जुम्ली जीवनशैली

पहिले आत्मनिर्भर, अहिले परनिर्भर

आइतबार, ०३ कार्तिक २०७६, ०६ : ३० धनबहादुर बुढा

जुम्ला - तिला गाउँपालिका–२ का सम्पती रावत ७० वर्षका भए। स्थानीय कृषि उत्पादनप्रतिको पुरानो लगाब र मेहनत उनले भुल्न सकेका छैनन्। उनी भन्छन्, ‘पहिले जुम्ली परिवेश निकै आत्मनिर्भर थियो। अहिले परनिर्भरता बढ्दै गएको छ।’

रावतका अनुसार जुम्ला पहिले लुगामा आत्मनिर्भर थियो। खाने चिज आयात गर्नुपर्ने अवस्था थिएन। पशुबस्तुका लागि चरन क्षेत्र पर्याप्त थियो। घरवरिपरि घना जंगल हुन्थ्यो। अहिले आयातित लुगा र खाद्यान्नले स्थानीय उत्पादन दिनानुदिन घट्दै गइरहेको छ। गाउँगाउँमा भेडापालन मौलाउँदो थियो। भेडाबाख्राको ऊनबाट बक्खुलगायत लुगा बुनिथ्यो। ती लुगा निकै न्याना हुन्थे। चिसो र तातो दुवै मौसममा लगाउन अनुकूल मानिन्थ्यो।

नुनमा भने पहिला पनि जुम्ला परनिर्भर थियो। नुन ल्याउन एक महिना लगाएर नेपालगन्जसम्म पुग्नुपथ्र्यो। भेडा लिएर नुन ल्याउन भोटतिर पनि जान्थे जुम्ली। तेलका लागि गाउँमै तोरी फलाइन्थ्यो। आरु, ओखर र ढटेलोबाट तेल निकालिन्थ्यो। यहाँका मानिसले लगाउने लुगा सात ठाउँमा टालेको हुन्थ्यो। तर टालेको लुगाभित्र प्रत्येक टालोभित्र रुपैयाँ राखिन्थ्यो। त्यो रुपैयाँ निकै सुरक्षित मानिन्थ्यो। यसले जुम्ली त साहु हुन्छन् भन्ने सन्देश जान्थ्यो।

‘पहिले भ्रष्टाचार हुँदैनथ्यो। सामान्य गल्ती हुनेबित्तिकै कारबाहीको भागिदार भइहाल्नुपथ्र्याे। अहिले भ्रष्टाचार मौलाउँदो छ। धार्मिक परम्परा पनि विभाजित हुँदैछ।’ ‘एसएलसी उत्तीर्ण हुनेबित्तिकै हलो चलाउन लाज मान्छन्, त्योभन्दा माथिल्लो कक्षामा पुग्नेबित्तिकै थलो छाडेर जान्छन्। कृषि क्षेत्र डामाडोल छ। पानीका मुहान सुक्दै जान थालेका छन्।’

आफ्नै हातले ठेटुवाको लुगा बुनिन्थ्यो। पटुकादेखि बक्खु, सुरुवाल ऊनकै लगाइन्थ्यो। लुगाफाटो किन्न हाटबजार पुग्नु पर्दैनथ्यो। तर ती कपडा अहिले पाइँदैनन्। रावतले विगत सम्झँदै भने, ‘झन्डै दुई÷तीन दशकयता आधुनिक प्रकारका लत्ताकपडा भित्रिरहेका छन्। बहुदल आएपछि लुगाफाटो पनि बदलिँदै गयो। अहिले स्थानीयले शरीर नढाकिने गरी कपडा लगाउन थाले। आयातित विषादीयुक्त खानेकुरा खान थाले।’

फापरको रोटी, आलु, मकै, सिमीका गेडागुडी उतिबेलाका चर्चित खानेकुरा हुन्। तिनै खानेकुरा खाएर मानिस ८० देखि सय वर्षसम्म बाँच्थे। युवाले न्यूनतम ८० केजीसम्मको भारी बोक्थे। घरेलु औजारले भौतिक पूर्वाधार निर्माणदेखि खेती किसानीसम्मको काम हुन्थ्यो। एउटै राजा मान्ने चलन हुँदा नियम कडा थियो। छिसिक्क कमजोरी देखिनेबित्तिकै हथकडी लाथ्यो। सामान्य तमसुक लेख्ने मान्छेको अभाव थियो। तमसुक लेख्नसक्ने मान्छेको नेतृत्वमा समाज चल्थ्यो। अहिले घरघरमा ठालु छन्। संस्कार र संस्कृति मान्न छाडिएको छ। पञ्चायत कालमा प्रधानले गाउँको रीतिथिति बनाउँथे। अहिले वडाध्यक्ष छन्।

