coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

राजपा–समाजवादीको एकीकरण लम्बिदै

काठमाडौं - राष्ट्रिय जनता पार्टी नेपाल र समाजवादी पार्टीबीच एकीकरण प्रक्रिया केही समय पर सरेको छ। कात्तिक मसान्ताभित्र दुई पार्टीबीच एकीकरण सम्पन्न गर्ने बताइए पनि समाजवादी पार्टीले कात्तिक २९ र ३० गते केन्द्रीय समिति बैठक बोलाएका कारण प्रक्रिया लम्बिएको हो। समाजवादी पार्टीको बैठकको निर्णयलाई राजपाले पर्खने भएको छ।

राजपा अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतोले कात्तिक मसान्तमा समाजवादी पार्टीले गर्ने निर्णयको आधारमा पार्टी एकीकरण हुने ÷नहुने टुंगो लाग्ने बताए। ‘समाजवादी पार्टीको केन्द्रीय समितिको बैठकले सरकार छाड्ने निर्णय ग-यो भने पार्टी एकीकरणको बाटो खुल्छ। सरकार छाड्ने निर्णय गरेन भने पार्टी एकीकरण प्रक्रिया तत्कालका लागि टर्छ।’

समाजवादी पार्टीले सरकार छाड्ने निर्णय नगरेसम्म दुई पार्टीबीच एकीकरण सम्भव नरहेको महतोले प्रष्ट पारे। उनले भने, ‘दुई पार्टीको एकीकरण समानता र बराबारीको आधारमा हुन्छ। समानता र बराबरी भएन भने एकीकरण हुन सक्दैन,’। दुई पार्टी एकीकरणका लागि विभिन्न तहमा एकीकृत पार्टीको नाम, चुनाव चिह्न, नेतृत्व व्यवस्थापन, सैद्धान्तिक अवधारणालगाय विभिन्न विषयमा विभिन्न विकल्पमा कुराकानी भइरहेको उनले बताए।

कात्तिक मसान्तमा बस्ने पार्टीको केन्द्रीय समितिको बैठकमा विभिन्न विषयमा छलफल हुने समाजवादी पार्टीका महासचिव रामसाह यादवले पनि जनाए। ‘केन्द्रीय समितिको बैठकमा समसामयिक राजनीतिकलगायत सबै विषयमा गम्भीर छलफल हुनेछ,’ उनले भने।

तत्काल सरकार छाड्ने÷नछाड्ने विषयमा समाजवादी पार्टीको लाइन अझै प्रष्ट भइनसकेको एक नेताले जानकारी दिए। कार्यकारिणी समितिका अध्यक्ष उपेन्द्र यादव तत्काल सरकार छाड्ने पक्षमा छैनन भने राष्ट्रिय परिषद् अध्यक्ष बाबुराम भट्टराई छाड्ने पक्षमा छन्। ‘आगामी केन्द्रीय समितिको बैठकमा कुन लाइन हाबी हुन्छ, त्यसअनुसार पार्टीले निर्णय लिन्छ,’ समाजवादी पार्टीका एक पदाधिकारीले भने।

राजपाले समाजवादी पार्टीसँग एकीकरण गर्न एकीकरणअघि नै समाजवादी पार्टीले सरकार छाड्नुपर्ने र महन्थ ठाकुरलाई पहिलो अध्यक्ष मान्नु पर्ने सर्त कडा रूपमा राखेको छ। समाजवादी पार्टीका नेताहरू भट्टराइलाई मयार्दाक्रममा पहिलो अध्यक्ष मान्न प्रस्ताव राखेका छन्। तर यसलाई सर्त भने बनाएका छैनन्। राजपाका महासचिव केशव झाले राजपा र समाजवादी पार्टीबीचको एकीकरण वार्तामा एकीकरणको विषयमा विभिन्न प्रक्रियामा छलफल भइरहेको बताए। वार्ता सकारात्मक भएको उनको भनाइ छ। उनले भने, ‘वार्ता सकारात्मक छ। दुई पार्टीबीच जतिसक्दो चाँडो एकीकरण हुनुपर्छ भन्ने दुवै पार्टीको लाइन छ।’

