coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

किसानले पाएनन् साढे आठ करोड अनुदान

सिरहा – सिरहाको नरहा गाउँपालिका–३ स्थित हिमालय सुगर मिल्समा उखु बेचेका किसानले साढे आठ करोड सरकारी अनुदान अझै पाएका छैनन्। गत वर्ष (०७५/७६) मा उखु बेचेका ६ हजार आठ सय ६२ किसानको सरकारी अनुदान उनीहरुको खातामा आइपुगेको छैन।

उखु किसानले सरकारबाट पाउनुपर्ने आठ करोड ४१ लाख ६७ हजार रुपैयाँ अनुदान मन्त्रालयबाट निकासा नै नभएको कोष तथा लेखा नियन्त्रण कार्यालय (कोलेनिका) सिरहाले जनाएको छ। मन्त्रालयबाट निकासा आए किसानको खातामा रकम पठाउने प्रमुख कोष नियन्त्रक राधेश्याम गिरीले बताए।

अनुदान रकमका लागि उखु किसान हिमालय सुगर मिल्स धाउँदै आएका छन्। हिमालय सुगर मिल्समा गत आर्थिक वर्ष (०७५/७६) सिरहा, धनुषा, सर्लाही, सप्तरी र महोत्तरीका किसानले १२ लाख ८९ हजार तीन सय २६ क्विन्टल उखु बेचेको तथ्यांक छ। किसान, चिनी उद्योग र सरकारबीचको सम्झौतापछि गत वर्ष उखुको मूल्य पाँच सय ३६ रुपैयाँ ६४ पैसा प्रतिक्विन्टल मूल्य तय गरेको थियो। यसमध्ये चिनी मिलले चार सय ७१ रुपैयाँ २८ पैसा र सरकारले ६५ रुपैयाँ ३६ पैसा अनुदान दिँदै आएको थियो।

मिल्सले खुद भुक्तानी गर्ने रकम समयमै पाए पनि सरकारी अनुदानको अझै नपाएको नरहा गाउँपालिका–३ खोरियाका उखु किसान किसान जाहिद अन्सारीको गुनासो छ। उनले गत वर्ष ६ हजार क्विन्टल उखु बेचेका थिए। ‘खेती गर्न मजदुर, मल खाद्य नगदी लाग्छ तर, उत्पादन उधारोमा बिक्री गर्नुपर्छ,’ उनले भने, ‘मिल्सबाट उखु बेचेको ६ महिनामै पैसा पाए तर सरकारी अनुदान अझै पाएको छैन।’

सरकारी अनुदान रकम पाउन निकै झन्झट खेप्नु परेको उनको गुनासो छ। ‘जग्गा ठेक्का लिएर खेती गरे। लगानी लाग्यो तर, उखु बेचेको अनुदान पाएको छैन,’ उनले भने, ‘नगद लगनी उधारो व्यापारले उभो नलाग्ने भइयो।’ खेतीको समयमा ऋण सापटी लिनुपर्छ। खेतीको उब्जनी (उब्जा) बेचेर चुक्ता गर्नुपर्ने हुन्छ। तर, वर्षौसम्म अनुदान रकम रोकिँदा ऋणको भारले बोझिने गरेको उनको अनुभूति छ। यहाँका उखु बेचेका किसानको आव ०७४÷७५ को पनि ५३ लाख रुपैयाँ सरकारी अनुदान अझै बाँकी छ।

उखु किसानको सबै विवरण कोष तथा लेखा नियन्त्रण कार्यालय र प्रमुख जिल्ला अधिकारीसमक्ष बुझाइसकेको मिलका उखु महाप्रबन्धक अवधकिशोर यादवले बताए। ‘मिल्सले दिने रकम ०७६ असार मसान्तमै भुक्तानी गरिसकेका छौं। सरकारी अनुदान नपाएर किसान दैनिक ताकेता गर्न आउँछन्,’ उनले भने, ‘किसानले समयमै सरकारी अनुदान प्राप्त गर्ने वातावरण बने उखु खेतीतर्फ किसानको आकर्षण बढ्ने थियो।’

मिल्सले उपलब्ध गराएको उखु किसानको विवरणको आधारमा अनुदान रकमका लागि कृषि तथा पशुपंक्षी मन्त्रालयमा सिफारिस गरिसकिएको प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले बताए।

उखु आपूर्ति अपुग
हिमालय सुगर मिल्सलाई दैनिक २५ हजार क्विन्टल उखु आवश्यक पर्छ। तर, मिल्सलाई आवश्यक उखु आपूर्ति हुन सकेको छैन। अहिलेको आपूर्तिले मुस्किलले सय दिनमात्र धान्ने उखु महाप्रबन्धक यादवले बताए।

‘उत्पादन बढाउन खेती बढाउनुपर्छ, खेती बढाउन किसानलाई समयमा अनुदान रकम निकासा गर्नुपर्छ,’ उनले भने। ‘मल, कृषि उपकरण र विषादीमा सरकारबाट अनुदान र सहयोग भए उखु खेतीतर्फ किसान हौसिने उनको भनाइ छ।’

मिल्ससँग समन्वय गरेर खेती गरिरहेका किसानलाई प्रतिबिघा डिएपी मल दुई बोरा, सडक पुगेको खेतमा थप एक बोरा युरिया, बीउ उपचारको औषधि निःशुल्क दिने गरेको यादवले बताए। यसैगरी मिल्सले कृषि उपकरणमा २५ प्रतिशत छुट दिने र बीउ बैंकमा निब्र्याजी उखु राख्ने गरेको उनले बताए।

यस वर्ष खेतीका लागि सातजना जेटिए (प्राविधिक) र २३ किसान गरी ३० जनालाई भारतमा तालिम दिन पठाएको उनले भने। सिरहामा ९० हजार बिघा खेतीयोग्य जग्गामध्ये हाल ३५ सय बिघामा मात्र उखुखेती हुने गरेको यादवले बताए।

प्रकाशित: ३ कार्तिक २०७६ ०१:३७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App