‘पहिले अन्न बेच्थ्यौं। अहिले अन्न किन्छौं,’ रावत भन्छन्, ‘समय र परिपाटी बदलिँदै जाँदा समाजको गति पनि नराम्रो किसिमले प्रभावित बन्दै गएको छ। प्रत्येक घरले हुलाक बोक्ने प्रचलन थियो। कटुवाले प्रथा थियो। हेरालुको भरमा अन्नबाली लगाइन्थ्यो। अहिले छाडा पशुचौपायाले अन्नबाली सखाप बनाइदिने गर्छन्।’

गाउँमा आउने कर्मचारीलाई हरेक घरमा खाना खुवाइन्थ्यो। जनता र कर्मचारीको सम्बन्ध निकै राम्रो हुन्थ्यो। अहिले कर्मचारीले नै अनियमितता गर्छन्। पहिले स्वास्थ्योपचारका लागि अस्पताल थिएनन्, जडीबुटीले उपचार हुन्थ्यो। अहिले अस्पताल जताततै छन्। रोग पनि विभिन्न प्रकारका लाग्छन्। पहिले धामीझाँक्रीको भरमा गाउँको स्वास्थ्य क्षेत्र चल्थ्यो। पानीले चल्ने घट्ट हुन्थे।

सार्वजनिक सम्पत्तिमाथि समान हक हुन्थ्यो। समाचार सुन्न रेडियो क्यासेट थिएनन्। टर्चलाइट थिएन। दियालोले काम चलाइन्थ्यो। कपडाका जुत्ता पाइँदैनथे। सार्की जातिले बनाएका दोचा लगाइन्थ्यो। चार फिटसम्म हिउँ पथ्र्यो। समयमै वर्षा हुन्थ्यो। प्रत्येक घरमा भेडा र गाईबस्तु हुन्थे। भेडाबाख्रा हिउँदमा सुर्खेत, दैलेख र जाजरकोटतिर चराउन लगिन्थ्योे।

पहिले टमाटर, प्याज हुँदैनथ्यो, मकै हँुदैनथ्यो। अहिले लेकाली जग्गामा मकै खेती हुन्छ। अर्गानिक खाना खान पाउँदा पहिलेका मान्छे असाध्यै बलिया हुन्थे। अहिलेको पुस्ता काम नै गर्दैन। हरेक खानामा विषादी मिलाइएको छ। पहिले जडीबुटी कोर्ने नियम आफ्नै प्रकारको थियो तर अहिले त्यसको सदुपयोग हुन छाडेको छ।

पहिले छोरी माग्न जाने चलन थियो। सहजै रूपमा दिएर वचन छोड्ने चलन थियो। एक मानो सिमी र दही लिएर बिहेका लागि छोरी माग्न जाने चलन थियोे। अहिले फोन र फेसबुकबाटै विवाह गर्छन्। गाउँमा अनुशासन थियो। टीकाको नाममा सिन्दुरको प्रयोग हुँदैनथ्यो। दहीचामल लगाउने चलन थियो। भागेर विवाह गर्दा आधिकारिक मानिँदैनथ्यो।

पहिला गाउँमा घर बनाउँदा सबै गाउँले जुट्थे। अहिले सबै ज्याला मजदुरीमा काम हुन्छ। पहिला चार÷पाँच सय रुपैयाँमा घर बन्थ्यो, ज्याला अन्न हुन्थ्यो। अहिले लाखौं रुपैयाँ खर्चेरसमेत बलियो घर बनाउन सकिँदैन। सुत्केरी गाउँमै हुन्थे। गोठमै पशुवस्तुसँग सुत्केरी बस्थे। अहिले सुत्केरी गराउन अस्पताल लगिन्छ। सुरक्षित सुत्केरी गराउने भन्छन्। पहिला शक्ति र पहुँच बढाउन केटाकेटी धेरै जन्माउने चलन थियो। बन्ध्याकरण गर्ने चलन थिएन।

पहिला निकै चिसो हुन्थ्यो। तापक्रममा वृद्धिसँगै अहिले चिसो छैन। हिउँदमा हिउ पर्दैन। वर्षायाममा वर्षा हुँदैन। पहिला पुस र माघमा परेको हिउँ जेठ असारसम्म रहन्थ्यो। जताततै हरियाली नै हरियाली थियो। कालापहाड जाने चलन थिएन।
रावतका अनुसार दसैंलाई जुहारे पिठा भनिन्थ्यो। अहिले दसैं भनेर धुमधाम मनाइन्छ। भाइटीका मनाउने चलन थिएन। दलितले मात्र मनाउँथे। तिज मनाइँदैनथ्यो। अहिले सबैले भाइटीका, तिज धुमधाम साथ मनाउँछन्।

