूपमा खुलेको हो।

पर्यटन व्यवसायी रामकाजी पौडेलका अनुसार सीमामा करोडौं लगानीमा खुलेका होटल नाका नचल्दा डुब्ने अवस्थामा पुगेका थिए। भूकम्पअघि तातोपानी नाकाबाट कन्टेनर र अन्य गरी एक हजार ५ सयभन्दा बढी सवारीसाधन सञ्चालन हुने गर्थे।

नाकाबाट बर्सेनि १५ हजारभन्दा बढी पर्यटक आउजाउ गर्थे। बर्सेनि २० अर्बको आयात र तीन अर्ब रुपैयाँको निर्यात हुने नाकामा बल्ल चहलपहल सुरु हुन थालेको उद्योग वाणिज्य संघ सिन्धुपाल्चोकका अध्यक्ष बेदबहादुर श्रेष्ठले बताए। ‘भूकम्पले नाका बन्द बनायो, यही नाका खुलाउन बारम्बार स्थानीय व्यवसायी आन्दोलित पनि भए, पछि अस्थायी रूपमा नाका खुल्यो,’ उनले भने। भूकम्प गएको एक वर्षसम्म गोदाममा थन्किएका व्यापारिक सामान ल्याउन २७ कन्टेनर चीनको खासा पुगेको उनले स्मरण गरे।

 सडककै कारण चार वर्ष बन्द भएर खुलेको सो नाका बन्द हुँदै सञ्चालनमा आउने क्रम जारी छ। तर चिनियाँ राष्ट्रपति सीको भ्रमणपछि जारी २० बुँदे समझदारीमा नाका सञ्चालका विषयमा चासो दिइएकाले यहाँका उद्योगी, व्यवसायी खुसी भएका छन्।

सडककै कारण चार वर्षपछि खुलेको सो नाका बन्द हुँदै सञ्चालनमा आउने क्रम जारी छ। चिनियाँ राष्ट्रपति सीको भ्रमणपछि जारी २० बुँदे समझदारीमा नाका सञ्चालका विषयमा चासो दिइएकाले यहाँका उद्योगी, व्यवसायी हर्षित भएका हुन्।

तातोपानी नाकालाई अझ व्यवस्थित गर्न चीनले लार्चामा अत्याधुनिक प्रविधिको सुक्खा बन्दरगाह निर्माण गरेको छ। अहिले नेपाल र चीनबीचका सबै व्यापारिक कारोबार सुक्खा बन्दरगाहबाटै हुने गरेको छ। नाका सञ्चालनको प्रमुख समस्या भनेको सडकको रूपमा लिइएको छ। सीको भ्रमणले सडक स्तरोन्नति हुनेमा उनीहरूमा विश्वास बढेको छ।

सन् १९६० मा चीन सरकारकै अनुदान सहयोगमा अरनिको राजमार्ग निर्माण भएको थियो। भूकम्पपछि विभिन्न स्थानमा क्षति पुगेको राजमार्ग मर्मत भयो। तर, पहिलेकै अवस्थामा सडक पुग्न नसक्दा समस्या सिर्जना भइरहेको छ। अरनिको राजमार्गको मर्मतमा चीन सरकार सकारात्मक भएकै कारणले तातोपानी नाका थप व्यवस्थित हुने अपेक्षा लिइएको छ। सडक सञ्चालन सुनिश्चित भएपछि व्यापारिक आत्मीयता बढ्ने अपेक्षा गरिएको छ।

मितेरीबाट काठमाडौंसम्म १ सय १४ किमि सडक रहेको छ। बाह्रबिसे–तातोपानी २६ किमि सडकखण्ड रहेको छ। यो सडक पनि चीन सरकारकै सहयोगमा निर्माण र मर्मत हुँदै आएको छ। करीब पाँच दशकअघिदेखि नेपाल र चीनबीच सडक जोडिएको थियो। मितेरी पुलको निर्माणपछि नेपाल र चीनबीच व्यापार सुरु भएको हो।

प्रकाशित: ३ कार्तिक २०७६ ०२:३१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App