यसअघि राजपाले समाजवादी पार्टीसँग एकीकृत पार्टीको निर्देशन समितिको अध्यक्षमा ठाकुरलाई, राष्ट्रिय समितिको अध्यक्षमा भट्टराई, कार्यकारिणी समितको अध्यक्ष यादवलाई तथा पार्टी सचिवालय अध्यक्षमा महतोलाई राख्न प्रस्ताव गरेको थियो। राजपाको यस प्रस्तावालई समाजवादी पार्टीका नेताहरूले अस्वीकार गरेको समाजवादी पार्टी स्रोतको भनाइ छ। ‘राजपाको यो प्रस्ताव अस्वीकार भएपछि अन्य विधि र प्रक्रियाबारे छलफल भइरहेको छ। अब निर्णायक वार्ता कात्तिक मसान्तपछि हुन्छ,’ राजपाका अर्का एक नेताले भने।

राजपाको महाधिवेशन पनि सर्ने

यता कात्तिकको अन्तिम साता हुने भनिएको राष्ट्रिय जनता पार्टी नेपालको पहिलो एकता महाधिवेशन पनि पर सर्ने भएको छ। कात्तिकभित्र राजपा र समाजवादी पार्टीबीच पार्टी एकीकरण भएन भने कात्तिक २८,२९ र ३० मा तय गरिएको तिथिमा राजपाको महाधिवेशन नहुने निश्चित भएको छ। राजपाका नेताले तत्काल राजपा र समाजवादी पार्टीबीच एकीकरण भएन भने राजपाको महाधिवेशन केही महिना पर सार्ने तयारी गरेका छन्।

राजपा अध्यक्षमण्डलका ६ सदस्य मध्ये ४ नेता मंसिरसम्म समाजवादी पार्टीसँग पार्टी एकीकरण गर्नुपर्ने पक्षमा छन् भने अनिल झा र राजकिशोर यादव अझै पनि समाजवादी पार्टीसँग पार्टी एकीकरण प्रक्रिया रोकेर महाधिवेशनमा जानु पर्ने लाइनमा छन्। जतिसक्दो चाँडो समाजवादी पार्टीसँग एकीकरण गर्नुपर्ने पक्षमा राजेन्द्र महतो, महेन्द्र यादव र शरतसिंह भण्डारी उभिएका छन्।

अध्यक्ष मण्डलका संयोजक ठाकुर एकीकरणको पक्षमा भए पनि महतो र यादव जस्तो सक्रिय छैनन्। राजपाका बहुमत नेताहरू महाधिवेशनको तयारीभन्दा पार्टी एकीकरणको विषयमा बढी केन्द्रित हुन थालेपछि पार्टीको महाधिवेशनको तयारी अघि बढ्न नसकेको हो। यसबाट तोकिएको मितिमा राजपाको एकता महाधिवेशन सम्भव नहुने भएको हो।

राजपाले यसअघि जेठ मसान्तसम्म सक्रिय सदस्य र साधारण सदस्यता वितरण गर्ने र असार १० सम्म त्यसको संकलन गर्ने कार्यतालिका सार्वजनिक गरेको थियो। कार्यतालिकाअनुसार कुनै पनि काम हुन सकेको छैन। सक्रिय सदस्यता संकलन गर्ने काम समेत पूरा नभएको राजपाका नेताहरू बताउँछन्। राजपाको विधानअनुसार केन्द्रमा महाविधेशन गर्न गाउँ तहदेखि प्रदेश समितिसम्म अधिवेशन गर्नुपर्ने हुन्छ। अहिलेसम्म गाउँ अधिवेशनको समेत कार्यातालिका तय गरिएको छैन।

प्रकाशित: ३ कार्तिक २०७६ ०१:२८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App