८ वैशाख २०८१ शनिबार
अर्थ

ढम्कनेमा आलु महोत्सव हुने

बाजुरा – आलु खेतीका लागि उर्वर भूमिका रुपमा चिनिएको ढम्कने क्षेत्रमा आलु महोत्सव हुने भएको छ। आलु खेतीका लागि पकेट क्षेत्रका रुपमा विकास गर्न लागिएको बडिमालिका नगरपालिका–७ ढम्कने क्षेत्रमा आलु महोत्सव हुन लागेको हो।

बडिमालिका नगरपालिका ७ नम्बर वडा कार्यालयले कृषि ज्ञान केन्द्र बाजुरासँग मिलेर स्थानीय आलु बालीको प्रवद्र्धनका लागि महोत्सव गर्न लागेको हो। जिल्लामै पहिलो पटक आलु महोत्सव गर्न लागिएको वडा अध्यक्ष धर्मराज पाध्यायले बताए। उनका अनुसार महोत्सव कात्तिक २० देखि २२ गतेसम्म हुने भएको छ।

तीन दिनसम्म चल्ने महोत्सवमा आलुका विभिन्न परिकारको प्रदर्शनी, आलुबाट खाद्य वस्तु निर्माण गर्ने सीपबारे जानकारी गराइने भएको छ। बडिमालिका नगरपालिका क्षेत्रकै बढी वन क्षेत्र रहेको र कालाजाग्रा, पोखरेजस्ता पर्यटकीय क्षेत्रसँगै जोडिएको ढम्कनेमा महोत्सव गर्दा सकारात्मक प्रभाव पर्ने वडाको दाबी छ।

ढम्कनेलाई कृषि विज्ञ केन्द्र बाजुराले पहिलोदेखि नै आलु खेतीको पकेट क्षेत्रका रुपमा घोषणा गरेको छ भने नगरपालिकाले पनि आलु उत्पादन क्षेत्रकै रुपमा लगानी गरिरहेको छ। ढम्कनेका अधिकांश स्थानीयले आलु खेतीबाट राम्रो आम्दानी गर्ने गरेका छन्।

स्वाद र गुणस्तरका साथै राम्रो आलु फल्ने गरेको कृषि प्राविधिकको भनाइ छ। कृषि क्षेत्रको प्रवद्र्धन र स्थानीय रैथाने बालीको संरक्षण तथा किसानको हौसला बढाउन महोत्सवले राम्रो सन्देश दिने कृषि ज्ञान केन्द्र बाजुराका प्रचार अधिकृत मिनप्रसाद जैशीले बताए।

आलु एक, परिकार अनेक भन्ने नाराका साथ महोत्सव सञ्चालन हुन लागेको छ। बडिमालिका नगरपालिका, कृषि ज्ञान केन्द्र बाजुरा र ढम्कने कृषि सहरकारी संस्थाको सयुक्त आयोजनामा महोत्सव हुन लागेको हो। तयारीका लागि वडा कार्यालयले विभिन्न समिति उपसमिति निर्माण गरेको छ।

मेलाको आकर्षणका रुपमा आलु तथा ताजा तरकारीको बृहत प्रदर्शनी, आलुको ठूलो पहाड निर्माण, आलुका विभिन्न परिकार, ताजा तरकारी प्रदर्शन, विविध सांस्कृतिक कार्यक्रम, नृत्य प्रतियोगिता, रैथाने बाली तथा स्थानीय परिकारको खाना र विभिन्न झाँकी प्रदर्शनीमा रहने मूल व्यवस्थापन समितका अध्यक्ष नरबहादुर रोकायाले बताए।

सहकारी संस्थाका अध्यक्ष नरबहादुर रोकायाको संयोजकत्वमा ८५ सदस्यीय मूल आयोजक समिति समेत गठन गरिएको छ। विभिन्न ११ वटा उपसमिति समेत गठन गरिएको छ। मेला सम्पन्न गर्नका लागि करिब ११ लाख पाँच हजार खर्च लाग्ने र १२ लाख ६ हजार आम्दानी हुने अनुमान गरिएको कोषाध्यक्ष रोकायाले जानकारी दिए।

प्रकाशित: ३ कार्तिक २०७६ ०१:२८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App