७ वैशाख २०८१ शुक्रबार
राजनीति

'दलगत स्वार्थ भन्दामाथि उठेर विकासमा लागाैँ'

गोरखा – गण्डकी प्रदेश सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले समृद्धि र विकासका लागि सबै राजनीतिक दल एक हुनुपर्ने बताएका छन् ।

गोरखा नगरपालिका ३ स्थित गृहगाउँमा राष्ट्रिय माविले प्राविधिक शिक्षा संचालनका लागि आयोजना गरेको महायज्ञको सुभारम्भ गर्दै उनले भने ‘कांग्रेसको सत्रु कम्युनिष्ट, कम्युनिष्टको शत्रु कांग्रेस होइन, यो भावनाले विकास हुँदैन ।’ दलगत स्वार्थ भन्दामाथि उठेर गाउँको विकासका सबै एकजुट हुनसक्नुपर्छ ।

गाउँ टोल, वडा, देखि माथिल्लो तह सम्म एउटै भावना बिकास हुनुपर्ने आवश्यकता रहेको मन्त्री बस्नेतले बताए ।‘राम्रा काममा पार्टी हेर्ने होईन, पहिले जस्तो भावना राख्नु हुँदैन’ गाउँका स्थानीयलाई सम्झाउँदै उनले महायज्ञबाटै भने । पहिलेको तुलनामा अहिले मानिसहरु बिच सकारात्मक भबनाको बढेकाले विकास निर्माणले पनि गति लिएको उनले बताए ।

गण्डकी प्रदेश सरकारले गाउँ गाउँमा स्तरीय सडक, बिजुली, एक घर एक धाराको योजना ल्याएकाले सदरमुकाममा घडेरी किनेर घर नबनाउन सुझाब दिँदै गाउँमै बसेर व्यवसायमा लाग्न अनुरोध गरे । ‘गोरखा सदरमुकामबाट ८ किलोमिटरको गाउँ छाडेर हामी सदरमुकाममा बस्न जानु पर्दैन, गाउँमै बसेर पेसा ब्यवशाय कृषि गरेर जिवन निर्वाह गर्न सकिन्छ’ उनले भने ।

शुक्रवार विद्यालयमा अयोजित महायज्ञमा गोरखा नगरपालिकाका नगरप्रमुख राजनराज पन्तले राज्यको सिमित साधन स्रोतका कारण विद्यालयले प्राविधीक शिक्षा पढाउन आफैँ पैसा जुटाउनु परेको बताए । ‘शिक्षामा ठुलो लगानी राज्यको छ, तर त्यसको सहि सदुपयोग भएको छैन, एउटा प्राविधिक शिक्षा पढाउन अविभाबकले चन्दा उठाउनुपर्ने, यज्ञ गर्नुपर्ने अवस्था आउनु हुँदैनथ्यो’ उनले भने ।

पछिल्लो समय गोरखाका सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दै गएकाले गुणस्तरमा ध्यान दिन शिक्षकहरुलाई नगरप्रमुख पन्तको सुझाव थियो । भुकम्पमा ध्वस्त भएका विद्यालय पुन निर्माण भएपछि भौतिक रुपमा बलियो भएको तर गुणस्तर बढ्न नसकेको भन्दै उनले चिन्ता ब्यक्त गरे ।

दरौँदी करिडोर क्षेत्रको आसपासमा पर्ने नारेश्वर कृषि उत्पादन र पशु पालनका लागि संभाब्य मानिन्छ । अधिकासं घरमा ब्यवशायीक कुखुरापालन, भैँसी, गाई पालन गरेर किसान व्यवसायिक बनेका छन् । गाउँकै विद्यालयमा पशु विज्ञान शिक्षा सञ्चालन गर्न सके अझै व्यवसायिक बन्न सहज हुने भन्दै विद्यालयले महायज्ञ गरेर रकम संकलन गर्ने योजना बनाएको प्रधानाध्याक नबराज बस्नेतले बताए ।

अस्थायी दरबन्दीबाट माध्यामिक तह संचालन हुँदै आएका उक्त विद्यालयमा अहिले एक सय ६० जना विद्यार्थी छन् । २०१८ सालमा प्राथमिकबाट सुरु भएको विद्यालयमा अब प्राविधिक शिक्षा सञ्चालन गर्न सके उच्च शिक्षा पढ्न सदरमुकाम, चितवन, काठमाण्डौँ पोखरा जाने क्रम घट्ने र खर्चको भार पनि कम हुने अपेक्षा अविभाबकको छ ।

पहिलो दिन शुक्रवार दुई लाख ५१ हजार रकम उठेको महायज्ञका प्रचार संयोजक रामबहादुर बस्नेतले बताए । सबैभन्दा धेरै गोरखा नगरपालिका ३ घलाङका सानुकाजी कुँवरले ५१ हजार दान गरेका छन् । यज्ञ हुनु अघि विद्यालयको सेवा क्षेत्र भित्र कलशयात्रा गरिएको थियो ।

प्रकाशित: २ कार्तिक २०७६ ०६:३२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App