सरकारी कामकाजका लागि हिँडेर सदरमुकाम जानुपथ्र्यो। सामान्य तमसुक लेख्न सके जागिर मिल्थ्यो। जहाज देख्न पाइँदैनथ्यो। त्यसैले जुम्ला विमानस्थल बनाउन सबै जुटे। छोरा जन्मेपछि छैठ खेलाइन्थ्यो। छोरी जन्मँदा हेलाको पात्र बन्थे महिलो। अहिले छोराछोरी बराबरी भन्छन्। छोरीलाई सम्पत्ति दिने चलन बस्यो। रावतले विगत सम्झँदै भने, ‘पहिले भ्रष्टाचार हुँदैनथ्यो। सामान्य गल्ती हुनेबित्तिकै कारबाहीको भागिदार भइहाल्नुपथ्र्याे। अहिले भ्रष्टाचार मौलाउँदै गएको छ। धार्मिक परम्परा पनि विभाजित हुँदै छ।’

अहिले आर्थिक चलखेल गर्दा जेल पुगेका मान्छे पनि निस्कन्छन्। पहिले त्यस्तो हुँदैनथ्यो। जारी प्रथा थियो। दाइजो लिनेदिने चलन थियो। घोडाभेडा, भाँडाकुँडा दाइजो दिइन्थ्यो। गाडी पुग्नुभन्दा पहिले यहाँको उत्पादनले खान पुग्थ्यो। चुनावताका नुन र चामल निकालिदिनेले भोट पाउँथे। ७० वर्षीया कली रोकाया भन्छिन्, ‘अहिले सबै क्षेत्र परिनिर्भर बन्दै छ, आत्मनिर्भर कहीं छैन। एसएलसी उत्तीर्ण हुनेबित्तिकै हलो चलाउन लाज मान्छन्, त्योभन्दा माथिल्लो कक्षामा पुग्नेबित्तिकै थलो छोडेर जान्छन्। कृषि क्षेत्र डमाडोल छ। पानीका मुहान सुक्दै जान थालेका छन्।’







यसमा तपाईको मत

अन्य समाचार

एनसेलले ल्यायो ‘अल नेट भ्वाइस प्याक’

एनसेलले ल्यायो ‘अल नेट भ्वाइस प्याक’

एनसेलका प्रिपेड ग्राहकहरुले अब देश भित्र अन्य नेटवर्कमा रहेका आफ्ना साथीभाई र आफन्तजनहरुसँग सुलभ दरमा कुरा गर्न सक्नेछन् । ...

एनसेलद्वारा पहिलो १४ सुपर सेलरलाई पुरस्कार वितरण

एनसेलद्वारा पहिलो १४ सुपर सेलरलाई पुरस्कार वितरण

एनसेल प्राईभेट लिमिटेडले हाल संचालनमा रहेको आफ्नो ‘एनसेल सुपर सेलर’ योजना अन्तर्गत काठमाडौं र ललितपुर जिल्लाका पहिलो १४ पोइन्ट अफ...

१९७४ एडीको "निरन्तरता" (भिडियो)

१९७४ एडीको "निरन्तरता" (भिडियो)

सांगीतिक रक ब्याण्ड १९७४ एडीका पुराना सदस्यहरु रियुनाइटेड भए लगतै सांगीतिक कार्यक्रममा जुटिरहेको छ। ...

यस्तो छ दराज ११.११ सेलको फाइदा

यस्तो छ दराज ११.११ सेलको फाइदा

नेपालको अनलाइन शपिङ साइट दराजले संसारकै सबै भन्दा ठुलो सेल डे ११.११ सेल (एकदिनकोसेल) यहि कार्तिक २५ गते, नोभेम्बर ११...

साओमीको सर्भिस सेन्टर थपिए

साओमीको सर्भिस सेन्टर थपिए

साओमीले नेपालका लागि थप आधिकारिक सर्भिस सेन्टर घोषणा गरेको छ । ...

सामाजिक सुरक्षा कोषसम्बन्धी अभिमुखीकरण

सामाजिक सुरक्षा कोषसम्बन्धी अभिमुखीकरण

नेपाल विज्ञापन संघ (आन) को आयोजना र सामाजिक सुरक्षा कोषको प्राविधिक सहयोगमा ‘सामाजिक सुरक्षा कोषसम्बन्धी अभिमुखीकरण कार्यक्रम’ सम्पन्न भएको छ...

जनता बैंकको सहयोग

जनता बैंकको सहयोग

जनता बैंक नेपालले क्याम्पसलाई सहयोग गरेको छ । ...

एआई अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न

एआई अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न

ब्रिटिस कलेजले इन्स्टिच्युट अफ इन्जिनियरिङ (आइओई), पुल्चोक क्याम्पस र इन्स्टिच्युट अफ इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स इन्जिनियर्सकोे साझेदारीमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) अन्तर्राष्ट्रिय...

Ncell Footer Ad